Comments Add Comment

भरतपुरमा निर्माणाधीन क्रिकेट रंगशाला हेर्न आउनेको भीड

२५, मंसिर, चितवन । काठमाडौं नयाँ बानेश्वरका निर्देशन ढकाल बिहेमा सहभागी हुन चितवन आएका बेला निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुगे । शुभेच्छुकको सहजताका लागि रंगशालाको उत्तरतर्फ तयार गरिएको भ्यूटावरमा चढे र चारैतिर नजर लगाए ।

रंगशालामा धमाधम काम भइरहेको देखेर खुशी भएका उनले भने ‘चितवनमा क्रिकेट रंगशाला बन्दैछ भन्ने त सुनेको थिए, तर आफैंले हेर्ने धोको थियो ।’ उनले रंगशाला निर्माणका लागि आर्थिक सहयोग गर्न गर्न फेरि आउने बाचा गरेका छन् ।

पोखरा सिमलचौरकी ६४ वर्षकी तारादेवी श्रेष्ठ छोरीको घर आएका बेला छोरीज्वाई र नातीनातिना रंगशाला निर्माणस्थल हेर्न आइन् । उनले राम्रो काम गरेको भन्दै धुर्मुसलाई काम सफलताको शुभकामनासमेत दिइन् ।

क्रिकेट रंगशाला निर्माणले गति लिन थालेपछि हिजोआज यहाँ मानिसको भीड लाग्न थालेको छ । कोही समूह बनाएर त कोही एक्लै आएर रंगशाला निर्माणको काम हेरिरहेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको क्रिकेट रंगशाला अवलोकन गर्न झण्डै ३५ जना अट्ने भ्यूटावर बनाइएको छ ।

‘काममा डिस्टर्ब पनि नहोस् र हेर्न आउने सबैलाई सहज होस् भनेर भ्यू टावर बनाएका हौं’ फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसले भने, ‘अहिले अवलोकन गर्न आउने व्यक्तिहरुको भीड लाग्दा खुसी लागेको छ ।’

भ्यूटावरबाट अवलोकन गर्नेहरुका लागि बीस रुपैयाँको टिकट लिने गरिएको छ । रंगशालामा शनिबार र विदाको दिन भ्रमण गर्ने र तस्वीर खिच्नेको संख्या २ हजारसम्म पुग्ने गरेको छ । भ्यूटावर चढ्नेबाट संकलन गरिएको रकम पनि रंगशाला निर्माणमा लगाउने व्यवस्था गरिएको छ ।

‘रंगशाला त चितवनको एउटा पर्यटकीय गन्तब्यजस्तै भइसकेको छ’ फाउण्डेशनका अध्यक्ष कट्टेलले भने, ‘दिनानुदिन रंगशालाप्रति चासो राखेर हेर्न आउने सहयोग गर्ने मानिसहरुको संख्या बढिरहेको छ हामी उत्साही छौं ।’

रंगशालामा हौसला प्रदान गर्ने, सहयोग गर्ने र काम हेर्ने गरी तीन थरी मानिसहरु आउने धुर्मुुस बताउँछन् । गत सोमबार भ्रमण गर्न आएको एक समूहले रंगशाला बनाउन ६० हजार रुपैयाँ सहयोग गरेर गएको थियो ।

विभिन्न जिल्लाबाट भ्रमणका लागि चितवन आउने समूह, कलाकार, राजनीतिज्ञ, मन्त्री, विद्यालयका विद्यार्थीदेखि सहकारी, आमा समूह, पिकनिक खाने समूह, टोल विकास समितिलगायतका संघसंस्थाका प्रतिनिधि यहाँ आउने गरेका छन् ।

ड्रेनऐज र पिचको काम सँगसँगै

क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएपछि अहिले मैदानको बाउड्री लाइन नजिकै डे«नऐज निर्माण भइरहेको छ । पिसिसी ढलान सकेर सेरवाल उठाउने तयारी छ । दैनिक १४१ जना मजदुर काममा खटिरहेको आयोजनाका इन्जिनियर राजेश थापामगरले अनलाइनखबरलाई जानकारी दिए ।

वर्षाको पानी मैदानमा ६० प्रतिशत सोसिने र ४० प्रतिशत ड्रेनमा जम्मा हुने गरी बनाइएको छ । बाहिरबाट हेर्दा खासै काम भए जस्तो नदेखिए पनि भित्र भने मसिनो गरी काम भएको धुर्मुस बताउँछन् ।

अर्को समूहले पिचको काम दु्रत गतिमा अघि बढाएको छ । पिच बनाउने स्थानमा तीन फिटको खाल्डो तयार गरी तल भुईमा ढुंगा बिछ्याउने काम हुँदैछ । एकै ठाउँमा ७ वटा पिच बनाइने इन्जिनियर थापामगरले बताए ।

मैत्रीपूर्ण खेल खेलाउने र त्यसबाट रंगशाला निर्माणको खर्च जुटाउने उद्देश्यले नमूना खेल मैदानसमेत तयार गरिएको छ । कामलाई अझै गति दिन तत्कालै १ सयभन्दा बढी कामदार थप गर्ने योजना रहेको फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए ।

रंगशाला सम्पन्न गर्न दुई अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान छ । तर, अहिलेसम्म सोचेको जस्तो आर्थिक संकलन हुन सकेको छैन । जिल्लास्तरमा गठन गरिएको रंगशाला निर्माण मूल समितिले तदारुकताका साथ काम अघि बढाएका छैनन् । स्वतःस्फुर्त रुपमा जनस्तरबाट आउने सहयोगको भरमा काम गरिरहनुपर्ने बाध्यता फाउण्डेशनलाई परेको छ । आर्थिक सहयोग जुटाउने महायज्ञ लगाउने सोच पनि अघि सारिएको छ ।

‘यो जनस्तरबाट बन्न लागेको रंगशाला हो, जनताले सहयोग गर्नुहुन्छ भन्ने विश्वासमा नै अडिएका छौं’ फाउण्डेशनका अध्यक्ष कट्टेलले भने, ‘देशलाई चिनाउने खेलाडी उत्पादन गर्ने रंगशाला बनाउन तीन करोड नेपालीकै साथको अपेक्षा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment