Comments Add Comment

झोंछे : वन्स अपन अ टाइम

धुवाँ र धुनभित्र स्वच्छन्दता खोज्ने हिप्पीहरुको कथा

सदियौंदेखिको सभ्यताले भारी भएको वसन्तपुर दरबार क्षेत्रमा १९६० को दशकमा एउटा नयाँ सभ्यताले पाईलो टेक्यो । पहिलेको परम्परागत संस्कृति भन्दा भिन्न थियो त्यो संस्कृति, जहाँ आनन्दको सागर भेटिन्थ्यो, ब्रहृमानन्दको प्रतिक देखिन्थ्यो । त्यसैमा सारा संसारको खुशी भेटिन्थ्यो । त्यही झोंछेको गल्लीमा खुलेका साना साना गाँजा र चरेसको सर्काेसँगै फुलेको थियो केही विदेशी तन्नेरीहरुको स्वतन्त्रता ।

यो स्वतन्त्र संस्कृति थियो । भेषभुषामा कुनै प्रतिबन्ध थिएन । कुनै चिच्याहट र रोदन थिएन । कुनै विशेष समयपनि थिएन । केवल यो संस्कृतिले खोजेको थियो फगत स्वतन्त्रता, शान्ति र आनन्द । यही दशकको सुरुवाततिर नेपालमा अवतरण भएको नयाँ संस्कृतिले काठमाडौंबासीलाई रोजगारी दियो । विदेशी शान्तिप्रेमीहरुलाई आनन्दभूमिको परिचय दियो र उनीहरुलाई स्वतन्त्रताको आभाष पनि दियो ।

यही दशकको सुरुदेखि नै अमेरिकी साम्राज्यवादको आडमा चलिरहेको युद्ध नस्वीकारेका अमेरिकीहरु शान्तिको खोजीमा भौतारिँदै हिँडेका थिए । अमेेरिकाको न्यूयोर्क र सनफ्रान्सिस्कोबाट निस्किएका यो तन्नेरी लस्कर फ्रान्स र इटालीको बाटो हुँदै एशियातिर लम्किए । मध्यपूर्वका देशहरु हुँदै दक्षिण एशियामा अफगानिस्तानबाट आएकाहरुको अन्तिम गन्तव्य बन्यो नेपालकै वसन्तपुर क्षेत्र ।

मादक झोंछे र हिप्पी

देख्दैमा ख्याउटे अनुहार, पहिरन र खानमा कुनै चिन्ता नभएका, खर्च गर्नको लागि धेरै पैसा नभएका र केवल गाँजा र चरेशको धुवाँमा नै आफ्नो दैनिकी टार्नेहरु झोंछे क्षेत्रमा प्रसस्तै देख्न सकिन्थ्यो । वसन्तपुर क्षेत्रकै स्थानीय सुनिल भक्त जोशी भन्छन् ‘नेपालीहरुलाई भिन्न लाग्ने जिन्सको पाइन्टमाथि टिसर्ट लगाएकाहरु यही दुनियाँमा रमाइरहेका थिए । उनीहरुलाई अरु कसैको चासो थिएन । आफूहरु आएको रुटलाई हिप्पी ट्रेलको रुपमा विकास गरेका थिए । त्यससँगै व्यवस्थित रुपमा नयाँ आनन्दको खोजी गर्दै नेपाल आउनेहरुको भीड हुन थाल्यो । तिनै हिप्पीहरुले त्यतिबेलाको न्यूरोड भरियो ।’

जोशी भन्छन् ‘के बिहान, के दिउँसो, के बेलुका ? एउटै धुनमा रमाउने हिप्पीहरुलाई अरु कुनै चासो थिएन । गाँजाको धुवाँसँगै उडेका सपनाहरुलाई वायुमण्डलको हावामा समाहित नभएसम्म हेरेर नै बित्ने गथ्र्याे उनीहरुको जीवन ।’

आफ्नो उमेरको सानैदेखि हिप्पीहरुसँगको संगतका कारण उनले पनि त्यो संस्कृतिलाई राम्रोसँग बुझेका थिए । उनी भन्छन् ‘ख्याउटे अनुहार, जिन्सको पाइन्ट लगाएर झुस्स परेको दारीको साथमा लामो लामो कपाल । कोही गाडी माथि बसेर नै गाँजा खाने अर्काे समयको प्रतिक्षामा हुन्थे । उनीहरुले गाँजा खाँदा स्वास्थ्यलाई असर गर्ला तर समाजलाई गर्दैन भन्ने एउटा उदाहरण थिए उनीहरु ।’

हिप्पीको बारेमा साहित्यकार डा. अभि सुवेदीको पनि अनुभव अर्कै किसिमको छ । हिप्पीहरुको प्रभावमा केवल समाजमा मात्रै होइन । यसले तत्कालीन साहित्यसँगै नेपाली समाजमा पनि गहिरो प्रभाव छाडेको थियो । साहित्य सम्मेलन छाडेर गाँजाको धुवाँमा हराउन जानेको समेत कमी थिएन । तर, यसले कसैको पनि जनजीवनलाई भने प्रभावित नगराएको उनी बताउँछन् ।

जोशीले आफ्नो उमेरको छैटौं वर्षको समयदेखि हिप्पीहरुसँग उनको नियमित भेटघाट हुन्थ्यो । हिप्पीहरुको त्यो स्वतन्त्र जिन्दगीको उनीपनि प्रसंसक थिए । तर, उनको हिप्पीहरुसँग कहिलै संगत भएन ।

एक दिन बिहान उठेर आफ्नो काममा निस्कने क्रममा उनले झोंछेको गल्लीमा तत्कालीन समयका हलिउड सुपरस्टार जेम्स कोभनलाई गाँजा तान्दै गरेको भेटे । उनी त्यही हिप्पीहरुको प्रभावका कारण अँग्रेजी फिल्म पनि हेर्ने गरेका थिए र उनी ती सुपरस्टारका प्रशंसक पनि थिए । उनी सम्झन्छन् ‘त्यतिबेला मैले दुई रुपैयाँमा मयुर कापी किनेर हत्तनपत्त उनको अटोबायोग्राफी लिएको थिएँ ।’

त्यति हुँदा पनि उनलाई हिप्पीहरु किन त्यहाँ आउँछन् भन्ने बारेमा केही पनि जानकारी थिएन । अमेरिकाको महात्म्य त्यतिबेलासम्म उनलाई कसैले सुनाएको थिएन । उनको मनले अमेरिकाको त्यो काल्पनिक दृश्य त्यही भएर होला मानस पटलमा समेट्न पनि सकेन । शान्तिको खोजी भनेपछि उनको मनमा अर्काे जिज्ञासा खेल्न थाल्यो । त्यही ठाउँमा बस्नेहरु बेचैन भएर भौतारिएका छन् । यही ठाउँमा शान्ति भेट्ने यी कस्ता जादुगर होलान् ? जे होस् हिप्पीबारे नबुझेको र अन्तराष्ट्रिय युद्धको ज्ञान नभएको जोशीको त्यो बाल मस्तिस्कले तिनै केही तर्क गर्‍यो । समय बित्दै गयो ।

युद्धमा विरक्तिएका युवाहरु

जतिबेला ‘फ्रिक स्ट्रिट’मा बालिएको गाँजाको धुवाँले सनफ्रान्सिस्कोका युवाहरुलाई आनन्दको आभास दिलाइरहेको थियो, सोही समयम अमेरिका र भियतनामको युद्धले पनि चरम सीमामा यात्रा गरिरहेको थियो । जुन देशले हजारौं सेनाहरु युद्धमा गुमाएको थियो । सोही देशका युवाहरु बुद्धको भूमिमा शान्तिको आश्रय खोजेर बसिरहेका थिए । यो उनीहरुले गरेको एउटा शान्तिपूर्ण र सांकेतिक विद्रोह थियो ।

सन् १९५५ देखि सुरुभएको भियतनामी युद्धमा धेरै अमेरिकीहरुको ज्यान गएको थियो । पुँजीवादको आडमा विश्वमा आफ्नो साम्राज्य बिस्तार गर्ने क्रममा रहेका अमेरिकी प्रशासन कम्युनिष्ट मुलुक भियतनामसँग पराजयको संघारमा पुगेको थियो । बलबुताले युद्ध आफ्नो हातमा ल्याउने कोसिस असफल हुँदै थियो । भियतनामी जंगलमा आगो लगाउन हानिकारक मिसाइलहरुको प्रयोग गरिएको थियो । ‘नेपाम’ नामक रसायनिक बमले जंगल ध्वस्त गरिएको थियो । हरेक ३० मिटरको दूरीमा बमबारी गरिएको थियो । युद्ध र जुँगाको लडाईंकै लागि भियतनामका कैंयौं जंगलहरु खण्डहर भएका थिए । सेनाहरु मरिने क्रम रोकिएको थिएन । अन्तिमसम्ममा सो युद्धमा ५८ हजार अमेरिकी सेना मारिए ।

त्यही समयमा अमेरिकाले हरेक युवालाई सेनामा भर्ती गराउने निर्णय गर्‍यो । त्यही निर्णय विरुद्ध अमेरिकामा पनि धेरै प्रदर्शन भयो । प्रदर्शन पनि गर्न मन नपराउनेहरु बिरक्तिएका युवाहरु देशै छाडेर हिँडे । त्यही युवाहरुले भित्र्याएको संस्कृति हो हिप्पी संस्कृति ।

जोशीको बुझाईमा नेपाल हिप्पीहरुको रोजाइमा पर्नुको मूल कारण थियो गाँजाको वैधानिकता । त्यतिबेला नेपालमा गाँजामा प्रतिबन्ध लगाइएको थिएन । पुरै हनुमानढोका दरबार क्षेत्रमा पर्यटकहरुको निःशुल्क प्रवेशको हब थियो । पर्यटकहरु रमाइरहेका थिए । विश्वले नेपाल चिनिरहेको थियो । ब्रहृमानन्दमा लीन भएका विदेशीहरुको लागि सनफ्रान्सिस्को र न्यूयोर्कको विलासिता फिक्का भएको थियो । त्यहाँका युवाहरुको लागि उनीहरु आउँथे, आफ्ना कपडाहरु समेत यहाँ बेचेर आफू आफैं भित्र हराउँथे । अरुको कुनै मतलव उनीहरुलाई थिएन । तिनै युद्धबाट बिरक्तिएर शान्तिको खोजीमा हिँडेकाहरुको संस्कृति थियो हिप्पी र केन्द्र थियो झोंछे ।

बलिउडमा हिप्पीको कथा

एकातिर हिप्पीहरुको आनन्दको रागमा रमिरहेको थियो । उता नेपाली संस्कृतिले बलिउडमा प्रवेश पाइसकेको थियो । त्यतिबेलाका चर्चित नायक देवआनन्दको चलचित्र ‘हरेराम हरेकृष्ण’ ले हिप्पी संस्कृति र नेपालको झोंछे क्षेत्रलाई मूलधारको बलिउडमा प्रवेश गरायो । यता हिप्पीहरुबाट हामीले धेरै बाद्ययन्त्र र संगीतहरु सिकिरहेका थियो । हामीहरुको संस्कृति र कलाहरु यही संस्कृतिका कारण नै बलिउडमा प्रवेश भइसकेको थियो । नेपालमा अँग्रेजी गीतहरु घन्किन थालिसकेका थिए ।

सन् १९७१ मा हरेराम हरेकृष्ण नामको फिल्म यही काठमाडौंको वसन्तपुर र त्यस आसपासको क्षेत्रमा बनाइएको थियो । बलिउडमा निकै चर्चित भएको सो फिल्मको महत्वपूर्ण भाग र लगभग आधा जति दृष्यहरु नेपालमा नै छायांकन गरिएको थियो । यो फिल्म बक्स अफिसमा अत्याधिक हिट भएको थियो । त्यस फिल्ममा तत्कालीन् हिप्पीहरुको संस्कार, वातावरण र लागु पदार्थबारे चित्रण गरिएको छ ।

अनि हिप्पीहरु विथोलिए

सन् २०३० मा सरकारले अमेरिकाको दबाबमा गाँजा प्रतिबन्ध लगायो । अमेरिकी नागरिकहरु यहाँको बढ्दो लोकपि्रयताका कारण उनीहरुलाई समस्या हुँदै गएको थियो । जसका कारण २०३० सालमा गाँजा र चरेस प्रतिबन्ध लगाएपछि हिप्पीहरुको केन्द्र ढल्यो । केवल उनीहरुको आनन्द र स्वतन्त्रता मात्रै खोसिएन । यहाँको पर्यटन व्यवसायमा पनि नकारात्मक असर परेको थियो । डा. अभि सुवेदीले गत साउन महिनामा एक पत्रिकामा छापेको आलेखमा गाँजा प्रतिबन्ध पछि आफ्नै देश फर्किन लागेका एक अमेरिकीको अनुभव समेटेका थिए । त्यतिबेला सिंह दरबारमा आगो लागेको थियो । त्यही प्रसंगमा उनले भनेका थिए :

‘गाँजा प्रयोग गर्न पाउने लाइसेन्स खारेज गर्ने घोषणा हुनुभन्दा एक हप्ता अघि नै सिंहदरबारमा आगो लागेको थियो । यो आगो शिवजीले दिएको दण्ड हो ।’

यही संस्कृतिको अवसानसँगै बिस्तारै त्यो क्षेत्र सुनसान भयो । पर्यटकहरुले यसलाई बिर्सिन थाले । र, झोंछेको हिप्पी कल्चर एकादेशको कथा भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment