Comments Add Comment

ब्याडमिन्टनका तीन स्पर्धामा नेपाललाई कास्य पदक पक्का

१८ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत ब्याडमिन्टन प्रतियोगितामा नेपालले पुरुष सिंगल, डबल्स तथा मिक्स डबल्समा कम्तिमा कास्य पदक पक्का गरेको छ ।

पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा बुधबार भएको खेलमा पुरुष सिंगलतर्फ नेपालका रत्नजित तामाङ, पुरुष डबल्समा प्रिन्स दाहाल र प्रफूल्ल महर्जन तथा मिक्स डबल्समा विकास श्रेष्ठ र अनुमाया राईको जोडीले सेमिफाइनल यात्रा तय गर्दै कास्य पदक पक्का गरेका हुन् ।

नेपालका रत्नजित तामाङले बंगलादेशका सिग्बत उल्लाहलाई सोझो सेटमा पराजित गरे । उनले २१–१३ र २३–२१ को सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे ।

यस्तै पुरुष डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जनको जोडीले भुटानका कर्मा छेन्द्रु र अनिष गुरुङको जोडीलाई २१–१४ र २१–१२ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

यसैगरी मिक्स डबल्सतर्फ विकास श्रेष्ठ र अनुमाया राईको जोडी भुटानका अनिष गुरुङ र सम्झना गुरुङको जोडीले वाकओभर दिएपछि सोझै सेमिफाइनलमा पुगे ।

महिला डबल्सतर्फ नेपालका जेसिका गुरुङ र रसिला महर्जनको जोडी श्रीलंकाका प्रमोदिका हेण्डेहवा र के. सिरिमाङ्गेको जोडीसँग २१–८ र २१–७ को सोझो सेटमा पराजित भए ।

पुरुष डबल्सतर्फ नेपालका दिपेश धामी र रत्नजीत तामाङको जोडीले भारतका कृष्णप्रसाद गर्ग र ध्रुव कपिलाको जोडीसँग २१–१६ र २१–१३ को सोझो सेटमा पराजित भए ।

यसैगरी मिक्स डबल्सतर्फ नेपालका नवीन श्रेष्ठ र नङ्साल तामाङको जोडी बंगलादेशका मोहम्मद सलमान खान र उर्मी अख्तरको जोडीसँग २१–१३ र २१–१७ को सोझो सेटमा पराजित भए ।

पुरुष सिंगलतर्फ भारतका श्रील बर्माले पाकिस्तानका मुराद अलिलाई २१–१२ र २१–१७ को सेटमा पराजित गरे भने, सोही इभेण्टमा श्रीलंकाका दिनुका निसान परेराले भुटानका निडुप दोर्जेलाई २१–९ र २१–७ को सेटमा पराजित गरे । यसैगरी भारतका आर्यमान टण्डनले श्रीलंकाका रनथुस्का करुणाखिलाकेलाई २१–१७ र २१–१७ को सेटमा पराजित गरे ।

महिला सिंगलतर्फ श्रीलंकाकी दिल्मी दियासले बंगलादेशकी अलिना सुल्तानलाई २१–८ र २१–१० को सोझो सेटमा पराजित गरिन् । सोही इभेण्टमा श्रीलंकाका रत्नसिरि कपुरुले वंगलादेशकी शाल्पा अख्तरलाई १–८ र २१–१० को सेटमा पराजित गरिन् । यसैगरी भारतकी गायत्री गोपिचन्दले पाकिस्तानकी महुर शहाजादलाई २१–१५ र २१–१६ को सेटमा पराजित गरिन् । सोही इभेण्टमा भारतकी अस्मिता चलिहाले पाकिस्तानकी पल्वासा बासिरलाई २१–९ र २१–७ को सेटमा पराजित गरिन् ।

पुरुष डबल्सतर्फ श्रीलंकाका दियास अन्गोडा र थरिन्दु डुलेउको जोडीले भारतका अरुण जर्ज र सन्याम शुक्लाको जोडीलाई २१–१० र २३–२१ को सेटमा पराजित गरे । सोही इभेण्टमा पाकिस्तानका मोहम्मद अतिक र राजा मोहम्मद हुसेनको जोडीले श्रीलंकाका डि परेरा र एच चंकामणिको जोडीलाई २१–१४, १३–२१ र २१–१९ को सेटमा पराजित गरे ।

महिला डबल्सतर्फ भारतकी कुहु गर्ग र अनुष्का परिखको जोडीले वंगलादेशका बृष्टि खातुन र रेहना खातुनको जोडीलाई २१–१८ र २१–११ को सेटमा पराजित गरे । सोही ईभेण्टमा भारतका एम जकम्पुदी र एस नेलाकुर्थिको जोडीले वंगलादेशको शाल्पा अख्तर र अलिना सुल्तानाको जोडीलाई २१–१४ र २१–११ को सेटमा पराजित गरे ।

श्रीलंकाका रत्नसिरि कपुरु र यू को जोडीले माल्दिभ्सका नबिहा अब्दुल रज्जाक र अब्दुल रज्जाकको जोडीलाई २१– र २१–११ को सेटमा पराजित गरे ।

मिक्स डबल्स तर्फ श्रीलंकाका डायस अन्गोडा टी प्रमोदिकाको जोडीले पाकिस्तानका मोहम्मद अतिक र गाजला सिद्धिकीको जोडीलाई २१–८ र २१–९ को सेटमा पराजित गर्दै सेमीफाईनको यात्रा तय गरेका छन् ।

भारतका ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीले श्रीलंकाका रनथुस्का करुणाथुलाके र कविदी सिरिमाङ्गेको जोडीलाई २१–१७ र २६–२४ को सेटमा पराजित गरे ।

बुधबारका खेलमा विजयी भएका सबै खेलाडीले सेमिफाइनल यात्रा तय गरेका छन् । पोखरा रंगशालाको कोर्टमा विहीबारदेखि सेमिफाइनल चरणका खेल हुने प्रतियोगिताका प्राविधिक संयोजक नरबहादुर गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment