Comments Add Comment

दुई सन्तानका लागि स्वर्ण जितेजस्तो भयो : आयशा शाक्य

१६ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा आफ्नो प्रदर्शन सोचे जस्तो नभएपछि आयशा शाक्यले आफूलाई सम्हाल्न सकिनन् ।

चार स्वर्णधारी श्रीमान्, १२औं सागमा फाइनलमा राम्रो गर्दागर्दै स्वर्ण पदक गुमाउनुको पीडा सबैका बीच उनी यो पटक क्यारोगी (फाइट) छाडेर पुम्सेमा आएकी थिइन् । सागमा पहिलो पटक समावेश भएको पुम्सेमा उनले महिला एकलतर्फ ३० वर्षमाथि र टिम गरी दुई स्पर्धामा भाग लिएकी थिइन् ।

तर एकलमा अरु प्रतिस्पर्धी भन्दा पहिला एरियामा उत्रिएकी उनको प्रदर्शन आफूले सोचे जस्तो भएन । त्यसैले खेल सकिनासाथ झ्यालमा गएर बेस्सरी रोइन् ।

तर त्यो आशु केहीबेरमा हर्षको आशुमा बदलियो । उनको स्कोर ७.९४० थियो । त्यसपछि आएका भार, बंगलादेश, श्रीलंका र पाकिस्तानका खेलाडीहरुले उनलाई पछ्याएपनि भेट्टाउन सकेनन् र आयशाले स्वर्ण पक्का गरिन् । राष्ट्रिय झण्डाको बोकेर स्वर्णको खुसी मनाउने क्रममा उनी निकै भावुक भइन् ।

त्यसपछि टिमतर्फ आयशा र संजीवकुमार ओझाले स्वर्ण जिते ।

तेक्वान्दाको पुम्सेतर्फ स्वर्ण पदक जितेका आयशा शाक्य र संजीवकुमार ओझा ।

योसँगै सागमा उनको स्वर्ण संख्या तीन पुगेको छ । ११औं सागमा पनि उनले स्वर्ण जितेकी थिइन् । सागमा रजत पदक र एसियाली खेदकुदमा कास्य पनि उनको नाममा छ ।

पुम्सेमा आएर एकैदिन दुई स्वर्ण जितेपछि तेक्वान्दो खेलाडी आयशा शाक्यले खुसी हुँदै भनिन्, ‘दुई बच्चाका लागि दुई मेडल जितेको जस्तो लागिरहेको छ ।’

उनले अघि भनिन्, ‘चार गोल्ड मेडलको रेकर्ड बोक्नु भएका श्रीमान हुनुहुन्छ । आजबाट म पनि तीन स्वर्णधारी भएँ । यो अविश्मरणीय र महत्वपूर्ण हो ।’

आयशाका श्रीमान दीपक विष्टले साग खेलकुदको तेक्वान्दोमा नै चार स्वर्णको कीर्तिमान बनाएका छन् । हाल नेपाली तेक्वान्दो टोलीको प्रशिक्षक छन् ।

स्वर्ण विजेता आयशाले दुई सन्तानको आमा भइसकेको अवस्थामा आफूलाइै विश्वास गरेको भन्दै परिवार, प्रशिक्षक र सबैलाई धन्यवाद दिएकी छन् । उनले भनिन्, आज मैले विश्वास जिते । जो खेललाई छोडर बस्नु भएको छ, उहाँहरुलाई पनि भन्न चाहन्छु, कृपया आउनुस् । कसैलाई पनि उमेर छेक्दैन ।’

उनले आफ्नो ओलम्पिक सपना बाँकी रहेको भन्दै पुम्से समावेश भए भाग लिने सुनाइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment