Comments Add Comment

सागमा नेपाललाई १५ स्वर्ण दिलाउनेहरु

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सागमा आयोजकले नेपालले शानदार शुरुवात गरेको छ । दोस्रो दिन सोमबार छिनोफानो भएको २४ मध्ये नेपालले सर्वाधिक १५ स्वर्ण जित्यो ।

नेपालले रजत पदक जित्दै दिनको शुरुवात गरेपनि स्वर्ण जित्दै अन्त्य गर्‍यो ।

साग इतिहासमा नेपाललाई सर्वाधिक स्वर्ण दिलाएका तेक्वान्दो र करातेको खेलहरु सोमबारबाटै शुरु भएकोले नेपालले पहिलो दिन धेरै स्वर्ण आफनो पक्षमा पार्न सफल भएको हो । तेक्वान्दो र करातेमा नेपालले समान ७ स्वर्ण जित्दा ट्रायथलनमा १ स्वर्ण जित्यो ।

कराँतेकी चन्चला दनुवारको रजत पदकबाट दिनको शुरुवात गरेको नेपालले अन्तिममा तेक्वान्दोको पुम्सेतर्फ टिम इभेन्टमा स्वर्ण जितेको हो ।

कराँतेको महिला एकल कातातर्फ चन्चला दनुवार फाइनलमा पाकिस्तानी खेलाडीसँग पराजित भइन् । यस स्पर्धामा पाकिस्तानकी साइदाले स्वर्ण जितिन् र उनी १३औं सागमा पिहलो स्वर्ण जित्ने खेलाडी बनिन्।

सोमबार दिनैभर सातदोबाटोबाट नेपालको लागि खुशीको खबर आइरहँदा कराँतेका मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले २-२ स्वर्ण जिते । सन् १९९९ मा नेपालमै भएको आठौं सागमा गंगाराम महर्जनले कराँतेको एकल कातामा स्वर्ण जितेका थिए ।

त्यसको २० वर्षपछि नेपालले कातामा स्वर्ण जित्दा मण्डेकाजीले पुरुषको एकल काता र पुरुष टिम कातामा स्वर्ण जित ।

११औं मा छनोट भएर पनि खेल्न नपाएको र १२औं मा कराते नै समावेश नभएपनि मण्डेकाजीले हरेश नखाई मिहिनेत गरेर घरमै दुई स्वर्ण जितेका हुन् । इखले जसरी पनि सागमा स्वर्ण जित्नुपर्छ भनेर लागेका मण्डे स्वर्ण जित्नेमा पूर्ण आत्मविश्वासका साथ खेलेका थिए र सफलता समेत हात पारे ।

टिम कातामा उनले प्रविण मानन्धर र महसुस तामाङसँग मिलेर स्वर्ण जितेका थिए । सबै खेलाडीको सागमा यो पहिलो स्वर्ण थियो ।

यस्तै ११औं सागमा रजत जितेकी अनु अधिकारीले ९ वर्षपछि कराँतेमा स्वर्ण जितिन् ।

तेक्वान्दोतर्फ आयशा शाक्यले पुम्सेमा स्वर्ण जित्दै दुई फरक विधामा स्वर्ण जित्ने कीर्तिमान बनाइन् । सन् २०१० मा ढाका भएको ११औं सागमा फाइटतर्फ स्वर्ण जितेकी आयशाले यस पटक पुम्सेतर्फ दुई स्वर्ण जितिन् ।

एकलतर्फ २९ वर्षमाथी स्वर्ण जितेकी आयशाले २९ वर्षमाथिको यगलमा सन्जिव कुमार ओझासँग मिलेर स्वर्ण जितेकी हुन् ।

तेक्वान्दोमा नेपालले ७ स्वर्ण जित्दा बाँकी पाँच विधामा भने नेपाले नयाँ स्वर्ण विजेता पायो । पुम्सेमै कमल श्रेष्ठ सिना मादेन लिम्बु र पार्वती गुरुङले स्वर्ण जित्दा अन्य दुई टिम इभेन्टमा नेपालले स्वर्ण जित्यो ।

पहिलो पटक सागमा पुम्से विधा समावेश गरिएको हो । १३ इभेन्टमध्ये नेपालले सर्वाधिक ७ वटामा स्वर्ण जित्यो। यस्तै नेपालले १ रजत र ४ कास्य समेत जित्यो ।

यसैगरी पोखरामा सोमबारै देखि शुरु भएको ट्रायथलनमा पनि नेपालले पहिलो दिन एक स्वर्ण जित्यो । २०१६ मा भारतमा भएको १२ औं संस्करणबाट समावेश भएको ट्रायथलनमा नेपालले पहिलो स्वर्ण जितेको हो ।

महिलातर्फ सोनी गुरुङले नेपाललाई स्वर्ण दिलाएकी हुन् । यस्तै नेपालले ट्रायथलनमा एक कास्य समेत जित्यो ।

कोको हुन् त नेपाललाई स्वर्ण दिलाउनेहरु ? हेर्नुस् तस्वीरमाः

मण्डेकाजी श्रेष्ठ, जसले १३औं सागमा नेपाललाई पहिलो स्वर्ण दिलाए । उनले कराते एकल कातामा स्वर्ण जितेका हुन् ।
तेक्वान्दाको पुम्सेतर्फ स्वर्ण पदक जितेका आयशा शाक्य र संजीवकुमार ओझा ।
कुमुतेको महिलातर्फ ४५ केजीमुनी समूहमा प्रतिस्पर्धा गरेकी कुशुम खड्काले स्वर्ण जितेकी छन् ।
मण्डेकाजीको अर्को स्वर्ण । उनीसँगै प्रवीण मानन्धर र महसुस तामाङले करातेको टिम कातामा स्वर्ण जितेका हुन् ।
अनु अधिकारी । उनले करातेको कुमुतेतर्फ ५० केजीमुनीको समूहमा स्वर्ण जितेकी छन् ।
महिला टिम कातामा निर्मला तामाङ, संगिता मगर र सरु कार्कीको समूहले नेपाललाई स्वर्ण दिलाएको छ ।
लक्ष्मण तामाङ । पुरुषतर्फ ५५ केजीमुनी प्रतिस्पर्धा गरेका उनले स्वर्ण पदक जितेका छन् ।
तेक्वान्दोको पुम्सेमा नेपाललाई स्वर्ण दिलाएकी सीना मादेन । उनले १७ देखि २३ वर्षको समूहमा स्वर्ण जितेकी हुन् ।
तेक्वान्दोमा अर्को स्वर्ण । १७ देखि २३ वर्ष उमेर समूहमा निशा दर्नाल, स्वस्तिमा तामाङ र रञ्जिला तिमल्सिनाको समूहले स्वर्ण जितेको छ ।
स्वर्ण विजेता विजेतात्रय । नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईको टिमले पुम्सेको २३ देखि २९ वर्ष उमेर समूहमा स्वर्ण जितेको छ ।
२३ देखि २९ वर्ष समूहमा पार्वती गुरुङ । उनले स्वर्ण जितेकी छन् ।
पुरुषतर्फ २३ देखि २९ वर्ष समूहका नेपाललाई स्वर्ण दिलाएका कमल श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment