Comments Add Comment

साइकल लेनको नयाँ योजना, तर भएकै लेनको यो गति !

पार्किङ नहटाइ चल्न सक्दैनन् साइकलहरू लेनमा

२६ मंसिर, काठमाडौं । काठमाडौंको एउटा बौद्धिक जमात र वातावरणविदले बारम्बार बहसमा ल्याउने गरेको विषय हो, साइकल लेन । विश्वका विभिन्न सहरको उदाहरण दिँदै काठमाडौंका सडकमा पनि साइकल लेन आवश्यक रहेको चर्चाले व्यापकता पाएसँगै काठमाडौं र ललितपुर महानगरले आ–आफ्नो योजना अगाडि बढाएका छन् ।

वातावरणका हिसाबले साइकलको प्रयोगलाई व्यापकता दिनु राम्रो मानिन्छ । नियमित साइक्लिङले व्यक्तिलाई फिट राख्न पनि मद्दत गर्छ । त्यसैले पनि साइकल लेनका लागि भइरहेको माग अन्यथा होइन ।

तर काठमाडौंमा साइकल नगण्य संख्यामा चल्छन् । अहिलेको ट्राफिकमा साइकल चलाउन सकिने स्थिति पनि छैन । साइकललाई डेडिकेटेड लेन दिने हो भने यसले गाडी हिँड्ने सडक थप साँघुरो हुने र र ट्राफिक जाम भयावह बन्ने चिन्ता अर्काथरिको छ ।

काठमाडौंका सडकमा मोटरसाइकलको दबदबा छ । यी मोटरसाइकललाई कुनै लेन चाहिँदैन । कतिपय स्थानमा सडक पेटी नै ढाकेर दौडिन्छन् । यस्तोमा साइकल चलाएर कसले ज्यानको जोखिम मोल्ने ?

साइकलयात्री भूमराज तिवारी मानव स्वास्थ्य, वातावरण, स्वस्थ शहरी जनजीवन र संस्कृतिको लागि महत्त्वपूर्ण मानिएको साइकललाई ‘गरिबको सवारी’ को रूपमा हेरिँदा समस्या आएको बताउँछन् ।

‘साइकल प्रवद्र्धन गर्न सुरुमा त धुँवाधोलो नियन्त्रण गर्नुपर्छ, त्यसपछि सडकमा साइकल लिएर हिँड्दा सुरक्षित हुने प्रत्याभूति गराउनुपर्छ,’ उनी भन्छन्, ‘साइकल बोकेर तीनकुने ल्याएर माइतिघरसम्म चलाउन कोही आउँदैन, त्यसैले साइकल लेन शहरभरि नै बनाउनुपर्छ । जहाँबाट पनि जता पनि सजिलै साइकल लिएर जानसक्ने अवस्था बनाउनुपर्छ ।’

साइकल लेनको सञ्जाल शहरभरि नबनाएसम्म साइकलको प्रयोगले प्रोत्साहन नपाउने उनको भनाइ छ । अहिले बनेको भनिएका साइकल लेन पनि प्रयोगका लागि योग्य नभएको उनले बताए ।

भएकै लेनको यो गति

अहिले पनि काठमाडौंका सडकमा साइकल लेन नभएको होइन । साँघुरा सडकलाई फराकिलो बनाउँदा केही ठाउँमा लेन छुट्याइयो, तर कुनै संकेत नराख्दा चालकहरूले थाहै पाएनन् । त्यसैले गर्दा साइकल लेनलाई धेरैले फुटपाथ नै माने ।

काठमाडौं महानगरपालिकाले यही साइकल लेन अब व्यवस्थापन गरेर सञ्चालन गर्ने योजना अघि सारेको छ । तर, फिल्डमा हेर्ने हो भने योजना कार्यान्वयन गर्न त्यति सहज हुने देखिन्न । किनभने निजीतवरमा यसलाई पार्किङस्थल त बनाइएको छ नै, सरकारी निकायले समेत साइकल लेन मासेर संरचना बनाइरहेका छन् ।

माइतीघरबाट नयाँबानेश्वर हुँदै तीनकुनेसम्म सरकारले ६ वर्षअगाडि साइकल लेन बनाएको थियो । तर, यसमा साइकल गुडेको देखिँदैन । यो बाटोमा यदाकदा चल्ने साइकल पनि सवारीकै लागि तयार गरिएको मुख्य सडक र सर्भिस लेनहरूमा कुद्ने गरेको पाइन्छ । अधिकांश साइकल चलाउनेलाई यो खण्डमा साइकल लेन छ भन्ने थाहा पनि छैन ।

माइतीघर–तीनकुने खण्डमा हाल रहेको लेनमा पनि फुटपाथको जस्तै टायल बिछ्याइएको छ । सुरुमा फुटपाथ र साइकल लेन बनाउँदा फरक–फरक रंगका टायल प्रयोग गरिएको थियो । साइकल लेनमा रातो रंगको टायर थियो भने फुटपाथमा फिक्का सादा ।

तर, मेलम्चीले पाइप बिछयाउन टायल उप्काएपछि ती टायल मिसिन पुगे र छ्यासमिस रूपमै पुनः टायल बिछ्याइयो । अहिले कति साइकल लेनमा सादा रंगका टायल भेटिन्छन् त कति फुटपाथमा रातो रंगका टायल पनि टाँसिएका छन् ।

अर्को समस्या, पैदलयात्रुमा चेतनाको कमी पनि हो । कुनै साइकल आफ्नो लेनमा चलिरहँदा पैदलयात्रुले गाली गर्ने गरेका छन् । धेरै पैदल यात्रुलाई पनि थाहा छैन कि कुन साइकल लेन हो र कुन फुटपाथ । त्यसैकारण साइकल लेनमा हिँडिरहेका पैदलयात्रुलाई साइकलको घण्टी मनपर्ने कुरा नै भएन ।

अस्तब्यस्त लेन

साइकल लेन तयार गरिए पनि त्यतिबेला चोकहरूमा ती लेन आपसमा जोड्न कुनै काम गरिएन । चोकहरूमा साइकल लेन सकिएर क्रस सडक भेट्नुअघि नै फलामे बार लगाइएको छ । पैदलयात्रुलाई जेब्राक्रमसम्म लैजान लगाइएको त्यस्ता बारका कारण थाहा पाएर पनि साइकल चालकले लेनको प्रयोग गर्न सकेनन् ।

कतिपय स्थानमा साइकल चलाउन नमिल्ने गरी साँघुरो संरचना पनि बनाइएको छ । अझ अहिले फुटपाथतर्फको भागका विभिन्न स्थानमा प्रतीक्षालय, लामा कुर्सीहरू राखिएका छन् । जसका कारण सचेत यात्रुलाई साइकल लेनतर्फ नझरी सुखै छैन । फुटपाथ र साइकल लेन बीचमा पर्ने गरी रोपिएका कतिपय विरुवा झांगिएका छन् । तिनले फुटपाथ साइकल लेनका आधा भागलाई छोपेको छ, तर त्यसलाई काँटछाँट गरिएको छैन ।
समस्या त्यति मात्रै छैन, साइकल लेनमा ब्यापारीहरूको कब्जा छ । धेरै स्थानमा साइकल लेनमै चटपटे, पानीपुरी, फलफूल बेच्नेहरू बसेका छन् । साइकल लेन कब्जा गरेर बसेका ब्यापारीमाथि न महानगरपालिको कुनै ‘एक्सन’ लिने गरेको छ न प्रहरीले नै । साइकल लेनसम्म आफ्ना पसलका समान फिजाँएर बस्ने व्यापारी पनि उत्तिकै छन् । साइकल लेनमै पानीका जारहरू झारेर त्यहीँबाट व्यापार चलाउनेहरू पनि भेटिन्छन् बानेश्वरतिर ।


निर्माण सामाग्री पनि साइकल लेनको अर्को तगारो हो । विभिन्न स्थानमा सर्वसाधारणले घर बनाउँदा निर्माण सामग्री पनि साइकल लेनमै असरल्ल थुपारेका छन् । कतिपय स्थानमा साइकल लेनका टायल उप्किएर हरिबिजोक छ । तर, त्यसलाई बनाउन कसैको ध्यान गएको देखिँदैन ।

अझ सडक विभागले आफैंले पनि साइकल लेन मासिरहेको छ । बानेश्वरमा बन्दै गरेको आकाशे पुलका खम्बा साइकल लेनमा नै छन् । विभागले ठाउँ र दूरीको संकेत गर्न राखेको बोर्डको खम्बा पनि साइकल लेनलाई प्रभावित गर्ने गरी गाडिएको छ ।

पार्किङको चुनौती

साइकल लेन सञ्चालनमा सबैभन्दा ठूलो चुनौती पार्किङको व्यवस्थापनमा भएको कमजोरी हो । माइतीघरदेखि तीनकुनेसम्म नै फुटपाथमा दोहोरो पार्किङ छ ।

छिटपुटबाहेक सबै स्थानमा मोटरसाइकलको पार्किङ गरिन्छ । यसले गर्दा यात्रुलाई साइकल लेनबाट हिँडनुपर्ने बाध्यता छ ।

यदि साइकल लेन सुव्यवस्थित रूपमा चलाउने हो भने सबैभन्दा पहिले फुटपााथको पार्किङ हटाउर्नुपर्ने देखिन्छ । सरकारी कार्यालय मात्रै होइन, यो खण्डका अस्पताल, होटल, बैंक, व्यापारिक कम्प्लेक्स, पसललगायतले आफ्नो भवनअघिको फुटपाथलाई मोटरसाइकल पार्किङस्थलमा रूपान्तरण गरेका छन् ।

कतिपय स्थानमा त साइकल लेनसम्म पार्किङ गरिएकाले यात्रुलाई सडकमा झेरेर हिँड्नुपर्छ । कतै–कतै त बार नै राखेर फुटसाथ रोकेर सवारी पार्किङ गराइएको छ । यसका कारण साइकल लेनमा पैदलयात्रुको चाप उच्च छ ।

काठमाडौं महानगरको शहरी योजना आयोगका कार्यकारी उपाध्यक्ष सरोज बस्नेत यी समस्या हल गर्नेगरी साइकललेन व्यवस्थापनको लागि गुरुयोजना तयार भइसकेको बताउँछन् । सरोकारवालासँगको छलफलसमेत भइसकेकाले आगामी सातादेखि लेन व्यवस्थापनको काम सुरु हुने उनले बताए ।

लेन आधुनिक तरिकाले निर्माण हुने दाबी आयोगको छ । यसै आर्थिक वर्षभित्रै अधिकांश काम सक्ने योजना रहेको बस्नेत दाबी गर्छन् ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment