
१६ मंसिर, धरान । चुनाव जितेर अबिर माला समेत लगाइसकेका उम्मेदवारले माला फुकालेर अर्कोलाई बधाई दिनुपर्यो भने कस्तो होला ? धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा यस्तै भएको छ ।
धरान उपहानगरपालिको मेयर र वडाध्यक्ष दुवैमा नेपाली कांग्रेसले जितेको भनेर बिजय जुलुस पनि हुँदै थियो । तर एकाएक वडा नम्बर ७ को वडाध्यक्षमा नेकपाका जीवन सुवेदीले १ मतले जितेको आधिकारिक घोषणापछि अबिर माला लगाएर विजयोत्सवमा रहेका कांग्रेसका सुवर्ण पालिखेले माला फुकाल्नुपर्यो ।
विजय उत्सव मनाइसकेपछि उनी एक मतले हारेको जानकारी निर्वाचन आयोगले गराएपछि उनले अबिर पुछेर माला फुकाले । नेकपाका जीवन सुवेदी ६२२ मतले बिजयी भए । पालिखे ६२१ मतमा रोकिए ।
कांग्रेसले परिणाम अस्वीकार गर्दै सुरूमा पुनः मतगणनाको माग गरेको थियो । तर, पुनः मतगणना भएन र निर्वाचन अधिकृतले सुवेदीलाई नै विजयीको प्रमाणपत्र दिए ।
वडाध्यक्षमा निर्वाचित सुवेदी २०७४ को चुनावमा वडा सदस्य निर्वाचित भएका थिए । उनी २०५४ मै वडाध्यक्ष भइसकेको तत्कालीन एमालेका पुराना नेता हुन् ।
धरान ७ का वडाध्यक्ष भुवन मोक्तानको निधनपछि उपचुनाव भएको हो । मोक्तान एमालेबाट निर्वाचित भएका थिए ।
प्रतिक्रिया 4