Comments Add Comment

तासमेनियाको आकासमा पनि ‘रातो र चन्द्र सूर्य’

२३ मंसिर, अष्ट्रेलिया । दर्शकले भरिएको तासमान हलभित्र जतिबेला ‘रातो र चन्द्र सूर्य’ गुन्जियो, त्यतिबेलै हल बाहिर अष्ट्रेलियाको झण्डासँगै नेपालको विशाल झण्डा फर्फराइरहेको थियो।

नेपालभन्दा धेरै परको अष्ट्रेलिया अनि अष्ट्रेलियाको मूल भूमिभन्दा अझ पर समुद्रको यो टापुमा अष्ट्रेलियाको समकक्षमै नेपाली झण्डा फहरिएको देखिनु नेपाली मनको लागि गौरवबोध थियो। त्यसैले आइतबार बेलुकी होबार्टको यो कार्यक्रमस्थलमा आइपुगेका प्रायः दर्शकहरु हलभित्र पस्नुभन्दा अघि धमाधम नेपाली झण्डा सामुन्ने ‘सेल्फी’ खिच्दै रमाइरहेका देखिन्थे।

अढाइलाख जनसंख्या पनि नभएको अष्ट्रेलियाको सबैभन्दा शान्त प्रादेशिक राजधानीमा पछिल्लो समय विस्तारै नेपाली संख्या पनि बढ्न थालेको छ। यस्तो अवस्थामा तासमान हलरहेकै रेस्टप्वाइन्ट होटलमा केहीदिन अघि मात्र नेपथ्य टोली आइपुगेको थियो। टोली आइपुग्नेबित्तिकै नेपालीहरुको सम्मानमा होटलले प्रवेशविन्दुमै रहेको आफ्नो राष्ट्रिय झण्डाकोछेवैमा उत्रै आकारको नेपाली झण्डा फहराइदिएको थियो।

‘नेपथ्य आउनुअगावै हामीले होटल व्यवस्थापनलाई संसारभर फैलिएका नेपालीहरुका निम्ति यस ब्याण्डको महत्त्व अवगत गराइदिएका थियौं’, स्थानीय आयोजक टोलीका छत्र थापा भन्छन्, ‘त्यसपछि उनीहरुले नै यसरी झण्डा फहराइदिने निर्णय गरिदिँदा ब्याण्डमात्र नभएर यहाँ बसोबास गर्ने सम्पूर्ण नेपालीले सम्मानित महसुस गरेका छौं।’
निर्धारित समयमै बेलुकीको ठीक सात बजे नेपथ्य कन्सर्टको चीरपरिचित घडी रोकिनेबित्तिकै ‘सा कर्णाली’ गीतको म्युजिक भिडियो पर्दामा बग्न थाल्यो । त्यसपछि कवि तुलसी ‘दिवस’को रचनामा ब्याण्डले हालै तयार पारेका नयाँ गीत ‘सम्झिराख’को भिडियो देखाइयो। त्यसलगत्तै सुरु कन्सर्टभर नेपथ्यले आफ्नो होबार्टको पहिलो कार्यक्रमका दर्शकहरुलाई पुराना र नयाँ गीतहरुको संगालो सुनाएको थियो।

‘नेपथ्यले तासमानियामा बसोबास गर्दै आएका हामीमाझ एकसाथ पर्वको माहोल र नेपालीपनको गौरवबोध बोकेरल्याइदिएको छ’, रोजिना ताम्राकार भनिरहेकी थिइन्, ‘कन्सर्टसँगै यसरी जमघट हुने विरलै मौका जुराइदिएकामा धन्यवाद पनि दिन चाहन्छौं।’

तीन वर्षअघि गरिएको जनगणनापछि ‘अष्ट्रेलियन व्युरो अफ स्टाटिस्टिक्स’ले तासमानिया राज्यमा अंग्रेजी र चिनियाँपछि सबैभन्दा बढी बोलिने भाषा नेपाली भनेर उल्लेख गरेको थियो। यसरी उल्लेख्य संख्यामा बसोबास गर्दै आएका नेपालीहरूमाझ पछिल्लो समय नेपाली भाषी भुटानी शरणार्थीलाई समेत यता पुनस्र्थापना गराएपछि यस्तो तथ्यांक निस्केको बताइन्छ।

आइतबारको कन्सर्टमा दर्शकहरुको हुलमै सन्देश परियार र जयराजघले पनि थिए। ‘हामी हुर्किएको नै नेपथ्यका गीतहरु सुनेर हो’, जयराज भन्दै थिए, ‘यहाँ पनि बेलाबेलामा कार्यक्रम आयोजना हुँदा हामीले नेपथ्यकै गीत गाएर सुनाउने गरेका छौं ।’

तासमानियामा बर्सेनि संगीत र कलाको बृहत् ‘डार्क मोफोफेस्टिबल’ आयोजना हुनेगरेको छ। पछिल्लोपटक त्यस महोत्सवमा आफूहरुले नेपथ्यकै गीत गाएर सुनाएको जानकारी पनि जयराज र सन्देशले दिए। ‘जसको गीत गाएर यहाँका दर्शकलाई सुनाउनुमा हामी रमाउँथ्यौं, त्यही ब्याण्डलाई यहाँ पाउँदा कम्ती खुसी लागिरहेको छैन’, जयराज भनिरहेका थिए, ‘यो सपना साकार भएजस्तै क्षण हो।’

होबार्टमै क्रियाशील उनीहरुको ब्याण्डमा जयराज गाउने गर्छन् भने सन्देश गितार बजाउँछन्।

‘नेपथ्यको कन्सर्ट योसमेत गरेर मैले चारपटक हेर्न पाएँ’, सन्देश भनिरहेका थिए, ‘पहिलोपटक मेरो घर दमकमा शान्तिको लागि शिक्षा अभियानमा हेर्नपाएको थिएँ भने त्यसपछि लगातार दुइवटा कन्सर्ट सिड्नीमा हेरेको थिएँ। नेपाली संगीत क्षेत्रमा नेपथ्यजस्तो ब्याण्ड पाउँदा हामीजस्ता संगीतकर्मीहरुलाई गौरव महसुस हुन्छ’, सन्देशले भने।

यस वर्ष जारी अष्ट्रेलिया यात्राका दौरानमा तासमानियाको यो कन्सर्ट शृंखलामध्येको चौथो प्रस्तुति थियो। यसअघि ब्रिसबेन, डार्बिन र एडिलेडमा सफलताका साथ कन्सर्ट सम्पन्न भइसकेका छन्।
तासमानियामा नेपाली लोक रक घन्काएसँगै नेपथ्य यात्रा अब पृथ्वीको दक्षिणी गोलाद्र्धमै उसका सबैभन्दा धेरै प्रशंसकहरुले भरिएको सहर सिड्नीको हुनेछ। अष्ट्रेलियाकै पहिलो राज्य न्यू साउथ वेल्सको राजधानी एवं आर्थिक केन्द्र सिड्नीमा ब्याण्डले डिसेम्बर १४ तारिखको दिन आफूलाई प्रस्तुत गर्दैछ। यो कन्सर्ट प्रसिद्ध हार्बर ब्रिजकै छेउमा रहेको ‘लुना पार्क’स्थित बिग टप अडिटोरियममा तय गरिएकोछ। नेपथ्यले यसअघि पनि उक्त हलमा आफूलाई केहिपटक प्रस्तुत गरिसकेको छ।

यस वर्षको नेपथ्य अष्ट्रेलिया शृंखलाको अन्त्य भने मेलबर्नको क्राउन स्थित ‘द पाम्स’मा पुगेर हुनेछ। नेपथ्यको यस वर्षको यात्रा संयोजन सिड्नीस्थित ‘नेपाली टच’ले गर्दैआएको छ भने तासमानियामा चाहिँ ‘तास इभेन्ट’ले आयोजना गरेको थियो।

नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई मञ्चमा, ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य रमादलमा शान्ति रायमाझीले सघाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment