Comments Add Comment

चीन र भारतका नक्कली उत्पादनको मारमा नेपाली हस्तकला

नेपालको हस्तकला नक्कल गरेर नेपालमै बिक्री !

फाइल फोटो ।

१५ मंसिर, काठमाडौं । विश्व बजारमा कुनै बेला नेपाली गलैँचाको ठूलो नाम थियो । यूरोप, अमेरिका र क्यानडामासमेत पहिलो रोजाईमा पर्ने नेपाली गलैँचाको कथा अहिले इतिहास भइसकेको छ ।

किन धराशयी भयो त गलैंचा उद्योग ? नेपालमै गुणस्तर खस्किएको देखि बंगलादेशबाट सस्तोमा किनेर नेपाली भन्दै बेच्दा ब्रान्ड ध्वस्त बनेको किस्साहरु सुनिन्छ । अहिले ठीक यस्तै स्थिति नेपाली हस्तकला व्यवसायमा दोहोरिन थालेको छ ।

नेपाली कलाकारहरुले मात्रै उत्पादन गर्ने मौलिक हस्तकलाको चिनियाँ र भारतीयले नक्कल गर्न थालेपछि व्यवसायीहरु चिन्तित बनेका छन् । हस्तकला व्यवसाय मात्रै नभएर नेपाली मौलिक धर्म र संस्कृति पनि भएको भन्दै उनीहरुले बाह्य उत्पादनको हस्तक्षेप रोक्न सरकारसँग माग गरेका छन् ।

चीन र भारतको डुप्लिकेसन

नेपालबाट उत्कृष्ट हस्तकला भन्दै विदेशीले किनेर लगेको मुर्तिहरु डुप्लीकेसन गरेर सस्तो मूल्यमा बेच्न थालिएको व्यवसायी बताउँछन् । यस्ता नक्कली उत्पादन नेपालमै समेत छ्याप्छ्याप्ती पाइन थालेका छन् ।

हस्तकला व्यवसायी विकास रत्न धाकुवाका अनुसार साना ठूला मूर्तिहरुमा यस्तो समस्या अत्याधिक देखिएको छ ।

‘नेपालबाट पठाएको सामान नेपालमै उस्तै र सस्तोमा बिक्रि भईरहेको हामीले पायौँ,’ धाकुवाले भने ।

नेपाल गुणस्तरीय हस्तकला निर्माणमा अब्बल रहे पनि ठूलो परिमाणको उत्पादन गर्न सक्दैन । यही कमजोरीमा टेकेर विदेशीहरुले अनाधिकृत व्यापार गरेको उनको भनाइ छ ।

हस्तकला व्यवसायी महासंघका निवर्तमान अध्यक्ष धर्मराज शाक्य हस्तकला व्यवसाय मात्रै नभएर धर्म र समाजको बिम्व भएको तर्क गर्छन् ।

‘नेपालमा मास प्रोडक्सन छैन भन्दैमा नेपाली कला–संस्कृति नक्कल गरेर विदेशीले विश्वभर व्यवसाय गर्न पाउँदैनन्,’ उनले भने ।

चीनका कतिपय बजारमा नेपाली भन्दै हस्तकलाको नक्कली उत्पादनको बिक्री वितरण भईरहेको शाक्याले बताए ।

कलाकार विदेशिंदै

विदेशीहरुले नेपाली हस्तकला कलाकारहरु नै आकर्षक सुविधा दिएर विदेश लैजान थालिएको नेपाल हस्तकला व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले दावी गरे । कति कलाकार त्यसरी बाहिरीए भन्ने यकिन अभिलेख नभए पनि हरेक वर्ष कलाकारहरु विदेशमा काम गर्न जाने दर बढेको उनी बताउँछन् ।

पछिल्लो समय धेरैजसो चीनमा यस्तो पेशाका लागि नेपालबाट कलाकार जाने गरेका छन् । चीनमै उद्योगमा आधा स्वमित्व हुने अथवा धेरै तलब हुने लोभमा पारेर कलाकारहरु लगेको देखिएको नेपाल हस्तकला व्यवसायी महासंघका उपाध्यक्ष सुनिल चित्रकारले बताए ।

त्यसरी गएका कलाकारहरु प्रयोग गरेर चिनीयाँहरुले नेपाली शैलीमा चाँदीको गरगहना र मुर्तीहरु निर्माण गर्न थालेको व्वसायी बताउँछन् ।

नेपाली हस्तकला बजार

हस्तकला कलाकार, उत्पादक र निर्यातकर्तासमेत गरेर करिब १६ सय व्यवसायीहरु यस क्षेत्रमा संलग्न रहेको तथ्यांक छ । बार्षिक रुपमा नेपाली हस्तकलाको आन्तरिक बजार १० अर्ब तथा निर्याततर्फ १२ अर्ब रहेको व्यवसायी बताउँछन् । तर विगत तीन वर्षको निर्यात व्यापार उतारचढावयुक्त देखिन्छ ।

आर्थिक वर्ष २०७३/०७४ को कुल निर्यात ५ अर्ब ३९ करोड थियो । आव २०७४/०७५ मा त्योभन्दा १८ करोड कम अर्थात् ५ अर्ब २१ करोड बराबरको हस्तकलाका सामग्री नेपालबाट निर्यात भएको भन्सार विभागको विवरणमा देखिन्छ । गत वर्ष थोरै बढेर ५ अर्ब ३७ करोड रुपैयाँ बराबरको हस्तकलाका वस्तु निर्यात भएको छ ।

समस्या र चुनौती

नेपाली हस्तकला क्षेत्रमा सिकाईको पुस्तान्तरण रोकिनु र सरकारले यो क्षेत्रलाई व्यवसायिक रुपले विकास गर्न नचाहनु मूख्य समस्या भएको व्यवसायीहरुको भनाइ छ । व्यवसायी विकासरत्न धोकुले बाजेबाट बुबा र बुबाबाट छोरामा यो पेशा हस्तान्तरण भए पनि नातिमा नपुगेको बताए ।

‘हामीभन्दा पछाडिको पुस्ताले यो व्यवसायलाई अंगालेको छैन, त्यसैले हस्तकलाको भविष्य नै जोखिममा छ,’ धाकुवाले भने ।

भारतमा बनेको पश्मिना र चीनमा निर्मित मूर्तिहरु अहिले नेपाली बजारमा छ्यापछ्याप्ती हुन थालेको व्यवसायीहरु बताउँछन् । सामान्य ग्राहकका लागि कुन वस्तु कहाँ बनेको भन्ने छुट्याउनै कठिन हुन्छ । नेपाली उत्पादनको ट्रेड मार्क र बारकोड नहुनुले विदेशीले फाइदा उठाएको व्यवसायी प्रचण्ड शाक्य बताउँछन् । सरकारले व्यवसायिक सीपमुलक तालिमसहित आफ्नो उत्पादनको प्रवद्र्धनमा काम गर्न जरुरी भएको उनको भनाइ छ ।

जफत गर्न सक्छौं : उद्योग विभाग

उद्योग विभागले नेपाली उत्पादनको संरक्षण गर्न कुनै कसर बाँकी नराख्ने जनाएको छ । नेपाली हस्तकलालाई निरुत्साहित गर्नेगरी भएका डुप्लिकेसनको प्रमाण विभागमा पेश गरे ती वस्तु जफत गर्ने विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले बताए ।

आफूले पनि यो विषय अनौपचारिक रुपमा सुनेको भन्दै महानिर्देशक सिटौलाले विभागमा उजुरी गर्न हस्तकला व्यवसायीहरुलाई आग्रह गरे । नेपाली उत्पादनहरुको ट्रेडमार्क दर्ताका लागि व्यवसायीलाई सहयोग गर्न विभाग तयार रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment