१८ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) क्यालेन्डरमा जम्मा एक महिना बाँकी थियो । ट्रायथोलनमा खेलाडी सोनी गुरुङ सागमा ‘रजत’ पदकको सपना देखिरहेकी थिइन् । तर अभ्यास गर्न उनीसँग साइकल थिएन । ट्रायथोलनमा सबैभन्दा आवश्यक पर्ने साधन भने साइकल नै थियो ।
खेल आउन करिब २७ दिन बाँकी थियो । उनको अगाडि थोत्रो साइकल देखा पर्यो र भनियो, ‘यो साइकलले अभ्यास गर्दै गर । नयाँ साइकल चाँडै आउँछ ।’
कर्मचारीले नै भनेपछि नपत्याउने कुरै भएन । आज्ञाकारी उनले भनिन्, ‘हस्, तर चाँडै है ! यो साइकल त चलाउनै नमिल्ने गरी पुरानो भइसकेको छ ।’
साँच्चै साइकलको अवस्था चलाउन सक्ने थिएन । सन् २०१४ मा किनिएको साइकलको पाटपुर्जा जाम भइसकेको थियो । टायरमा हावा थिएन । ट्युब कोक्रो परिसकेको थियो । कुनै ‘कवाडीखाना’बाट उठाएर ल्याएको जस्तो ।
सोनीको सपना रजत थियो । त्यही थोत्रो साइकल उठाइन् । धुलो टक्टक्याइन्, पुछपाछ पारिन् । टायरमा हावा भरिन् र विस्तारै चलाउन थालिन् । ‘तर कहाँ चल्नु ? सुरुमा त हेर्नै नसक्ने गरी जाम भएको साइकल पाएका थियौं,’ उनले भनिन्, ‘आफैं बनाएपछि अलिअलि काम चलाउ भयो ।’
क्यालेन्डरमा गते जसरी अघि सर्दै थियो, त्यति नै अनुपातमा साग आउने दिन पनि नजिकिँदै गयो । तर, नयाँ साइकल आउने छाँटकाँट देखिएन । सोचेकी थिइन्, ‘आफ्नै देशमा साग आयोजना हुँदैछ । कसो नआउँला र नयाँ साइकल ?’
यही विश्वासमै पुरानो साइकलको प्याडल घुमाउँदै अभ्यास गरिरहिन् । ‘नयाँ साइकल आउँदैछ है !’ भन्ने आश्वासन पनि पाइरहिन् । साग आयो, तर नयाँ साइकल आएन ।
साइकल नआए पनि सोनीले रजत पदकको सपना त्यागिन् । र, अर्को प्रतीज्ञा गरिन्, ‘यो देशले एउटा साइकल पनि पत्याएन । अब यही थोत्रो साइकलले स्वर्ण पदक जितेर देखाइदिन्छु ।’
 उसो त नयाँ साइकल नपाए पनि नयाँ टायर र ट्युबमात्रै भए पनि पठाइदिन आग्रह गरेकी थिइन् । तर त्यो पनि प्रतियोगिताको अघिल्लो दिनमात्रै पोखरा आइपुग्यो । ‘मैले चलाएको साइकलको ट्युब नेपालमा पाइँदैन । विदेशबाटै मगाउनुपर्छ । त्यो ट्युब फेरेर पनि केही दिन चलाएर मात्र प्रतियोगितामा लैजान योग्य हुन्छ,’ सोनीले भनिन्, ‘तर, प्रतियोगिताको अघिल्लो दिन पाएको नयाँ ट्युब पनि फेरिनँ । पुरानै साइकलमा हावा भरेर प्रतिस्पर्धामा गएँ ।’
उसो त नयाँ साइकल नपाए पनि नयाँ टायर र ट्युबमात्रै भए पनि पठाइदिन आग्रह गरेकी थिइन् । तर त्यो पनि प्रतियोगिताको अघिल्लो दिनमात्रै पोखरा आइपुग्यो । ‘मैले चलाएको साइकलको ट्युब नेपालमा पाइँदैन । विदेशबाटै मगाउनुपर्छ । त्यो ट्युब फेरेर पनि केही दिन चलाएर मात्र प्रतियोगितामा लैजान योग्य हुन्छ,’ सोनीले भनिन्, ‘तर, प्रतियोगिताको अघिल्लो दिन पाएको नयाँ ट्युब पनि फेरिनँ । पुरानै साइकलमा हावा भरेर प्रतिस्पर्धामा गएँ ।’
सोनीको त्यही पुरानो साइकलको थोत्रो प्याडल घुमाउँदै प्रतिस्पर्धामा होमिइन् । र, नेपाललाई स्वर्ण पदक दिलाएरै छाडिन् । उनले पाएको स्वर्ण पदक जारी १३ औं सागमा दोस्रो थियो ।
‘स्वर्ण त सोचेकी थिइनँ । तर नयाँ साइकल नपाएको झोकमा विजेता बनेँ,’ उनले भनिन् ।
पुरानो ट्युबका कारण प्रतिस्पर्धाका क्रममा ‘टायर पन्चर हुन्छ कि !’ भन्ने डर भने लागिरहेको उनले सुनाउँछिन् । ‘ट्रायथोलनमा दौड, पौडी र साइकलिङमध्ये सबैभन्दा बढी इफोर्ट साइकलमै लगाउनुपर्छ,’ उनले भनिन्, ‘साइकल परानो भएकै कारण अरुमा ८० प्रतिशत इफोर्ट लगाएँ भने १२० प्रतिशत साइकलमा ।’
ट्रायथोलन खेलाडी सोनी गुरुङले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एउटा स्वर्ण र महिला मिक्स रिले ट्रायथोलनमा रजत पदक जितेकी छिन् । जारी १३ औं सागमा नेपालले २ स्वर्णसहित ६ पदक जितेर उत्कृष्ट प्रदर्शन गरेको छ ।
तस्वीर : युनिश गुरुङ/अनलाइनखबर
 
                    










 २०७६ मंसिर  १८ गते १८:५४
                        २०७६ मंसिर  १८ गते १८:५४                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4