+
+

माघको पहिलो हप्तासम्म राष्ट्रियसभाको निर्वाचन !

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २० गते १९:५२

२० मंसिर, काठमाडौं । निर्वाचन आयोग राष्ट्रियसभाको आगामी निर्वाचन माघको पहिलो हप्ता गर्ने गरी तयारी सुरु गरेको छ ।

संघीय संसद् सचिवालयले राष्ट्रियसभा निर्वाचनका लागि तयारी गर्न अनुरोध गर्दै आयोगलाई पत्राचार गरेको थियो । ‘१४ मंसिरमा उपनिर्वाचन सम्पन्न गरेपछि राष्ट्रियसभाको निर्वाचनका लागि आन्तरिक तयारीमा जुटेका छौं’ प्रवक्ता राजकुमार श्रेष्ठले अनलाइनखबरसँग भने ।

आयोगले यही विषयमा आगामी सोमबार राजनीतिक दलसँग परामर्श गर्न लागेको छ । राजनीतिक दलहरुसँगको परामर्शका आधारमा निर्वाचनका लागि सरकारलाई मिति तोक्न सिफारिस गरिने प्रवक्ता श्रेष्ठले बताए ।

आयोग आगामी माघ पहिलो हप्तासम्म राष्ट्रियसभाको निर्वाचन गराउन सक्ने अवस्थामा रहेको एक आयुक्तले बताए ।

आगामी माघ १५ गतेभित्रै राष्ट्रियसभाको निर्वाचन सक्नुपर्ने बाध्यता छ । ५९ सदस्यीय राष्ट्रियसभाका १९ जनाको फागुन २० गते पदावधि सकिँदैछ । रााष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी प्रावधान छ ।

हामी माघ पहिलो हप्तासम्म निर्वाचन गर्न सक्ने अवस्थामा छौं र राजनीतिक दलहरुबाट कस्तो परामर्श आउँछ सोही अनुसार जाने हो । छलफलमा आयोगको तयारी के छ भन्दा माघ पहिलो हप्तासम्म गर्न सक्छौं भन्ने हाम्रो राय रहन्छ’ ती आयुक्तले भने ।

राष्ट्रियसभाका सदस्यको पहिलो पटक एक तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षमा पदावधि समाप्त हुनेछ । रिक्त १९ सदस्यमध्ये १८ जना निर्वाचनको माध्यमबाट चयन हुनेछ भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

सदस्यहरु सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्र लाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पहिलो दुई वर्षको कार्यकाल पूरा हुँदैछ ।

अर्थमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य डा युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनीत हुने छ । उनी यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए ।

फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने सदस्यहरुमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका ९, नेपाली काँग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका एक जना छन् । राष्ट्रियसभा सदस्य चयनका लागि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?