Comments Add Comment

विश्व कीर्तिमानी अञ्जली : क्रिकेटमा फर्किएसँगै मिल्यो नसोचेको खुसी

१६ मंसिर, पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने नेपाली टोलीमा परेपछि अञ्जली चन्दलाई लागेको थियो, चान्स पाएँ भने १/२ विकेट त कसो नलिइएला र ?

तर नेपालको पहिलो खेलमा उनले मौका मात्र पाइनन्, अद्भुत बलिङ गर्दै विश्व कीर्तिमान नै बनाएकी छन् ।

क्रिकेटमा माल्दिभ्स सिकारु टिम हो । त्यसैले नेपाल हावी हुने पक्का थियो । तर अञ्जलीले गरेको बलिङ भने उनकै लागि पनि नसोचेको खुसी मिल्यो ।

उनले २.१ ओभर बलिङ गर्दै कुनै रन खर्च नगरी ह्याट्रिकसहित ६ विकेट लिइन् । ‘अविश्वसनीय वर्ल्ड रेकर्ड हो । अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो सायदै कहिल्यै भएको थियो । अनलाइनखबरसँगको कुरा गर्दै भनिन्, ‘यति राम्रो गर्न सक्छु भन्ने कल्पनामै थिएन । चान्स पाएँ भने १/२ विकेट लिने सोचेकी थिएँ, त्यत्ति हो ।’

सानोमा गाउँ(बैतडी)मै दाइहरुले खेलेको देखेर रहरैरहरमा उनी क्रिकेटमा होमिएकी थिइन् । हातमा बल घुमाउँदै दाइहरुसँग क्रिकेट क्रिजमा होमिएकी उनले यू–१९ र २०१४ मा एसियन गेम्समा बंगलादेशविरुद्ध खेल्ने मौका पाइन् ।

४ वर्षअघि बिहे भएपछि क्रिकेटबाट टाढिइन् । तर जीवनको अभिन्न अंग बनिसकेको क्रिकेट कसरी छोड्न सक्थिन् र ? वुमन्स च्याम्पियन्स लिगबाट क्रिकेटमा फर्किएकी उनले सागका लागि नेपाली टोलीमा स्थान बनाउन सफल भइन् ।

‘क्रिकेटमा लागिरहन घर र माइत दुवैबाट राम्रो सहयोग मिलेको छ । परिवारबाट राम्रो सहयोग नभएको भए कसरी आज यति राम्रो खेल्न सक्थें र ?,’ उनी भन्छिन् ।

पोखरा रंगशालामा आफ्नो उत्कृष्टता देखाएसँगै अञ्जली फेरि एक पटक सबैको आँखामा परेकी छिन् । तर यस्तो प्रदर्शनलाई निरन्तरता दिनुपर्ने दबाव पनि बढेको छ । सागमा सहभागी अन्य टिम माल्दिभ्सजति कमजोर छैनन् पनि । २५ वर्षीया अञ्जलीले पनि यो यो बुझेकी छिन् । भन्छिन्, आजको खेलमा जसरी आफ्नो बेस्ट दिएँ, आगामी खेलमा त्यसरी नै प्रदर्शन गर्ने सोच छ ।’

१३ औं साग अन्तर्गत पोखरामा हुने महिला क्रिकेट प्रतियोगितामा अब अर्को खेलमा नेपाल बुधबार बंगलादेशविरुद्ध भिड्ने छ । बंगलादेश टेस्ट मान्यता प्राप्त देश हो ।

तस्वीर : युनिश गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment