Comments Add Comment

ए डिभिजन लिगमा भित्रियो विदेशी प्रायोजक, विजेतालाई ५० लाख

एक टिममात्रै रेलिगेसन

२६ मंसिर, काठमाडौं । नेपालको सबैभन्दा ठूलो फुटबल लिग शहिद स्मारक ए डिभिजन लिग आगामी शनिवारदेखि शुरु हुँदैछ । आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले दुई दिनअघि लिगको मुख्य प्रायोजकको रुपमा कतार एयरवेजलाई घोषणा गरेको छ ।

पहिलो पटक नेपालको लिग अन्तर्राष्ट्रिय कम्पनी प्रायोजक बनेर भित्रिएको हो । युरोपियन क्लबहरु वायर्न म्युनिख एएस रोमा जस्ता क्लब अनि फिफा विश्वकपको समेत साझेदारको रुपमा रहेको कतार एयरवेजले यस सिजनको लिगलाई मुख्य प्रायोजन गरेको हो ।

यसअघि नै कतार एयरवेजसंग सम्झौता भइसकेको र बिहीबार यसको औपचारिक घोषणा गरेको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए । कतार एयरवेजको आगमनसंगै नेपाली लिगलाई उचाईमा पुर्‍याउने अध्यक्ष शेर्पाको विश्वास छ । ‘यो सुरुवात हो । आगामी दिनमा अझै लिगलाई व्यवस्थित गर्न हामी विभिन्न क्लबको समेत स्पोनसर खोज्दैछौं’ उनले भने ।

एन्फा र कतार एअरवेजबीच १ लाख ५० हजार अमेरिकी डलरको सम्झौता भएको हो । सम्झौताअनुसार कतार एयरवेजले एन्फालाई दुई किस्तामा उपलब्ध गराउने छ । पहिलो किस्तामा ९० हजार तथा दोस्रो किस्तामा ६० हजार डलर दिनेछ ।

सम्झौतापछि अब लिगको कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगको नामबाट सञञ्चालन हुनेछ । यस्तै लिगमा सहभागी प्रत्येक टोलीको जर्सीमा कतार एयरवेजको लोगो अंकित प्याच लगाउनुपर्ने, स्टेडियम बोर्ड, स्टेडियम फ्लाग, अनलाइन डिजिटल कन्टेन्टलगायत अन्य प्रचार प्रसारको कार्यमा सहयोग गर्नुपर्ने उल्लेख छ ।

कतार एअरवेजका कन्ट्री डिरेक्टर मोहम्मद एल इमानले नेपालको लिगमा प्रायोजन गर्न पाउँदा उत्सfहित भएको बताए । ‘फुटबल ठूलो  र सम्मानित खेल हो । यसमा धेरै अवसर पनि छ’  उनले भने ।

कूल खर्च साढे ६ करोड, विजेतालाई ५० लाख

एन्फाले लिगको लागि कूल ६ करोड ५० लाख रुपैयाँ बजेट अनुमान गरेको  छ । यसमा लिग विजेताको रकमदेखि सहभागि क्लबको तयारी खर्च, लिगका उत्कृष्ट खेलाडील  पाउने रकम समावेश छ ।

लिगको विजेताले गत वर्षकै बराबर ५० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रो हुनेले ३५ लाख, तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौं स्थानमा रहने टोलीले ५ लाख रुपैयाँ पाउनेछ ।

यस्तै हरेक खेलको विजेताले ५० हजार, बराबरी भएमा दुवै क्लबले १५-१५ हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ ।

यस्तै लिगका उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकले मोटरसाइकलको सट्टा १ लाख ५० हजार रुपैयाँ नगद पाउनेछन् । यसअघि एन्फाले मोटरसाइकल दिने गरे पनि यो प्रत्रिया झन्झटिलो भएकोल यस पटकदेखि नगद नै दिन लागेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

गत वर्षको लिगमा मोटरसाइकल पाउने खेलाडीले एक वर्षसम्म कुर्नुपरेको थियो ।

यस्तै लिगको प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ र फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउने छ ।

४ विदेशी खेलाडी

लिगमा सहभागी क्लबहरुले ४ जना विदेशी खेलाडी राख्न पाउने छन् । जसमा एक खेलाडी दक्षिण एसियाकै हुनुपर्ने एन्फा अध्यक्ष कर्मा छिरिङले जानकारी दिए । क्लबले चारै विदेशीलाई एकै पटक खेलाउन पाउनेछ ।

यस्तै क्लबले कम्तीमा १८ र बढीमा ४५ खेलाडीसम्म राख्न पाउनेछन् । ‘यसअघि नै क्लबले १८ खेलाडी दर्ता गरिसकेका छन् । हामीले बढीमा ४५ जनासम्म दर्ता गर्ने भनेका छौँ’ लिग डिरेक्टर सञ्जिव मिश्रले भने ।

लिग दशरथ रंगशालमा, टिकट मूल्य दुई र पाँच सय

दशरथ रंगशालमा नेपाली फुटबल लिग हेर्ने नेपाली दर्शकको इच्छा पनि अब पूरा हुने भएको छ । एन्फाले यस सिजनsJ लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा एन्फा कम्प्लेक्समा गर्ने भएको छ ।

दशरथ रंगशालमा हुने खेलको लागि एन्फाले टिकट दर भीआईपी प्यारापिटतर्फ ५०० र साधारण प्यारापिटतर्फ २०० रुपैयाँ तोकेको  छ ।

मंसिर २८ गते लिगको उद्घाटन खेल मछिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लबबीच दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुनेछ ।

एन्फाले शुरुवाती चरणमा १० राउण्डको मात्र खेल तालिका सार्वजनिक गरेको छ । जसमा एक राउण्डमा ४ गरी कूल ४० खेल दशरथ रंगशालमा हुने उल्लेख छ ।

एक क्लबमात्र घटुवा हुने

एन्फाले गत वर्ष वार्म अप लिग भन्दै  रेलिगेसनविनाको लिग आयोजना गरेको थियो । झण्डै चार वर्षपछि लिग गरिएको भन्दै रेलिगेसन नभए पनि पुटकबलको माहोल फर्काउन भन्दै लिग गरेको थियो । यसको धेरैले आलोचना समेत गरे । यस पटक रेलिगेसनसहितको लिग हुनेछ । तर पूछारमा रहने एक क्लब मात्र बी डिभिजनमा घटुवा हुने एन्फाले जनाएको छ ।

मंसिर २८ देखि फागुन ३ गतेसम्म हुने ए डिभिजन लिगमा कुल १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । जसमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबसहित थ्री स्टार क्लब संकटा क्लब त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लब, एपीएफ, मछिन्द्र क्लब, एनआरटी,हिमालयन शेर्पा, फ्रेण्ड्स, जावलाखेल युथ, सरस्वती युथ, च्यासल युथ र ब्रिगेड ब्वाइज क्लब छन्  ।

टिभी राइट्स बिक्री गरिने

एन्फाले ए डिभिजन लिगको प्रशारणका लागि टेलिभिजन राइट बिक्री गर्ने छ । तर यसबारेमा अहिलेसम्म सम्झौता भइनसकेको एन्फा अध्यक्ष कर्मा छिरिङले जानकारी दिए ।  एन्फाले यसअघि रामसार मिडियासंग मार्केटिङ सम्झौता र एपीवन टेलिभिजनसँग प्रसारण सम्झौता गरेको थियो । जुन ३ वर्षको लागि गरिएको थियो ।

तर उक्त सम्झौता आपसी समझदारीमा खारेज गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए । त्यसैले एन्फाले लिगको प्रशारणका लागि टेलिभिजनहरुसंग छलफल गरिरहेको जनाएको छ । साथै टिभी राइट्स बेच्दा अन्य टिभीलाई हानी नहुने गरी खेलको फुटेज खिच्नलाई सहज व्यवस्था मिलाउने पनि अध्यक्ष शेर्पाले जानकारी दिए ।

विमलसहित ४ जनाबारे निर्णय हुन बाँकी

यसबाहेक एन्फाले म्याच फिक्सिङमा संलग्न भए कारवाही गर्ने पनि एन्फा अध्यक्ष कर्मा छिरिङले जानकारी दिए । यस्तै नाइट क्लबमा  सहभागी भएर कारवाहीमा परेका राष्ट्रिय टिमका चार खेलाडीले लिग खेल्न पाउने नपाउने बारे निर्णय हुन बाँकी रहेको अध्यक्ष शेर्पाले बताए ।

मंसिर ३ गते नेपाल र कुवेतबीचको विश्वकप छनोटअन्तर्गतको खेलअघि भुटान जानु अघिल्लो दिन नाइट क्लबमा गएर अनुशासन तोडेको भन्दै एन्फाले विमल घर्ती मगर, अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई कारवाही गर्दै टिमबाट हटाएको थियो ।

यी चार खेलाडीले १३औं साग समेत खेल्न पाएनन् । अब हुन लागेको लिग पनि खेल्न पाउने टुङ्गो छैन । यस बारेमा अनुशासन समितिले अनुसन्धान गरिरहेको र पछि थाहा हुने अध्यक्ष शेर्पाले बताए ।

गत सिजन मनाङबाट लिग खेलेका अन्जनलाई यस पटक पनि मनाङले अनुबन्ध गरिसकेको छ । सन्तोष त्रिभुवन आर्मीका खेलाडी हुन् भने दिनेशलाई च्यासल युथ क्लबले अनुबन्ध गरेको छ ।

यस्तै विमलले गत सिजन च्यासलबाट लिग खेलेपछि यस सिजन कहाँबाट खेल्ने टुङ्गो लागेको छैन । यद्यपी एनआरटीले  विमललाई अनुवन्ध गर्ने प्रयास गरिरहेको छ । गत सिजन च्यासलकै प्रशिक्षक रहेका राजुकाजी शाक्य यो सिजन एनआरटीको प्रशिक्षक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment