Comments Add Comment

ट्रान्सजेन्डर मोडलको अनुभव : गाउँमा भन्दा सहरमा धेरै अवहेलना

अञ्जली लामाको फेसबुकबाट

१५ मंसिर, काठमाडौं । नविन लामा छोराको अंग लिएर जन्मिए, तर उनको मन भने छोरीको थियो । प्रकारान्तरमा उनले आफूलाई केटीकै रुपमा ढाले र मोडल अञ्जली लामाको नामले चर्चित बने ।

यहाँसम्मको यात्रा सहज भने थिएन । कानूनले मान्यता दिए पनि नेपाली समाजले अहिलेसम्म तेस्रोलिंगीलाई इज्जत गर्दैन । उनीहरु घरभित्रै अवहेलनाको शिकार हुन्छन् ।

अञ्जलीउर्फ नविनले पनि सानैदेखि यस्तै अवहेलना र दुर्व्यवहार भोगे । सानैदेखि उनी केटी साथीहरुसँग चाँडै घुलमिल हुन्थे भने केटाहरुसँग लजाउँथे । यस्तो स्वभावलाई लिएर धेरैले उनलाई जिस्काउने गर्थे । त्यसले उनलाई निकै पीडा हुन्थ्यो । नविन सम्झिन्छन्, ‘त्यसबेला म के हुँ भन्ने आफैंलाई थाहा थिएन । केटीहरुसँग बढी हेलमेल गरेको भनेर साथीहरुले निकै जिस्काउँथे । उनीहरुको व्यवहारले म विक्षिप्त बन्थेँ ।’

आफूलाई चिन्दा

नुवाकोटको विकट गाउँमा जन्मिएका नविन एसएलसी दिएर काठमाडौं छिरे । काठमाडौं आएपछि उनलाई झनै कठिन भयो । ‘छक्का’ भनेर उनलाई जिस्क्याउन थालियो । यस्तो व्यवाहारले नविनको मन छिया–छिया हुन्थ्यो ।

‘गाउँमा त साथीहरुले यस्ता–उस्तो भन्ने थिएनन् । शहरमा त विभिन्न नाम दिइँदो रहेछ । त्यसैले मैले गाउँमा भन्दा सहरमा बढि अवहेलना भोगेँ,’ उनले भने ।

काठमाडौं आएर नविनले एउटा होटलमा भाडा माझ्दै क्याम्पस पढ्न थाले । आफ्नो काममा खुसी नै थिए उनी । तर, त्यहाँ गरिने व्यवहार भने पिडादायी नै थियो । कलेजमा पनि साथीभाईको दुर्व्यवहार सहनुपर्ने ।

भित्रभित्रै टुक्रिसकेका नविन कसरी–कसरी समलिंगीको क्षेत्रमा काम गर्ने ब्लु डाइमन्ड सोसाइटी नामक संस्थासम्म पुगे । त्यहाँ पुगेपछि मात्र नविनले आफू ‘ट्रान्सजेन्डर’ भएको पत्तो पाए ।

नविन लामा नामबाटै उनले नागरिकता लिइसकेका थिए । शैक्षिक प्रमाणपत्रहरुमा पनि उनको नाम नविन नै थियो । उनलाई छोरीको रुपमा स्विकार्न परिवारका कोही तयार थिएन । आफू समलिंगी भएको सुनाउँदा उनको परिवारसँग सम्बन्ध नै सकियो ।

त्यही समय ब्लु डइमण्ड सोसाइटीमा नै चिनजान भएकी ममता खानले नविनलाई छोरीको रुपमा ढाल्ने बचन दिइन् । नविनको नाम पनि परिवर्तन गरेर अञ्जली राखिदिइन् ।

अञ्जली भन्छिन्, ‘ममता खानले मलाई छोरी बनाएर अञ्जली नाम दिनुभएको हो ।’

यसरी बाटो मोडियो

अञ्जली ब्लु डाइमण्ड सोसाइटीमा नै काम गरिरहेकी थिइन् । आफू जस्तै साथीहरु भेटेकाले र कसैले आफूलाई स्विकारेको कुराले केही मन हलुको भएको थियो । त्यही समयमा एक म्यागाजिनले ट्रान्सजेन्डरका बारेमा एक स्टोरी लेख्या, जहाँ अञ्जलीले पनि स्थान पइन् । त्यसमा उनको तस्विर छापियो ।

अञ्जली भन्छिन्, ‘त्यहाँ तस्विर छापिएपछि मोडलिङका लागि अफरहरु आउन थाले । धेरैले मलाई साथ र हौसला दिनुभयो ।’

अञ्जलीलाई साथीहरुले पहिल्यैबाट मोडल बन्न सुझाव दिन्थे । तर, उनले सोचेकी पनि थिइनन् यो पेशामा आउने । समयले नै आफूलाई यहाँसम्म ल्याएको उनी बताउँछिन् ।

अञ्जलीले सन् २००९ बाट पेशागत रुपमा मोडलिङ सुरु गरेकी हुन् । उनले २०१६ सम्म नेपालमा नै मोडलिङ गरिन् । त्यो समय साथीहरुले उनलाई विदेश ट्राई गर्न सुझाउथे । उनलाई पनि रहर बढ्यो ।

अञ्जली भन्छिन्, ‘अन्य देशमा जाँदा खर्च धान्न सकिने थिएन । त्यसैले मैले भारतको मुम्बई रोजँे र मुम्बईमा नै संघर्ष सुरु गरेन् ।’

मुम्बईमा उनले ‘ल्याक्मे फेसन शो’ मा ट्राई गरिन् । तर उनी लगातार दुई पटक प्रयास गर्दा छनोट भइनन् । उनको मन मरिसकेको थियो । तैपनि अन्तिम एकपटक कोशिष गरिन् । र, त्यसमा छनोट पनि भइन् ।

त्यसपछि अञ्जलीको जीवनमा अर्को अध्याय सुरु भयो । अब उनले मोडलिङको लागि अवसरहरु खोज्नु परेन । अञ्जलीलाई खोज्नेहरु धेरै भए ।

उनले अन्तर्राष्ट्रियस्तरमा मोडलिङ सुरु गरेको तीन वर्ष मात्र भयो । छोटो समयमा नै उनले राम्रो चर्चा पाएकी छिन् । यस दौरानले उनले तीन वटा अवार्ड पनि जितिन् ।

अञ्जली भन्छिन्, ‘मेरो लागि अवार्ड बनेको होला जस्तो मलाई लाग्दैनथ्यो । तर, बनेको रहेछ ।’

ट्रान्सजेन्डर हुँदाको समस्या

नेपालमा अञ्जलीले बच्चादेखि करिअर सुरु गर्दासम्ममा धेरै तिरस्कारहरु भोगिन् । तिरस्कारको श्रृंखला मुम्बई पुगेपछि अन्त्य हुन्छ होला भन्ने सोचकी थिइन् । तर, मुम्बाईमा पनि उनलाई सजिलो भएन । सुरुमा त अञ्जलीलाई भाडा बस्न दिन कोही पनि घरधनी तयार भएनन् ।

आफ्नो अनुभव साट्दै अञ्जली भन्छिन्, ‘त्यहाँ घर भाडामा लिनको लागि आफ्नो सबै डकुमेन्टहरु दिनुपर्छ । मेरो डकुमेन्ट हेरेर सबैले नाक खुम्च्याउँथे र विभिन्न बहाना बनाएर पन्छाउँथे । अहिले मेरो साथीको डकुमेन्ट देखाएर अरुको घरमा बसिरकेको छु ।’

अञ्जली अहिले देशभित्र मात्र होइन, विदेशमा पनि परिचित बनिसकेकी छन् । सुपर मोडल बनेर देशको प्रतिनिधित्व गर्ने अन्य मोडलहरु पनि नभएका होइनन् । तर, तेस्रो लिंगी भएका कारण अञ्जलीको खास चर्चा हुने गर्छ । धेरै ठाउँमा उनले पहिलो ‘ट्रान्सजेन्टर मोडल’ बनेर सहभागिता जनाएकी छिन् ।

सरकारसँग गुनासो

अञ्जली नागरिकतामा आफ्नो नाम अञ्जली होस् भन्ने चाहन्छिन् । तर सरकारी नीति–नियमले उनलाई रोकेको छ ।

केटीको नाममा नागरिकता पाउन आफ्नो लिंग परिर्वतन गरेर मेडिकल रिपोर्ट ल्याउनु पर्ने प्रावधानले उनी हच्किएकी छिन् । उनी भन्छिन्, ‘मेरो शरीर परिवर्तन गर्ने वा नगर्ने भन्ने मेरो इच्छाको कुरा हो, त, यसलाई सरकारले स्विकारेको छैन । महिलाको नामबाट नागरिकता लिन गाह्रो भइरहेको छ ।’

सबै समलिंगी आफ्नो सेक्स परिवर्तन गर्नको लागि आर्थिक रुपमा समक्ष नहुने अञ्जली बताउँछिन् । उनी भन्छिन्, ‘सेक्स चेन्ज गर्न १० लाख रुपैयाँ चाहिन्छ । त्यो पैसा सबैसँग हुँदैन । अझ कतिपयले विभिन्न रोगका कारण चेन्ज गर्न पनि मिल्दैन ।’

यो नियमलाई खारेज गरी आफूले चाहेको नामबाट नागरिकता दिने प्रावधान बनोस् भन्ने चाहना अञ्जलीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment