Comments Add Comment

‘भारतसँग अघिल्लो सागको बदला लिनेछौं’

१९ मंसिर, पोखरा । नेपाली महिला फुटबलमा ‘गोलमेसिन’ का रुपले चिनिएकी छिन् सावित्री भण्डारी ‘साम्बा’ । नेपालको तर्फबाट सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान हालै आफ्नो नाममा लेखाइन् ।

तर, गोलको भोक मेटिएको छैन उनमा ।

लुक्स र हेयरस्टाइल मात्रै होइन, ‘एटिच्युड’ पनि केटाको जस्तो भएकी सावित्रीलाई ‘साम्बा’ उपनाम दिने गरिएको छ । उनी पछिल्लो पाँच वर्ष नेपाली महिला फुटबलमा सबैभन्दा चर्चित नाम बनेकी छन् ।

०००

लमजुङको पामचोक गाउँमा जन्मेर हुर्किएकी सावित्री सानो छँदा दाइहरुले मोजाको बल लात्ता हान्दै खेलेको देख्थिन् । एउटा सानो बलका लागि त्यतिका केटाहरु लड भिड गरेको देख्दा उनलाई रमाइलो लाग्थ्यो । एकदिन तिनै दाइको समूहको एकजना दाइले सोधे, ‘तिमी पनि खेल्ने ?’

सावित्रीले पनि आँट गरिन् । पहिलोपटक मोजाको फुटबल खुट्टाले हान्दा नै उनलाई गजब आनन्द आयो । अनि त दिनदिनै खेल्न थालिन् ।

गाउँघरको काम उही त हो, घाँसदाउरा गर्ने, गाइवस्तु चराउने, स्कुल जाने । उनले सबै काम भ्याएर घर आइपुग्दा घाम अस्ताउनै आँटेको हुन्थ्यो । साम्बालाई कतिबेला गएर बल खेल्ने भनेर आतुरी पथ्र्यो । डुब्दै गरेको घामको वास्ता नगरी उनी कुद्दै जान्थिन्, दाइहरुको बीचमा ।

‘स्कुलबाट घर आइपुग्दा मसँग खेल्न करिब १५ मिनेटमात्रै बाँकी हुन्थ्यो । तर, त्यही १५ मिनेटमा पनि खुब रमाएर खेल्थें,’ उनी सुनाउँछिन् ।

१/२ दिन तिनै दाइहरुसँग फुटबल खेल्दा कसैले केही भनेन । तर, जब उनी दिनहुँ त्यसैमा तल्लिन हुन थालिन्, गाउँघर, छिमेकीले उनको परिवारलाई ‘कान फुक्न’ थाले, ‘ओई ! तिमीहरुका छोरी बिग्रिन आँटी है । खाली केटाहरुसँग बल खेलेर बस्छे ।’

त्यतिबेला गाउँमा सबैभन्दा चर्चित थियो, मिस्टर युड नामको फुटबल । त्यही चाम्रो बल उनी केटाहरुसँग खेल्थिन् ।

‘मलाई चाहिँ कसैले केही भन्थेनन् । तर, घरमा आएर मम्मीबाबालाई कुरा लगाउँथे,’ उनी भन्छिन्, ‘तर, उनीहरुको कुराले मलाई केही फरक परेन ।’

टर्निङ प्वाइन्ट

त्यतिबेला उनको गाउँमा अरु केटीहरुले फुटबल खेल्दैनथे । महिला फुटबल प्रतियोगिता हुने त कुरै आएन । तर, एक दिन उनले सुनिन्, लमजुङको घले गाउँमा महिला फुटबल टुर्नामेन्ट हुने भयो । निकै प्रयास गरेपछि उनले त्यसमा खेल्न जाने अवसर पनि पाइन् ।

उनले त्यो प्रतियोगितामा आफ्ना स्कुलका साथीहरुलाई पनि बटुलेर लगेकी थिइन् ।

‘स्थानीय प्रतियोगिता हो, खेल्छु फर्किन्छु भन्ने सोच थियो, सावित्रीको । तर, कथामा अर्कै मोड आइदियो । प्रतियोगितामा भेट भए, एन्फा रेफ्री शुक्र लामा । ‘आदरणीय दाइ शुक्र लामासँगको भेट नै मेरो जीवनको टर्निङ प्वाइन्ट बन्यो,’ उनी भन्छिन् ।

लामाले सावित्रीको खेल मन पराएपछि २०७१ मा उनी काठमाडौं आइन्, फुटबलकै लागि । काठमाडौं आएपछि मात्रै उनले थाहा पाइन्, ‘फुटबल खेल्न पनि छुट्टै जुत्ता हुँदो रहेछ । सामान बोक्न झोला पनि हुँदो रहेछ !’ काठमाडौंमा पहिलोपटक बल खेल्न जाँदा प्लास्टिकको झोलामा जुत्ता कोचेर गएकी थिइन् उनी ।

काठमाडौंमा खेल्न सुरु गर्दा एपीएफका सिनियर खेलाडी जमुना गुरुङ, अनु लामालगायतले उनलाई निकै सहयोग र हौसला दिए ।

‘गाउँमा कुनै पनि ट्रेनिङ लिएकी थिइनँ । पहिलोे पटक मलाई काठमाडौंमा रत्नकाजी महर्जनले ट्रेनिङ दिनुभयो,’ उनी सुनाउँछिन्, ‘उहाँहरुको टे«ेनिङले नै एपीएफको टिममा पर्न सफल भएँ ।’

०७१ सालमै प्रधानसेनापति महिला राष्ट्रिय लिग भयो । त्यही लिगबाट उनले व्यवसायिक खेलयात्रा सुरुआत गरिन् । त्यतिबेला पनि उनको सिनियर प्लेयरमा अनु लामा नै थिइन् ।

२०१४ मै पाकिस्तानमा भएको तेस्रो साफ च्याम्पियनसिपमा सावित्रीले राष्ट्रिय टिमबाट डेब्यू गरिन् । उनले खेलेको पहिलो खेल भुटानविरुद्ध थियो ।

‘वैकल्पिक खेलाडीमा थिएँ । खेलको ८५ औं मिनेटमा मैदान छिरें र फस्ट टचमै गोल गर्न सफल भएँ,’ उनी सम्झिन्छिन्, ‘डेब्यू गेममै गोल गरेपछि मलाई प्लस प्वाइन्ट भयो ।’ त्यसपछि उनले पछि फर्केर हेर्नु परेन ।

अनु लामाकै कीर्तिमान भंग

सावित्रीकी सिनियर अनु लामाको कीर्तिमान उनले भंग गरेकी छन् । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा ३५ गोलसहित सर्वाधिक गोलकर्ता रेकर्ड अनुसित थियो छ । तर, पोखरामा भइरहेको १३ औं साग अन्तर्गत महिला फुटबल प्रतियोगितामा सावित्रीले अनुलाई ३ गोलले पछि पारिन् । प्रतियोगिताकै पहिलो ह्याट्रिक दिँदै सावित्रीले आफ्नो गोलसंख्या ३८ पुर्‍याएकी छन् ।

‘यो प्रतियोगितामा पहिलो म्याचमै नयाँ कीर्तिमान बनाउँछु भनेर सोचेकी थिएँ । तर, पूरा हुन पाएन,’ उनले भनिन्, ‘माल्दिभ्सविरुद्धको खेलमा ४ देखि ५ गोलसम्मको लक्ष्य राखेको थिएँ, तीन गोलमा पनि खुशी छु ।’

भारतसँग बदलाको आशा

आफ्नै देशभित्र आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग)मा महिला फुटबलको उपाधि नेपालले जित्नेमा आशावादी छिन् सावित्री ।

दुई म्याचमा जित निकालिसकेको नेपालले शनिबार सबैभन्दा बलियो टिम भारतसँग समूह चरणको अन्तिम म्याच खेल्दै छ । भारतसँगै नेपालले फाइनल खेल्नुपर्ने पनि निश्चित नै छ ।

पूर्व राष्ट्रिय फुटबल खेलाडी हरि खड्काले प्रशिक्षकको जिम्मा लिइसकेपछि नेपाल र भारत ३ पटक भिडे । त्यसमध्ये १ खेलमा भारतले जित्यो, १ खेल बराबरीमा रोकियो र १ खेलमा नेपालले जित हात पार्‍यो । सावित्री भन्छिन्, ‘१२ औं सागमा आफ्नो होम ग्राउन्डमै भारतले हामीलाई जितेको थियो । अब हाम्रो गृह मैदानमा अघिल्लो सागको बदला लिनेछौं ।’

तस्वीर : युनिश गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment