Comments Add Comment

न्यायपरिषद सदस्यलाई न्यायाधीश नबनाउन बारको चेतावनी

२० मंसिर,काठमाडौं । न्यायाधीश नियुक्ति गर्ने न्यायपरिषद् सदस्यलाई नै सर्वोच्च अदालतको न्यायाधीश बनाउने कुरा अश्वीकार्य हुने भन्दै नेपाल बार एशोसियसनले कानूनमन्त्री र न्यापरिषद सदस्यहरुको ध्यानाकर्षण गराएको छ ।

बार पदाधिकारी सहितको टोलीले शुक्रबार न्यायपरिषद सदस्य समेत रहेका कानूनमन्त्री उपेन्द्र यादव र परिषदमा बारका प्रतिनिधि रामप्रसाद सिटौलालाई भेटेरै न्यायाधीश नियुक्ति गर्ने व्यक्ति आफैं न्यायाधीश बन्ने कुरा बारले पहिलेनै अश्वीकार गरिसकेको जनाएको हो ।

महासचिव लिलामणी पौडेल र कोषाध्यक्ष रुद्र पोखरेल सहितको टोलीले परिषद सदस्य सिटौलालाई बारको धारणा सुनाउँदै यदि बारको निर्देशन विपरित गएमा अर्को कदम चाल्ने चेतावनी समेत दिएको छ । सिटौला न्यायपरिषदमा नेपाल बारको सिफारिसमा सदस्य भएका हुन् ।

सर्वोच्च अदालतको न्यायाधीश हुनेगरि परिषद सदस्य पदमप्रसाद वैदिकले बिहीबार राष्ट्रपति समक्ष राजिनामा दिएका थिए । उनी सरकारबाट सिफारिस भएका सदस्य हुन् । बिहीबार नै न्यायपरिषद बैठकमा प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले वैदिकलाई न्यायाधीश सिफारिस गर्ने प्रस्ताव राखे पनि यादव र अर्का बरिष्ठ न्यायाधीश दिपक कार्कीको असहमतिका कारण निर्णय भएको छैन ।

यो पनि पढ्नुहोस सर्वोच्चको न्यायाधीश बन्न न्यायपरिषद सदस्यबाट पदम वैदिकको राजीनामा

परिषदको अर्को बैठक मंसिर २५गते बस्दैछ । बार पदाधिकारीले जो न्यायाधीश नियुक्ति गर्ने ठाउँमा छ,उही न्यायाधीश हुने परम्पराले न्यायपालिका ध्वस्त हुने भन्दै विहिवारै विज्ञप्ति जारी गरेको थियो । अध्यक्ष चण्डेश्वर श्रेष्ठ सुर्खेतमा रहेका महासचिवको नेतृत्वमा बार टोलीले परिषद सदस्यहरुलाई भेटेर दबाब दिएको हो ।

बार पदाधिकारीसँगको भेटमा परिषद् सदस्य सिटौलाले भने प्रधानन्यायाधीश राणा कुनै पनि हालतमा वैदिकलाई न्यायाधीश बनाउने पक्षमा उभिएकाले आफूले प्रधान न्यायाधीशसँग सिंगौरी खेल्न नचाहेको प्रष्ट पारेका छन् । उनले यसअघि आफूले परिषदमा बसेर दुई चारजना न्यायाधीश आफ्नो सिफारिसका पार्न सफल भएको भन्दै परिषद अध्यक्षसँग बिमति राखेर त्यहि पनि गुम्ने बताएका थिए ।

कानूनमन्त्री यादवले भने आफूले बिहीबारको बैठकमा न्यायपरिषद सदस्यलाई नै न्यायाधीश नियुक्ति गर्ने कुराको बिरोध गरेको जानकारी बारलाई गराएका छन् । उनले यसमा राजनीतिक चलखेल समेत भएको भन्दै बारले राजनीतिक नेतृत्वलाई समेत खबरदारी गर्नुपर्ने बताएको भेटमा सहभागी एक सदस्यले अनलाइनखबरलाई बताए ।

बारले न्यायपरिषदका अर्का सदस्य दिपक कार्कीलाई पनि भेटेर आफ्नो धारणा राख्ने भएको छ । यसअघिका बारका प्रतिनिधि बनेर गएका उपेन्द्र केशरी न्यौपानेले पनि बैदिककै शैलीमा राजिनामा दिएर सर्बोच्चको न्यायाधीश बन्न खोजेका थिए । बारले बिरोध गरेपछि उनी न्यायाधीश हुन पाएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment