Comments Add Comment

प्रदेश २ उपनिर्वाचन : पतिको ठाउँमा पत्नी विजयी

१६ मंसिर, जनकपुरधाम । प्रदेश २ का एक गाउँपालिका अध्यक्ष र नौ वडाअध्यक्षका लागि भएको उपनिर्वाचनमा सबैभन्दा बढी समाजवादी पार्टीले जितेको छ । समाजवादी पार्टीले चार वडाअध्यक्ष जित्यो भने राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाली कांग्रेसले २/२ तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले १ वटा वडामा जित हासिल गरेको छ ।

महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा भने नेकपाका बिक्रम चौधरी विजयी भए । बिक्रम दोस्रो पटकको प्रयासमा अध्यक्ष बन्न सफल भएका हुन् । यसअघि २०७४ असोजमा भएको स्थानीय तह निर्वाचनमा राजपा उम्मेदवार विनोद चौधरीसँग पराजित भएका थिए । त्यतिबेला विनोदले २ हजार ७ सय ७५ र बिक्रमले १ हजार ८ सय ७३ मत ल्याएका थिए ।

बिक्रम चौधरी

१. दोस्रो प्रयासमा सफलता

सिरहाको कल्याणपुर नगरपालिका १२ मा भएको उपनिर्वाचनमा निर्वाचित नेकपाका उम्मेदबार दिलिपकुमार यादव पनि दोस्रो पटकको प्रयासमा निर्वाचित भएका हुन् ।

यादवले यस पटक ८ सय २५ मत ल्याएर निर्वाचित भएका हुन् । यसअघिको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट उम्मेदबार रहेका उनी २ सय ९८ मत पाएर तेस्रो स्थानमा रहेका थिए ।

यो वडामा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका रामदेव यादव ६ सय २२ मत ल्याएर निर्वाचित भएका थिए । रामदेवको गत वैशाखमा मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

२. बाबुसँग हारे, छोरालाई हराए

रौतहटको गढीमाई नगरपालिका २ मा भएको उप निर्वाचनमा दीपेन्द्र श्रेष्ठ पनि दोस्रो पटकको प्रयासमा निर्वाचित भए । यसअघि २०७४ सालमा भएको निर्वाचनमा राजपा उम्मेदवार जोगेन्द्र दाससँग पराजित भएका कांग्रेस उम्मेदवार श्रेष्ठ यस पटक ७ सय ७१ मत ल्याएर निर्वाचित भए ।

राजपाबाट निर्वाचित भएर निधन भएका वडा अध्यक्ष जोगेन्द्र दासका छोरा दिनेशलाई समाजवादी पार्टीले यो वडाबाट टिकट दिएको थियो । तर उनले जित्न सकेनन् ।

३. पतिसँग हारे, पत्नीलाई हराए

बाराको बारागढी गाउँपालिका १ को अध्यक्षमा समाजवादी पार्टीबाट सुरेश चौधरी विजयी भए । २०७४ सालमा ११ मतान्तरले पराजित भएका उनी अहिले ६ सय ७२ मत ल्याएर निर्वाचित भए ।

सुरेश चौधरी

यसअघिको निर्वाचनमा कांग्रेसबाट नन्दलाल राय थारु ४ सय ३३ मत ल्याएर निर्वाचित हुँदा सुरेशले ४ सय २२ मत ल्याएका थिए । यसपटक सुरेशले नन्दलालकी पत्नी तस्बिरियादेवीलाई पराजित गरेका हुन् । तस्बिरियाले ४ सय ७१ मत ल्याएकी छन् ।

४. पहिले पति, अहिले पत्नी विजयी

सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ का वडाअध्यक्षका नेकपा उम्मेदवार अच्छेलाल यादव भने दोस्रो पटक पनि पराजित हुन पुगे । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका उनी राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदबार प्रभाकर यादवसँग ८ मतले पराजित भएका थिए ।

अहिले राजपाकै उम्मेदवार प्रमिला यादवसँग ११ मतले पराजित भए । राजपाका उम्मेदबार प्रमिला यादव ५ सय ३९ मत ल्याएर निर्वाचित हुँदा अच्छेलाल ५ सय २९ मतमा रोकिए ।

यस पटक निर्वाचित भएकी प्रमिला अघिल्लो पटक निर्वाचित प्रभाकरकी पत्नी हुन् । प्रभाकर जिल्ला समन्वय समितिको सभापतिमा चयन भएपछि उनको ठाउँमा भएको निर्वाचनमा उनकै पत्नीले जितेका हुन् । प्रमिलालाई जिताउन समाजवादी पार्टीले समेत साथ दिएको थियो ।

५. पार्टी फेर्दा पनि पराजित

महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा समाजवादी पार्टीकी उम्मेदवार रामजानकी यादव दोस्रो पटक पनि अभागी सावित भए । यसअघि २०७४ सालमा तत्कालिन माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी यादव राजपा उम्मेदवार विनोद चौधरीसँग पराजित भएका थिए ।

अहिले समाजवादी पार्टीबाट उम्मेदवार बन्दा नेकपा उम्मेदवार बिक्रम चौधरीसँग पराजित हुन पुगे । यद्यपी उनको मतमा भने सुधार भएको छ । रामजानकीले उप निर्वाचनमा ३ हजार ४१ मत ल्याए । यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा १ हजार ५ सय ७८ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment