Comments Add Comment

पौडीबाज गौरिकाले सागमा जितिन् ऐतिहासिक स्वर्ण

१९ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीको पहिलो दिन गौरिका सिंहले ऐतिहासिक स्वर्ण जित्दा पदक तालिकामा भने भारतको दबदबा रहृयो ।

गौरिकाले महिला दुई सय मिटर फ्री स्टायलमा स्वर्ण जितेकी हुन् । सातदोबाटोस्थित हिटिङ सिस्टलमको स्विमिङ पुलमा उनले निर्धारित दुरी दुई मिनेट ०५.०६ सेकेण्डमा पुरा गरिन् ।

यससँगै उनले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन् ।

यो सागमा नेपालको लागि पौडीमा व्यक्तिगत पहिलो स्वर्ण हो । यसअघि १९९९ मा नेपालमै भएको आठौं सागमा नेपालले टिम इभेन्टमा स्वर्ण जिते पनि व्यक्तिगततर्फ जित्न सकेको थिएन ।

भारतकी सिभांगी शर्माले २ मिनेट ०७.१९ सेकेण्डको समयसहित रजत जितिन् भने बंगलादेशकी जुनाइवना अहेमदले २ मिनेट १२.८३ सेकेण्डमा दूरी पूरा गर्दै काश्य जितेकी छन् ।

गौरिकाले भारतमा सन् २०१६ मा भएको १२औं सागमा नेपाललाई व्यक्तिगत इभेन्टमा पहिलो रजत दिलाएकी थिइन् ।

यो पनि पढ्नुहोस पौडीमा नेपाललाई स्वर्ण जिताउँछु  घरेलु भूमिमै स्वर्ण जित्दा एकदमै खुशी लागेको गौरिकाले बताइन् । ‘सबैको चियरअप थियो, एकदमै खुशी लाग्यो’ स्वर्ण जितेपछि उनले भनिन्, ‘मसँग व्यक्त गर्ने शब्द छैन ।

बेलायतमा बुबा आमासँग बस्दै आएकी गौरिकालाई खेलको बेलामा मात्र नेपाल आएको भन्ने बेलाबेला आलोचना हुने गर्छ । त्यसतर्फ संकेत गर्दै उनले भनिन्, ‘तिमी नेपाली होइनौं भन्छन्, तर म नेपाली हुँ र यो मेडल नेपालको हो ।’

उनले अघि भनिन्, ‘म मेडल नेपाल र नेपालीलाई डेडिकेट -समर्पण) गर्न चाहन्छु ।’

डुअनालाई काश्य

बिहीबार नै नेपालका लागि डुआना लामाले २ सय मिटर ब्रेस्ट स्ट्रोकमा रजत पदक जितेकी छन् । डुआनाले २ मिनेट ४४.६८ सेकेण्डमा दूरी पूरा गरिन् ।

यस स्पर्धामा भारतकी अपेक्षा डेलाइला फर्नान्डेजले २ मिनेट ३८.०५ सेकेण्डसहित स्वर्ण जितिन् भने श्रीलंकन रामुदी नुलाराले कास्य पदक जितिन् ।

यस्तै महिला ४ सय मिटर फ्री स्टायलमा गौरिकासहितको टिमले नेपाललाई कास्य दिलाएको छ । गौरिका, डुआना लामा, टिसा शाक्य र अनुशिया तन्डुकारले मिलेर निर्धाति दूरी ४ मिनेट ०७.९७ सेकेण्डमा पुरा गर्दै कास्य जितेको हो ।

यस स्पर्धामा ३ मिनेट ५५.१७ सेकेण्ड समयसहित भारत पहिलो हुँदा श्रीलंका दोस्रो भयो । श्रीलंकन टोलीले ४ मिनेट ००.१८ सेकेण्डमा निर्धारित दूरी पूरा गरेको थियो ।

पहिलो दिन पाँच कीर्तिमान

पौडीका पाँच नयाँ कीर्तिमान पनि बनेको छ । पुरुष २०० मिटर फ्री स्टायलमा एलेक्स शाहले २ मिनेट ००.०४ सेकेण्डको नयाँ कीर्तिमान बनाए । उनले त्यसअघि हिट चरणमै २ मिनेट ०२.३० सेकेण्डको कीर्तिमान बनाएका थिए ।

यस्तै गौरिका सिंहले सोही दूरीमा २२औं राष्ट्रिय खुला प्रतियोगितामा रहेको २ मिनेट ०९.१९ सेकेण्डको कीर्तिमान तोड्दै २ मिनेट ०५.०६ सेकेण्डको नयाँ कीर्तिमान बनाएकी हुन् ।

२ सय मिनेटर ब्रेस्टस्ट्रोकमा डुआनाले २ मिनेट ४४.६८ सेकेण्डको नयाँ कीर्तिमान बनाइन् । यसैगरी ४ सय मिटर रिलेको महिला र पुरुष दुवैमा नयाँ कीर्तिमान बनेको छ ।

एलेक्स शाह, सायद हम्जा शाह अनुभव सुब्बा र तेन्जिन गुरुङले ३ मिनेट ४६.९७ सेकेण्डको नयाँ कीर्तिमान बनाएका हुन् । यसअघि आठौं राष्ट्रिय खेलकुदमा सायद सहित दिपांकर अवाले, तरुण भण्डारी र षदौरभ लामाले ४ मिनेट ०१.०९ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

महिला रिलेतर्फ गौरिका, डुआना, अनुशिया र टिसाले ४ मिनेट ०७.९७ सेकेण्डको नयाँ कीर्तिमान बनाए ।

भारतको दबदबा

पौडीमा पहिलो दिन ८ स्वर्णका लागि भएको प्रतिस्पर्धा भएकोमा भारतले सर्वाधिक ४ स्वर्ण, ६ रजत र १ कास्यसहित ११ पदक जित्यो । श्रीलंकाले ३ स्वर्ण १ रजत र ३ कास्य जित्यो ।

नेपालले भने एक स्वर्ण, एक रजत र एक कास्य जितेको छ। बंगलादेशले तीन कास्य जित्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment