Comments Add Comment

२० गोल खाएको हार बिर्सेर अघि बढेको भुटानी फुटबल

भुटानले फुटबलमा गरेको प्रगतिको कथा

२३ मंसिर, काठमाडौं । १३ औं सागमा भुटान फुटबलको फाइनलमा पुग्नु धेरैका लागि आश्चर्यको विषय बनिरहेको छ । नबनोस् पनि किन, सहभागी ५ टिममध्ये भुटानलाई सबैभन्दा कमजोर आँकिएको थियो ।

पछिल्लो समयमा भुटानले फुटबलमा गरेको प्रगतिबारे जानकारहरुका निम्ति भने यो अनौठो वा अविश्वनीय कुरा होइन । भुटानको फुटबल स्तर अहिले दक्षिण एसियाका कुनै पनि देशभन्दा कम छैन । श्रीलंका र बंगलादेशमाथि उसले हात पारेको जित पनि संयोग वा भाग्यको भरमा थिएन । भुटानको सरकारले फुटबलमा गरेको लगानी र खेलाडीको निरन्तर मिहिनेतको नतिजा हो यो ।

केही वर्ष अघिसम्म सागमा आफ्नो समूहमा भुटान पर्दा ३ अंक सुरक्षित भएको भन्दै कुनै पनि देश खुशी हुन्थे । कुनै पनि टिमसँग ठूलो अन्तरको भुटानका लागि अवश्यम्भावी लाग्थ्यो । तर, ती दिन अब इतिहास भए । अब भुटानलाई हराउन पहिलेजस्तो सजिलो छैन । कसरी भुटानले फुटबलमा छलाङ मार्‍यो भन्ने जान्न २० वर्षअघि फर्किनुपर्ने हुन्छ ।

सन् २००० मा कुवेतको अल सदाका वाल्सलाम स्टेडियममा भुटान र कुवेतको म्याच चलिरहेको थियो । भुटान फुटबल महासंघ (बीएफएफ) का प्राविधिक निर्देशक चोकी निमा भुटानलाई समर्थन गर्न त्यहाँ उपस्थित थिए । त्यो खेलमा भुटानको पोस्टमा कुवेतले २० गोल बर्सायो । १९८२ मा पहिलो अन्तर्राष्ट्रिय म्याच नेपालसँग खेलेको भुटानको लागि त्यो अहिलेसम्मकै ठूलो अन्तरको हार हो ।

कुवेतसँग खेल्नुअघि भुटानले केही एक्सपोजर म्याच खेलेको थियो । तर, कुवेती टिमसँग भुटान निरीह सावित भयो । त्यो दिन सम्झदै निर्देशक चोकी निमाले भनेका थिए, ‘त्यो लज्जासपद हारले हाम्रो फुटबल स्तर देखाइदियो ।’

कुवेतविरुद्धको त्ये बिर्सनलायक हार भुटानी फुटबल बदल्ने टर्निङ प्वाइन्ट झैं बन्यो । त्यो खेलपछि खेलाडीहरु मात्र दु:खी भएनन्, बीएफएफका प्रतिनिधिहरु खेलकुदमा लगानी गर्न प्रतिबद्ध भए ।

बीएफएफ निर्देशक निमा भन्छन्, ‘हो, हामी त्यो खेलपछि दुखी भएका थियौं, तर वास्तवमा हार भनेको फुटबलको जग हो जुन हामीले आज देख्छौं ।’

जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानको प्रदर्शन त्यही जगमा उभिएको छ । लिग चरणको पहिले खेलमा बगलादेशलाई १–० गोलले स्तब्ध पारेको भुटानले अर्के खेलमा माल्दिभ्सलाई २–१ ले पराजित गर्‍यो । उनीहरु त्यतिमै रोकिएनन् । श्रीलंकालाई ३–० गोलले पन्छाएर फाइनल यात्रा तय गरे ।

सागमा ९ कांस्य पदक जित्दा एउटा पनि स्वर्ण र रजत नजितेको भुटानका लागि फुटबलबाटै कम्तीमा रजत पदक पक्का भएको छ । स्वर्ण पदकको टुंगो भने मंगलबार नेपाल र भुटानबीचको खेलले लगाउने छ ।

नेपाल र भुटानको राष्ट्रिय टिमबीच अहिलेसम्म भएका १४ प्रतिस्पर्धा सबैमा नेपालले जितेको छ । त्यस आधारमा हेर्दा मंगलबार हुने फाइनलमा नेपाललाई दाबेदार मान्नुपर्ने हुन्छ । तर, मैदानमा विगतको रेकर्डले काम गर्दैन ।

चालु सागकै समूह चरणमा नेपालले भुटानलाई ४-० ले जितेको पनि हो । त्यसका बाबजुद पनि नेपाली समर्थक फाइनल खेलको नतिजालाई लिएर ढुक्क हुन सकिरहेका छैनन् । किनकी माल्दिभ्स, श्रीलंका र बंगलादेशविरुद्धको जितले भुटानको वास्तविक स्तर देखाएको छ ।

भुटानी फुटबल बलियो हुँदै गएको अर्को प्रमाण हो, गत असोजमा काठमाडौंमा भएको साफ अण्डर–१८ च्याम्पियनसिपमा भुटानले नेपाललाई ३–० गोलले हराउनु । साविक विजेता नेपालविरुद्धको यो जित भुटानका लागि ऐतिहासिक थियो ।

०००

भुटानले फुटबलमा उल्लेख्य प्रगति गरेपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि स्थान दिन थालेका छन् । भुटानी फुटबलको छलाङ अविश्वसनीय भन्दै प्रशंसा भइरहेको छ ।

भुटानको राजधानी थिम्पुमा अन्तर्राष्ट्रिय स्तरको ‘चाङलिमिथाङ’ रंगशाला छ, जसमा दैनिकजसो विभिन्न खालका फुटबल प्रतियोगिता भइरहन्छन् । करिब ८ हजार दर्शक क्षमताको उक्त रंगशालामा नै मंसिर ३ गते नेपालले कुवेतविरुद्धको विश्वकप छनोट खेल खेलेको थियो । नेपालमै हुनुपर्ने उक्त खेल दशरथ रंगशाला पूर्ण रुपमा तयार नभएकाले भुटान सारिएको थियो ।

उक्त मैदान प्रायजसो व्यस्त हुने गर्छ । भुटान फुटबल संघबाहेक अरु कसैको खेल भए त्यहाँ दैनिक ४ देखि ५ हजार भुटानी मुद्रा तिर्नुपर्छ ।

अहिले भुटानको सरकारदेखि निजी क्षेत्र फुटबल विकास गर्न लागि परेका छन् । जसको कारण भुटानी फुटबलले ‘माइलेज’ लिइरहेको छ ।

भुटानको फुटबलमा फिफाले गरेको लगानी सही सदुपयोग भएको छ । एएफसीले सन् २०१६ र १७ मा बीएफएफलाई पुरस्कृत समेत गर्‍यो । एएफसीले यस्तो अवार्ड एएफसी सदस्यहरुमा सबैभन्दा उल्लेखनीय प्रदर्शन गर्नेहरूलाई दिन्छ । भुटानले पछिल्लो समय फुटबलमा गरेको प्रगति हेरेर एएफसीले पुरस्कृत गरेको थियो । यसअघि विश्वकप छनोटको दोस्रो चरणमा पुग्न भुटान सफल भइसकेको छ ।

भुटानले उमेर समूहमा गरेको लगानी सबैभन्दा महत्वपूर्ण छ । भुटानी उमेर समूहबाट अहिले एकसे एक खेलाडी उत्पादन भइरहेका छन् । ती खेलाडीमा विदेशी क्लबले समेत नजर लगाएका छन् । उमेर समूहमा गरेको लगानीकै कारण भुटानले अबको केही वर्षपछि फुटबलमा अर्को फड्को मार्ने आँकलन गरिएको छ ।

भुटान प्रिमियर लिगमा ब्राजिल, इंग्ल्याण्ड, पोर्चुगललगायत देशका खेलाडी खेल्छन् । स्पेनका प्रोफेसनल मिडफिल्डर अल्भारो गोञ्जालेजले थिम्पु फुटबल क्लबबाट खेलेका थिए । भुटान फुटबल क्लबले शीर्ष डिभिजन लिगमा अधिक विदेशी खेलाडी ल्याइरहेका छन् । अन्तर्राष्ट्रिय कम्पनीहरूले भुटानको टुर्नामेन्टमा गहिरो चासो लिइरहेका छन् । बीएफएफले भुटानी खेलाडीलाई अन्तर्राष्ट्रिय क्लबहरुमा खेल्नका सहजीकरण गर्ने काम गरिरहेको छ । जसको कारण भुटानी खेलाडीले नयाँ–नयाँ ‘टेक्निक’ सिकिरहेका छन् ।

भुटानी फुटबलको स्तर विकास हुनुको अर्को कारण भुटानमा हुने लिग पनि हो । भुटानमा तीन किसिमका लिगहरु खेलाइन्छ । जिल्लास्तरीय लिग, भुटान पेप्सी सुपर लिग र बोब भुटान प्रिमियर लिग । यस्ता लिग खेलेर आएका खेलाडी राष्ट्रिय टिममा छनोट हुने भएकाले पनि भुटानको राष्ट्रिय टिम बलियो भएको हो ।

भुटान फुटबल फेडेरेशनका अध्यक्ष दासु उगग्येन टेसुप एएफसीको कार्यकारी सदस्य छन् ।

बीएफएफको ‘ग्रासरूट फुटबल’ कार्यक्रमले ६ देखि १२ वर्ष बीचका ६ हजारभन्दा बढी बच्चाहरुलाई फुटबल सिकाइरहेको छ । यसले के प्रष्ट पार्छ भने भुटानले फुटबलमा लगानी गरिरहेको छ ।

०००

सागमा आफ्नो टिमको कप्तानी गरिरहेका भुटानी टिमका कप्तान चेन्चो ग्याल्सेन सेलिब्रेटी प्लेयर हुन् । उनलाई ‘भुटानका रोनाल्डो’ भनेर समेत चर्चा गरिन्छ ।

उमेर समूहको टिमबाट सन् २०११ मा राष्ट्रिय टिममा उक्लेका उनले सन् २०१४ सम्म स्थानीय क्लब याजडिनबाट खेले । लगत्तै उनले थाइल्यान्डको बुरिराम युनाटेडको एकेडेमीमा एक महिना प्रशिक्षण लिने मौका पाए । त्यसयता भुटानी टिमबाट खेलेका उनी चर्चामा छाइरहेका छन् ।

गत सिजन भारतको आईलिगमा नेपाली गोलकिपर किरण चेमजोङसमेत रहेको टिम मेनर्वा पञ्जाबसँग उनी आवद्ध थिए । उक्त लिगमा राम्रो प्रदर्शन गरेकाले उनलाई भारतीय मिडियाहरुले राम्रो स्थान दिए ।

ग्याल्सेनले हिन्दुस्तान टाइमसँग भनेका छन्, ‘क्रिस्टियानो रोनाल्डोले मेरो जीवन परिवर्तन गरेको कुरामा म विश्वास गर्दछु । १० वर्षको उमेरमा मैले उनलाई म्यानचेस्टर युनाइटेडको लागि खेलिरहेको देखें र म तुरुन्तै उनको खेलप्रति आकर्षित भएँ । मलाई खेलको बारेमा केही थाहा थिएन । उनै रोनाल्डोले मलाई प्रोफेसनल खेलाडी बन्न प्रेरित गरे।’

ग्याल्सेन बारम्बार दोहोर्‍याउने गर्छन्, ‘क्रिस्टियानो रोनाल्डोलाई मैले मन पराउनुको कारण उनले आफ्नो खेलमा कडा मेहनत गर्छन् । उनी स्वाभाविक रूपमा (लियोनल) मेस्सी जत्तिको प्रतिभाशाली नहोलान् तर कडा परिश्रमले उनलाई महान् बनाउँछ ।’

भुटानी टिमले रोनाल्डो जस्तै मेहनत गरेकाले १३ औं सागको उपाधि जित्नेमा ग्याल्सेन आशावादी छन् ।

०००

भुटानले नेपाली फुटबललाई समेत समर्थन गर्दै आएको छ । हालै मात्र नेपालले कुवेतविरुद्ध भुटानमा खेल्दा नेपालले भुटानी दर्शकको साथ पाएको थियो । भुटानका प्रधानमन्त्री स्वयम् कसैलाई थाहा नदिइ मैदानमा फुटबल हेर्न पुगेका थिए । यस्तै नेपाली टिम बसेकै होटलमा आएर नेपाली खेलाडीलाई भेटेका पनि थिए ।

उनै प्रधानमन्त्री लोटे छिरिङ आफ्नो देश सागको फाइनलमा पुग्दा दंग छन् । उनले आइतबार ट्वीट गरेर आफ्नो फुटबल टोलीलाई बधाई र शुभकामना दिए । प्रधानमन्त्री छिरिङले भनेका छन्, ‘हाम्रा खेलाडीहरुले सागको फाइनलमा स्थान बनाएका छन् । यसले आशा र नयाँ युगको सुरुवात गरेको छ । खेलाडी, प्रशिक्षक, समर्थक र व्यवस्थापनलाई ‘टासी डेले’ (अभिवादन)।’

प्रधानमन्त्री छिरिङले भनेजस्तै भुटानी फुटबलको नयाँ युग सुरु भइसकेको छ । मंगलबार हुने फाइनलमा नेपाललाई हराएको खण्डमा त्यो उसको लागि ‘माइलस्टोन’ हुन सक्छ । तर, घरेलु मैदानमा ‘इन फर्म’ नेपाली टिमलाई हराउन सहज भने छैन । नेपाल सागको साविक विजेता पनि हो ।

त्यसो त फाइनलमा भुटानलाई गुमाउनु केही छैन । इतिहास त रचिसकेको छ उसले, कम्तिमा रजत पदक सुनिश्चित गरेर । त्यसैले भुटानी खेलाडीहरु निस्फिक्री खेल्नेछन् । नेपाली टिम भने जितको दबाबमा हुने छ ।

भुटानको ध्यान उपाधिकै लागि रहेको कम्तान चेन्चो ग्याल्सेनले बताएका छन् । उनले भनेका छन्, ‘भुटानलाई सबैले होच्याउने अनुभव गरेको छु । यस्तो एटिट्युड मन पर्दैन । यसकै बदला लिने यो हाम्रोलागि उपयुक्त अवसर हो ।’

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment