+
+
Shares

काभ्रेमा २१ फिट अग्लो बुद्धमूर्ति निर्माण  

रासस रासस
२०७६ मंसिर २२ गते १०:३४
Photo Credit : RSS

२२ मंसिर, काभ्रेपलाञ्चोक ।  ‘भ्रमण वर्ष–२०२०’ लक्षित पर्यटकीयस्थल प्रवर्द्धन एवं बुद्ध धर्मावलम्बीको पवित्रस्थलका रूपमा विकास गर्न चौँरीदेउराली गाउँपालिका–८ विर्तादेउरालीमा अग्लो बुद्धमूर्ति निर्माण गरिएको छ । एक्काइस फिट अग्लो उक्त मूर्ति साङ्गे च्योम्दान्दे ह्युल्सा सेवा समाजले निर्माण गरेको हो ।

बुद्ध प्रतिमाले स्थानीय पर्यटन प्रवर्द्धन एवं कला, धर्म–संस्कारलाई जगेर्ना गर्दै ‘शान्ति’को प्रतीकका रूपमा स्थापित हुने अपेक्षा गरिएको समाजका अध्यक्ष स्थानीयवासी राम घिसिङले बताए । उनले भने, “आउँदो भ्रमण वर्षमा पर्यटक लक्षित गर्दै अगावै बुद्धमूर्ति बनाएका हौँ ।”
मूर्ति निर्माणपछि समाजले हाल प्रचारप्रसार गर्दै पर्यटकलाई घुमाउने, स्थानीय कलासंस्कृति प्रदर्शन गर्ने तयारी गर्ने, घरबास (होमस्टे) व्यवस्थापनमा लाग्ने योजना बनाएको छ । पर्यटकलाई विर्तादेउराली पुर्‍याउन सडक स्तरोन्नतिसँगै पुष्पलाल लोकमार्ग हुँदै जाने ट्रेकिङ रुट तयार गरिने समाजका अध्यक्ष घिसिङले बताए ।

समाजले रु ३२ लाखको लागतमा मूर्ति निर्माण गरेको हो । समाजले आउँदो वर्ष विर्तादेउरालीमै दृश्यावलोकन स्तम्भ र हजार सिँढी बनाउने योजना बनाएको घिसिङले बताए । उनका अनुसार बुद्धमूर्ति निर्माणपछि स्थानीय बुद्ध धर्मावलम्बीमा धर्मप्रति आस्था बढ्ने विश्वास गरिएको छ ।

गाउँपालिका अध्यक्ष दीननाथ गौतमले बुद्धमूर्ति गाउँपालिकाको पर्यटकीय सम्पत्तिका रूपमा विकसित भएको बताए । “यसले भ्रमण वर्षलाई थप ऊर्जा प्रदान गर्नेछ, हामी मूर्ति भएको स्थललाई पर्यटकीयस्थलका रूपमा विकास गर्नेछौँ”, उनले भने । वडाध्यक्ष धनबहादुर लामाले स्थानीय उत्पादनलाई पर्यटनसँग जोडेर लैजान मूर्ति निर्माणका सहयोग गरिएको बताए ।

मूर्तिको ३ नं प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले शनिबार एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । कार्यक्रममा काभ्रेपलाञ्चोकस्थित प्रतिनिधिसभा सदस्य नविना लामा, ३ नं प्रदेशसभा सदस्य रत्न ढकाल, पूर्वराज्यमन्त्री सूर्यमान दोङलगायतले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन स्थानीय कलासंस्कृतिले ठूलो सहयोग गर्ने धारणा राखेका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?