Comments Add Comment

कुस्ती प्रतियोगिताको सबै तयारी पूरा

बेहुली झैं सिंगारियो प्रतियोगितास्थल

१९ मंसीर,जनकपुरधाम । दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गतको कुस्ती प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा प्रतियोगिता हुनेछ ।

कुस्ती प्रतियोगिताको उद्घाटन शुक्रबार गरिनेछ । दिउँसो ३ बजे भव्य कार्यक्रमकाबीच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले साग अन्तर्गत कुस्तीको उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला खेलकुद विकास समिति धनुषाका अध्यक्ष कमलकिशोर चौधरीले बताए ।

मिथिला क्षेत्रको सांगितिक धुनबाट खेलाडीहरुको स्वागत गर्दै उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा मिथिला क्षेत्रका लोक गीत र नृत्यको प्रस्तुति समेत गरिने कुस्ती प्रतियोगिता तयारी समितिका संयोजक समेत रहेको चौधरीले बताए ।

उनका अनुसार कुस्तीमा भिड्ने पहलवानहरु जनकपुरधाम आइसकेका छन् । यहाँको चार वटा होटल खेलाडी तथा अफिसियलका लागि बुक गरिएको छ ।

कुस्ती खेलमा नेपालबाट ७ महिला र ७ पुरुषले सहभागिता जनाउँदैछन् । सबैभन्दा बढी बंगलादेशका खेलाडी हुनेछन् । बंगलादेशका १० पुरुष र १० महिला गरी २० जना खेलाडी आउने भएका छन् ।

पाकिस्तानले पुरुषतर्फ मात्रै सहभागिता जनाउने भएको छ । पाकिस्तानका सात जना पुरुष खेलाडी आउने भएका छन् ।

भारतबाट १४ जना खेलाडी कुस्ती खेलमा सहभागी हुनेछन् । जसमध्ये ७ जना महिला र ७ जना पुरुष हुनेछन् । श्रीलंकाबाट पनि सात जना पुरुष र सात महिला गरी १४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

बेहुली झैं सिंगारियो प्रतियोगितास्थल

कुस्ती प्रतियोगिता हुने कभड हललाई बाहिरी तथा भित्री रुपमा पनि सिंगारिएको छ । लामो समयदेखि सरसफाई हुन नसकेको र पुरानो बन्दै गएको कमर्ड हलको भवनलाई अहिले चिटिक्क बनाइएको छ । पेन्टिङ् गरेर यो हललाई आकर्षक बनाइएको छ ।

कभर्ड हल छिर्ने चारैतिर पूर्ण रुपमा सरसफाई गरिएको छ भने यो स्थलमा सार्क अन्तर्गतका नेपालसहित सबै देशका झण्डा फहराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment