Comments Add Comment

रामग्राम र तिलौराकोटमा भेटिए थप पुरातात्विक अवशेष

१६ मंसिर, काठमाडौं । विश्व सम्पदाको सम्भावित सूचीमा सूचीकृत रामग्राम र तिलौराकोटमा गरिएको अन्वेषणले थप ऐतिहासिक संरचनाका अवशेष फेला पारेको छ । नवलपरासीको रामग्राम र कपिलवस्तुको तिलौराकोटमा हालै स्थलगत अनुसन्धान गरिएको थियो ।

तिलौराकोट भगवान गौतम बुद्धले बाल्य र युवावस्था बिताएको दरवार क्षेत्र हो । रामग्राम भने भगवान गौतम बुद्धको अष्टधातु रहेको क्षेत्रका रुपमा प्रख्यात छ । तर, तीव्र भौतिक संरचना निर्माणका कारण यहाँ रहेका पुरातात्विक सम्पदाको संरक्षण भने हुन सकेको छैन ।

पुरातत्व विभाग, लुम्बिनी विकास कोष, दुरहाम विश्वविद्यालयका सांस्कृतिक सम्पदा सम्बन्धी पुरातात्विक आचरण र अभ्यासका अध्यक्ष तथा विज्ञहरुको टोलीले क्षेत्रगत अनुसन्धान गरेको हो । यस अनुसन्धानलाई यूनेस्कोले सहयोग गरेको थियो । रामग्राम क्षेत्रमा भएको क्षेत्रगत अध्ययनबाट गौतमबुद्धको अस्तु रहेको र हालसम्म पनि नखोलिएको विश्वास गरिने तीर्थस्थल वरपरको क्षेत्रबाट नयाँ सूचना प्राप्त भएका छन् ।

यहाँ यसअघिको अनुसन्धानले स्तुप नजिकै ठूलो विहार परिसर र ईंट्टाको डील रहेको पोखरी भेटिएको थियो । अहिले भएको भू–भौतिक सर्वेक्षण, क्षेत्रगत अन्वेषण र सर्वेक्षणबाट जमिनको सतहमुनि थप सम्पदा पहिचान भएको पुरातत्व विभागले जानकारी दिएको छ । यसअन्तर्गत दक्षिणतर्फ खोला बग्ने पुरानो भागको पारीपट्टि इटाको संरचना फेला परेको छ । सोही कारण पुरातात्विक स्थल नजिकै भइरहेका भौतिक संरचना विकासले यी सम्पदा जोगाउनु पर्ने चूनौति थपिएको अध्ययन टोलीको निष्कर्ष छ ।

यस टोलीले रामग्रामको विस्तारित स्थलको संरक्षणका लागि पुरातात्विक जोखिम नक्सालाई अध्यावधिक गर्न समेत सहयोग गर्ने भएको छ । यसबाट कुन कुन स्थानमा पुरातात्विक सम्पदा कम र कुन स्थानमा बढी जोखिममा छन् भन्नेबारे पहिचान गर्न सकिन्छ ।

अनुसन्धानका क्रममा गरिएको उत्खननमा केन्द्रित गोलाकार इट्टाको घेरा र बीचमा कुँदिएका इट्टाका टुक्रा राखिएको संकेत भेटिएको छ । यो टोली जनवरी २०२० मा यूनेस्कोका लागि जापानीज फण्ड एण्ड ट्रष्टको आर्थिक सहयोगमा पूर्वी स्तुपा र अन्य स्मारकको अनुसन्धानमा पुनः आउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment