Comments Add Comment

किन अशान्त भयो कोहलपुर ?

२२ मंसिर, बाँके । कोहलपुर–१० कि प्रकृति चन्द आइतबार करिब साढे ९ बजे बुबाको स्कुटरमा बसेर त्रिभुवन माध्यमिक विद्यालय पुगिन् । स्कुटरबाट ओर्लिएर गेटतर्फ के बढ्न खोजेकी थिइन्, पछाडिबाट हुत्तिँदै आएको ट्रकले ठक्कर दियो

कक्षा ७ मा अध्ययनरत चन्दको खुट्टामा कुल्चिएर ना २ ख ९४५९ नम्बरको ट्रक अघि बढ्यो । दुर्घटनास्थल नजिकै रहेको विद्यालयका विद्यार्थीहरुले ट्रकलाई घेरा हालिहाले ।

केहीबेरमा इलाका प्रहरी कार्यालय, कोहलपुरबाट सादा पोशाकमा खटिएका एक अधिकृत पनि पुगे ।

शिक्षक ऋषिराज शर्माका अनुसार उनले विद्यार्थीलाई धम्क्याउँदै कुटपिटको प्रयास गरे । शिक्षक पुगेर सादा पोसाकमा रहेका प्रहरीलाई भिडबाट बाहिर निकालेका थिए । त्यस क्रममा शिक्षकमाथि पनि दुर्व्यहार भयो । यो घटनाले विद्यार्थी झन् आक्रोशित भए र दुर्घटना गराउने ट्रकमा आगो लगाइदिए ।

प्रहरीले भने सवारी चालकमाथि हातपात हुनसक्ने भएकाले सादा पोसाकमा रहेका प्रहरी गएको दाबी गरेको छ ।

भीडले ढुंगामुढा गर्न थालेपछि तनाव सिर्जना भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय बताउँछन् । ‘स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास र हवाई फायर पनि गरिएको छ’, उनले अनलाइनखबरसँग भने ।

विद्यार्थीमाथि प्रहरी दमन

प्रकृति अध्ययनरत विद्यालयकी प्रध्यानाध्यापकक देउका थापा प्रहरीले अनावश्यक रुपमा विद्यार्थीमाथि दमन गरेको बताउँछिन् । उनले भनिन्, ‘गेटभित्र रहेका बच्चालाई पनि प्रहरीले तानातान गरेको शिक्षकहरुले बताउनुभएको छ ।’

उनकाअनुसार स्थितिलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले गोली चलाउन थालेपछि सर्वसाधारण र विद्यार्थीले पनि ढुंगा हानेका थिए ।

ढुंगा हानाहान भएपछि कोहलपुरका डीएसपी हेमराज शाही नेतृत्वको प्रहरी टोली विद्यालय अगाडि पुगेको कोहलपुर–१९ का वडा सदस्य ओमप्रकाश बर्नावाल बताउँछन् ।

प्रधानाध्‍यापक थापाका अनुसार ९ जना विद्यार्थी पनि घाइते भएका छन् । ‘कसैलाई गोलीको छर्रा लागेको छ भने कोहीलाई प्लास्टिकको गोलीले लाग्यो’, उनले अनलाइनखबरसँग भनिन् ।

‘स्थानीय हस्पिटलमा उपचार भइरहेको छ । अहिले म पनि अस्पतालमै छु’, उनले थपिन् ।

शिक्षकहरुका अनुसार १२ कक्षासम्म पढाइ हुने विद्यालयमा अहिले करिब २४ सय जना अध्ययरत छन् ।

प्रहरीले पनि कोहलपुरका डीएसपी शाहीसहित ९ जना घाइते भएको विवरण सार्वजनिक गरेको छ ।

अहिले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, राजनीतिक दलका प्रतिनिधिसहितको सर्वदलीय बैठक बसिरहेको छ । स्थिति नियन्त्रित नभएर कर्फ्यू आदेश जारी हुने जनाइएको छ ।

घाइते बालिकालाई भने हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको छ । उनको ग्वार्कोस्थित बीएण्डबी हस्पिटलमा उपचार सुरु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment