
२१ मंसिर, धनुषा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरधामस्थित कभर्ड हल नजिकै भएको पटाका बिष्फोटमा एक बालक घाइते भएका छन् । पटाका बिष्फोटबाट जनकपुरधाम उपमहानगरपालिका १३ निवासी ११ वर्षीय आलोक राउत घाइते भएका हुन् ।
कुस्ती प्रतियोगिताको उदघाटन सत्रमा बाहिर पटाका पड्काएर आतिसबाजी गरिएको थियो । आतिसबाजीका क्रममा पड्किन बाँकी रहेको पटाका पड्काउने क्रममा ती बालक घाइते भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए ।
उनको दुवै हातका औंला चुँडिएका छन् । गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरधाममा प्राथमिक उपचार गरी थप उपचारका लागि धरानतर्फ लगिएको प्रमुख जिल्ला अधिकारी कणेलले बताए ।
उनका अनुसार राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नै आतिसबाजीको नाममा शुक्रबार पटाकाहरु पड्काएको थियो । आफूसँग आतिसबाजीको स्वीकृति लिन आउँदा कसले पड्काउने, पटाकाको स्रोत के हो ? जस्ता प्रश्न सोधेको र त्यस क्रममा यो पड्काँदा आन्तरिक सुरक्षाको जिम्मेबारी आयोजकले नै लिनुपर्ने भनेर आफूले बताएको कणेलले बताए ।
राखेपका कर्मचारीकै लापरबाहीका कारण पटाका छुटेको बताउँदै कणेलले घाइतेको उपचारका लागि प्राथमिकतामा राखिने बताएका छन् । उनले खेलकुदलाई शान्तिपूर्ण तवरबाट अगाडि बढाउने र आतिसबाजीमा लापरबाही गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउने बताएका छन् ।
प्रतिक्रिया 4