Comments Add Comment

उपमेयरको विश्लेषण : विभीषणका कारण धरानको चुनाव हारियो

मलाई असफल देखाउन खोज्दा पार्टीले हार्‍यो- उपमेयर मञ्जु भण्डारी

२३ मंसिर, धरान । ‘रामायणमा कथा छ, रावणका भाइ विभीषणको । धरानमा नेकपाभित्र त्यस्तै विभीषणहरु देखा परे, जसका कारण उपनिर्वाचनमा पार्टीले मेयर पद गुमाउनुपर्‍यो ।’

यो विश्लेषण हो, धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीको ।

नेकपा नेतृ भण्डारी दुई वर्षअघि उपमेयरमा निर्वाचित हुँदा मेयरमा नेकपाकै तारा सुब्बाले जितेका थिए । फोक्सोको निमोनियाका कारण गत वर्ष ग्राण्डी अस्पतालमा मेयर सुब्बाको निधन भयो । उपमेयर भण्डारीले यही मंसिर १७ गतेसम्म लगभग एक वर्ष कार्यवाहक मेयर बनेर धरान उपमहानगरपालिका हाँकिन् ।

मंसिर १४ मा सम्पन्न उपनिर्वाचनपछि नेपाली कांग्रेसबाट विजयी बनेका तिलक राईले मंसिर १८ गतेदेखि मेयरको कार्यभार सम्हालिसकेका छन् । नेकपाको एकल नेतृत्व रहेको उपमहानगरपालिका अब नेपाली कांग्रेस र नेकपाले मिलिजुली चलाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

६० वर्षदेखि वामपन्थीको ‘रेड एरिया’ का रुपमा परिचित धरानमा नेकपाले अनपेक्षित हार व्यहोर्नुको भित्री कारण के हो ? यसको रौंचिरा विश्लेषणका लागि नेकपाले अहिले २० वटै वडा कमिटीमा समीक्षा बैठकहरु गरिरहेको छ । केन्द्रमा पनि नेकपा नेताहरुले उपनिर्वाचनको परिणामबारे समीक्षा गर्दैछन् ।

उपमेयर भण्डारीमाथि आरोप

नेकपाको एउटा खेमाले धरानको मेयरमा प्रकाश राई हार्नुका पछाडि उपमेयर मञ्जु भण्डारीको दोष रहेको आरोप लगाएको छ । उपमेयर भण्डारीले नगरपालिकामा राम्रोसँग काम गर्न नसकेको, स्थानीयवासीको ढाड सेकिने गरी कर बढाएको, जनता र कार्यकर्तालाई रिझाउन नसकेको र पार्टीका नेताहरुसँग समन्वय नगरी मनपरी ढंगबाट अघि बढेको आरोप नेकपाभित्रैको खेमाले लगाएको छ ।

उपनिर्वाचनका बेला विपक्षी नेपाली कांग्रेसले पनि उपमेयर भण्डारीमाथि यस्तै प्रकृतिको आलोचना गरेको थियो ।

धरान उपमहानगरपालिकाले निर्धारण गरेको करको दरप्रति धराने जनता असन्तुष्ट रहेका र यही कारणले नेकपाले जनसमर्थन गुमाएको नेकपाका केही जिल्ला नेताहरुको निश्कर्ष  छ । कांग्रेसले पनि कर घटाउने मुद्दालाई नै आफ्नो चुनावी एजेण्डा बनाएको थियो ।

उपनिर्वाचनको मतगणना सकिएकै दिन नेकपा धरान उपमहानगर निर्वाचन परिचालन कमिटीको बैठक बस्यो । सो बैठकले एउटा निर्णय गर्‍यो, ‘करका दरहरु घटाउन नेकपा धरान उपमहानगर संसदीय दललाई निर्देशन दिने ।’

निर्वाचन परिचालन कमिटीले संसदीय दललाई करको दर घटाउन निर्देशन दिन सक्छ या सक्दैन, त्यो बेग्लै विषय हो, तर चुनावको नतिजा आइनसक्दै चालु आर्थिक वर्षको करको दर घटाउन नेकपाले जनप्रतिनिधिलाई निर्देशन दिनु निकै नै रोचक प्रसंग हो ।

बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिमा निर्वाचनका सन्दर्भमा जनताको घरदैलोमा जाँदा विभिन्न तहबाट लागू गरिएका करहरुप्रति जनताको व्यापक गुनासाहरु र असन्तुष्टिहरु पाइएकाले जनताको अभिमत र सुझावको उच्च सम्मान गर्दै करका दर पुनरावलोकन गर्न भनिएको छ ।

यो पनि पढ्नुहोस धरानको ‘लालकिल्ला’ तोड्ने तिलक राई : तेस्रो प्रयासमा सफल

‘विभिन्न तहबाट लागू गरिएका करप्रति जनतामा व्यापक गुनासाहरु सुनिएको’ भन्ने नेकपा नेता बस्नेतको विज्ञप्तिले केवल धरानलाई मात्रै संकेत गरेको छैन । वक्तव्यमा विभिन्न तहबाट भनिएकाले केन्द्र र प्रदेशले तोकेको करप्रतिसमेत जनतामा असन्तुष्टि छ भन्ने बस्नेतले संकेत गरेका छन् ।

उपमेयरको विश्लेषण : मलाई असफल देखाउन खोज्दा पार्टीले हार्‍यो

उपमेयर भण्डारीचाहिँ चालु आर्थिक वर्षमा धरान उपमहानगरपालिकाले करको दर घटाउन नसक्ने बताउँछिन् । ‘चालु आर्थिक वर्षमा कर घटाउँदा विनियोजन विधेयक प्रभावित हुन्छ, आगामी आर्थिक वर्षमा मात्रै यसलाई पुनरावलोकन गर्न सकिन्छ ।

तर, धरान उपमहानगरपालिकाले निर्धारण गरेको करको दर स्थानीय पार्टी, संसदीय दल, उद्योगी व्यवसायी, यातायात व्यवसायी सबैको सहमतिमै तय गरिएको भण्डारीले अनलाइनखबरलाई बताइन् । धरान उपमहानगरपालिकाले तोकेको कर संविधान र कानूनविपरीत नरहेको, अझ यसमा सरोकारवालाहरुसँगको छलफल र समर्थनबाटै तय गरिएको भण्डारीको भनाइ छ ।

उपनिर्वाचनको उम्मेदवारी दर्ता कार्यक्रममा उम्मेदवार प्रकाश राईसँगै उपमेयर मञ्जु भण्डारी

उपमेयर भण्डारी पूर्वएमालेमा केपी ओली पक्षकी नेतृ हुन् । तर, सुनसरी एवं धरान नगर कमिटीमा माधव नेपाल पक्षको बहुमत छ । उपमहानगरपालिकामा जितेका वडासदस्य र वडाध्यक्षहरुमा पनि ओली पक्ष अल्पमतमा र माधव नेपाल पक्ष बहुमतमा भएकाले उपमहानगरको कार्यपालिकामा आफूलाई पार्टीभित्रैबाट असहयोग हुने गरेको उपमेयर भण्डारी बताउँछिन् ।

‘कार्यपालिकामा नेकपाकै बहुमत भए पनि म एक्लीजस्तै छु, नयाँ र अनुभव कम भएकाले गल्ती नहोस् भनेर पार्टीलाई, संसदीय दललाई नसोधी कुनै काम गरिनँ,’ उपमेयर भण्डारी भन्छिन्, ‘अहिलेसम्म धरान नगरपालिकामा कुनै विवादास्पद निर्णयहरु भएनन् । मैले धेरै राम्रा कामहरु गरें, तर पार्टीले मैमाथि आरोप लगायो, मलाई असफल देखाउने प्रयास पार्टीभित्रैका विभीषणहरुले गरे ।’

उपमेयर भण्डारीले आफ्नो नेतृत्वमा बसपार्कको समस्या समाधान गरेको, खानेपानी आयोजनामा महत्वपूर्ण काम भएको, सर्दू जलाधार क्षेत्रमा भूमाफियाहरुको चलखेल रोकेको, वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिनेट सदस्यका हैसियतले भ्रष्टाचारलाई नियन्त्रण गरेको, पर्यटन र खेलकुदका लागि करोडौं बजेट ल्याएको लगायतका फेहरिस्थ सुनाइन् ।

यो पनि पढ्नुहोस ‘रेड एरियामा कांग्रेसले जितेको हैन, कम्युनिस्टले हारेको

तर, यत्रो काम गरें भन्नुहुन्छ, पार्टीले चुनाव किन जितेन त उसोभए ? अनलाइनखबरको प्रश्नमा उपमेयर भण्डारीले भनिन्, ‘मेयरको निधनपछि कामको चापले गर्दा म जनताको वीचमा जान भ्याइनँ, पार्टीका नेताहरु बिहेभोज र पार्टीमा अल्मलिँदै ठिक्क भयो, कांग्रेस दुई वर्षदेखि लगातार जनतामा गयो ।’

आफूले उपमहानगरपालिकामा गरेका राम्रा कामहरुको प्रचार जनतासम्म पुगेको भए नेकपाको हार नहुने भण्डारीले दाबी गरिन् । उनले भनिन्, ‘तर पार्टीभित्र यस्तै भैरहने र जनप्रतिनिधिलाई असहयोग गरिरहने हो भने आगामी निर्वाचनमा नेकपाको हालत धरानमा जस्तै अरुतिर पनि नहोला भन्न सकिँदैन ।’

अब मेयर पदमा कांग्रेसका तिलक राई आइसकेपछि नेकपालाई झन् धेरै चुनौती थपिएको बताउँदै उनले भनिन्, ‘जनताको हितका सवालमा मेयरसँग हाम्रो सहकार्य हुनेछ, तर राजनीतिक स्वार्थ मिसियो भने नगरपालिका अगाडि बढ्न सक्दैन, किनभने कार्यपालिकामा बहुमत नेकपाकै छ ।’

आफूलाई जनप्रतिनिधि भएर काम गर्दा पार्टीका कुनै पनि तहका नेताहरुले सल्लाह, सुझाव र सहयोग नगरेको उपमेयर भण्डारीले गुनासो गरिनन् । उनले प्रश्न गरिन्, ‘यसरी पार्टीभित्रैबाट निरुत्साहित गरेपछि जनप्रतिनिधिहरुले कसरी काम गर्न सक्छन् ?’

उपमेयर भण्डारीले थपिन्, ‘तर, हाम्रो राजनीतिक करिअर यही नै अन्तिम होइन, हामी जनप्रतिनिधि भनेका पार्टीका कार्यकर्ता हौं, त्यसैले म पार्टीको निर्देशनभन्दा बाहिर जान्नँ, पार्टीले भनेअनुसार नै गर्दै आएकी छु, त्यसरी नै अगाडि बढ्छु ।’

यो पनि पढ्नुहोस धरानको पराजयबाट नेकपाले के सिक्न सक्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment