Comments Add Comment

बेलायत आमनिर्वाचन : मत सर्वेक्षणको नतिजा सार्वजनिक, कन्जरभेटिभलाई बहुमत

 

२७ मंसिर, काठमाडौं । बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीले बहुमत ल्याउने मत सर्वेक्षण (एक्जिट पोल) सार्वजनिक भएको छ ।

बीबीसी, आईटीभी र स्काई न्युजले मतदातासँग गरेका सर्वेक्षणमा कन्जभेटिभ पार्टीले बहुमत ल्याउने देखिएको हो ।

बीबीसीका अनुसार, मतदान गरेर निस्किरहेका मतदाताहरूसँग गरिएका त्यस्ता अनौपचारिक प्रारम्भिक मत सर्वेक्षणका नतिजामा कन्जरभेटिभले ३ सय ६८ स्थानमा जित हासिल गर्ने देखाएको छ । एक्जिट पोलअनुरूप परिणाम आएमा कन्जभेटिभ सन् २०१७ मा भन्दा ५० बढी स्थानमा विजयी हुनेछ ।

त्यस्तै, लेबर पार्टीले १ सय ९१ स्थानमा जित्ने मत सर्वेक्षणले देखाएको छ । लिबरल डेमोक्र्याटले १३ र स्कटिश नेसनल पार्टीले ५५ सिट जित्ने मत सर्वेक्षणको हवाला दिँदै त्यहाँका सञ्चारमाध्यमहरूले लेखेका छन् । ग्रिन पार्टीले १ सिट र बेक्जिटले कतै पनि हासिल गर्न नसक्ने सर्वेक्षणको निष्कर्ष छ ।

बेलायती निर्वाचनको मत परिणाम पछिल्ला केही वर्षदेखि मत सर्वेक्षणसँग मिल्दोजुल्दो हुने गरेका छन् । त्यसैले यसपटक पनि मत सर्वेक्षणअनुरूप नै नतिजा आउने ठानिएको छ ।

सामान्यतया हरेक ४–५ वर्षमा बेलायतमा आमचुनाव हुनेगर्छ । तर गत अक्टुबरमा सांसदहरूले मतदानको माग गरेपछि बिहीबार त्यहाँ आमचुनाव भएको हो ।

युरोपेली संघ (ईयू) बाट बेलायत बाहिरिने विषय निर्वाचनको मुख्य एजेन्डा बनेको छ । चुनावको नतिजा आज मध्याह्नसम्ममा आइसक्ने बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment