Comments Add Comment

कुस्तीमा संगीताले जितिन् ऐतिहासिक स्वर्ण

२१ मंसिर, जनकपुरधाम । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छन् ।

५५ किलो तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले बंगलादेशकी सकिरा सरकाररिनेलाई ४-१ ले हराउँदै स्वर्ण जितेकी हुन् ।

सागको कुस्तीमा नेपालले जितेको यो नै पहिलो स्वर्ण हो ।

१९ बर्षीया संगीताले कुस्ती खेल्न थालेको दुई बर्ष मात्रै भएको छ । उनी भनिन्, ‘गुरुहरुले राम्रोसँग प्रशिक्षण दिएका कारण आफू स्वर्ण जित्न सक्ने कल्पना गरेकी थिएँ ।’

स्वर्ण जितेपछि उनी भक्कानिइन् । पारिवारिक पृष्ठभूमिबारे कुरा गर्दा साथ उनले आँशु थाम्न सकिनन् । ‘म आमाको नाम मात्रै भन्छु’ उनले भनिन्, ‘आमाको नाम तानादेवी धामी हो ।’

आफूसहित चार दिदीबहिनी सानै छँदा बुवाले अर्काे विवाह गरेर गएको भन्दै दुःख, सुख गरेर आमाले हुर्काएको बताइन् । ‘अहिले पनि घरमा कमाउने कोही छैन’, उनीको आँखा रसायो ।

‘आज मेरी आमा साह्रै खुशी बन्नुहुन्छ होला’ उनले भनिन्, ‘आमाले बुवाका कारण खेपेको दुःख पक्कै कम हुन्छ ।’

नेपालको पदक नौ पुग्यो 

संगीताको स्वर्णसँगै कुस्तीमा नेपालको पदक संख्या दुई रजत र ६ कास्यसहित ९ पुगेको छ । दोस्रो दिन एक स्वर्णसहित एक रजत र तीन कास्य पदक प्राप्त गरेको हो ।

महिलातर्फ ५७ किलो तौल समूहमा अम्बिका भण्डारीले रजत पदक जितेकी छन् । पुरुष ७० किलो तौल समूहमा सुरेश चुनरा, ७९ किलो तौल समूहमा बुनीलाल यादव र १ सय २५ किलो तौल समूहमा राज यादवले कास्य पदक जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment