
२७ मंसिर, काठमाडौं । मण्डला थिएटर नजिकै अन्डरग्राउण्ड स्टुडियो छ, जहाँ रंगकर्मी सुनील पोखरेल लामा–लामा संवाद रटिरहेका छन् ।
राजनीतिप्रति निरपेक्ष रहँदै आएका चर्चित नाट्यकर्मी पोखरेलले रटेको ‘स्क्रिप्ट’ साम्यवादका सर्जक कार्ल मार्क्सको सिद्धान्त हो । पोखरेलको यो रटाइ ‘मार्क्स फर्किए’ नामक नाटकका लागि हो । यो नाटक पुस १ देखि ३ गतेसम्म प्रज्ञा प्रतिष्ठानमा मञ्चन हुँदैछ ।
अर्का कलाकार प्रवीण खतिवडा सैनिक पोशाकमा उभिएर सुनीलले बिगारेका डाइलग सच्याउँछन् । प्रवीणको संकेतपछि सुनील अगाडि बढ्छन्, ‘सबै देशका मजदुरहरु, हामी त्यस्ता विदेश नीतिको विरुद्ध एक हुनुपर्छ, जो अपराधी छन्, राष्ट्रिय स्वार्थमाथि घात गर्छन्… ’
नाटकमा साम्यवादी विचारका प्रवर्तक ‘कार्ल मार्क्स’को भूमिकामा सुनील पोखरेल प्रस्तुत हुँदैछन् । लामो समय रंगमञ्चमा जमेका सुनीलले यसलाई अवसरका रुपमा हेरेका छन् ।
अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘कार्ल मार्क्सजस्तो व्यक्तित्वको भूमिकामा आफूलाई प्रस्तुत गर्न पाउनु मेरो लागि ठूलो कुरा हो । यस नाटकलाई लिएर म निकै उत्साहित छु ।’
तर, सुनीलको उत्साहलाई अहिलेसम्म डरले जितिरहेको छ । मार्क्सको सिद्धान्तमा रहेर तयार गरिएको नाटक भएका कारण मार्क्सले बोलेका भनाइमा गल्ती हुने हो कि भन्ने डरले सुनीललाई सताइरहेको छ ।
पाेखरेल भन्छन्, ‘यहाँ भएका संवादलाई हामीले केही पनि तलमाथि गर्न हुँदैन । आफैंले केही मिलाउन खोज्यो भने अनर्थ हुन जान्छ । त्यसैले संवाद बिर्सिने हुँ कि भनेर १२ बजिरहेको छ ।’
‘मार्क्स फर्किए’ नाटकमा सुनीलले आफ्नो गेटअप भने परिवर्तन गरेका छैनन् । गेटअप र मार्क्सको लवज खासै नभेटिने भएकाले उनीहरुले ‘लुक्स’मा चासो दिएका छैनन् । सुनील भन्छन्, ‘उहाँको तस्वीर हेरेर हामीले केही प्रयास गरेका छौँ । तर, पूरै कपी गर्न लागियो भने बिग्रिने हो कि भनेर त्यता ध्यान दिएनौँ ।’
चर्चित अमेरिकी समाजवादी लेखक स्व. हावर्ड जिनले लेखेको ‘मार्क्स फर्किए’ नाटक विचार प्रधान भएका कारण पनि ‘लुक्स’ मा मतलव नहुने पोखरेलको भनाइ छ ।
सुरुमा यस नाटकको प्रस्ताव प्रवीण खतिवडालाई आएको थियो । घनश्याम भुसालआवद्ध नेपाल अध्ययन केन्द्रले रंगकर्मी प्रवीणलाई यो नाटकको निर्देशन गर्न र सुनीललाई अभिनयका लागि प्रस्ताव गरेको थियो । प्रवीणले नाटक पढे । उनलाई निकै राम्रो लाग्यो । त्यसपछि प्रवीणले सुनीललाई नाटक पढ्न दिए । सुनीलले पनि नाटक रुचाए र दुबैजना यसमा काम गर्न तयार भए ।
सुरुमा सुनीललाई अभिनयको मात्र अफर गरिएको थियो । तर, उनलाई नाटकमा केही क्रिएटिभ भएर काम गर्ने मन भयो । निर्देशक प्रवीणलाई सुनिलले भने, ‘प्रवीण तिमी निर्देशन गर, मलाई सहायक निर्देशकमा राख है । म तिमीलाई केही सहयोग गर्छु ।’
सुनीलको यो भनाइ प्रवीणलाई पाच्य भएन । उनले उत्तर फर्काए, ‘होइन सर । दुबैजना मिलेर गर्ने हो । यो अब हाम्रो नाटक हो ।’
निर्देशनका लागि सुनील र प्रवीण दुबैजना तयार भए ।
प्रस्ताव आएको यो नाटक एकल थियो । यसमा एकजनाले अभिनय गरे पुग्थ्यो । तर, दुई जना मिलेर यसलाई ‘मल्टिकास्ट’ बनाए । नाटकमा १३ जना पात्र सिर्जना गरे ।
प्रवीण भन्छन्, ‘यो नाटकमा धेरैजना क्यारेक्टर राख्यो भने अझ गहकिलो हुन्छ जस्तो लागेर हामीले पात्र थपेका छौँ ।’ विदेशमा भने यो नाटक एकल प्रदर्शन भएको छ ।
प्रवीण र सुनीलले हावर्ड जीनको ‘मार्क्स सोहो’ नाटकलाई रोज्नुको खास कारण छ ।
कारणबारे सुनील भन्छन्, ‘मार्क्सलाई हामीले जसरी बुझेका छौँ, त्यो केवल सतही बुझाइ मात्र छ । उहाँलाई बुझ्न पुगेकै छैन । त्यसैले उहाँबारे फेरि सोच्न जरुरी छ कि भन्ने लागेर हामीले यो नाटक रोजेका छौँ ।’
नाटकको आकर्षण भनेको नै कार्ल मार्क्सको जीवनी हो । मार्क्सले आफ्नो जीवनमा भोगेका उत्तार–चढावलाई नाटकमा प्रस्तुत गरिएको छ । मार्क्सको मृत्युपछि उनीबारे फैलिएको गलत प्रचारलाई मार्क्सले नाटकमार्फत् उत्तर दिने कलाकारहरुको दाबी छ ।
नाटकमा मृत मार्क्स फर्किएर आएको देखाइएको छ । नेपाली गाइडले भाषा नबुझ्दा लण्डनको सोहो पुग्नुपर्ने मार्क्सलाई नेपालमा भइरहेको नाटकको शो मा ल्याइदिन्छन् । त्यहीँ निर्देशकले प्रश्न गर्छन्, ‘तपाई मार्क्स ! तपाई त मरिसक्नु भएको होइन र ?’
यस प्रश्नमा मार्क्सले उत्तर दिन्छन्, ‘अँ म मरेको नै हुँ । तर, जिउँदै पनि छु । यो तपाईहरुका लागि द्वन्द्ववाद हो ।’
मार्क्सको यही उत्तरबाट ‘मार्क्स फर्किए’ नाटक सुरु हुन्छ । मार्क्स फर्किएर आएका कारण यस नाटकको नाम नै ‘मार्क्स फर्किए’ राखिएको प्रवीण बताउँछन् ।
नाटकको प्रस्ताव आएको उनीहरुलाई तीन महिना बित्यो । तीन महिनासम्म उनीहरुले मार्क्स सम्बन्धी धेरै किताब पढे । धेरै खोजी गरे । प्रवीण भन्छन्, ‘हामीले यहाँ नपाएका किताबहरु बाहिरबाट मगाएर पनि पढ्यौं । एउटा किताब बुटवलबाट मगाएका थियौँ ।’
मार्क्सका बारेमा पढेपछि सुनील र प्रवीणले बुझ्दै आएको मार्क्स र वास्तविक मार्क्समा धेरै भिन्नता पाए । सुनील भन्छन्, ‘अलिअलि हामीलाई थाहा थियो । तर, अहिले पढेपछि धेरै कुरा बुझ्ने मौका मिलेको छ । पढेपछि कतिपयले मार्क्सको विषयमा गलत व्याख्या गरिरहेको हो कि जस्तो महशुस भएको छ ।’
प्रवीण अहिले मार्क्सवादी सिद्धान्तलाई पछ्याउनेहरु नै चुकिरहेको बताउँछन् । उनी थप्छन्, ‘हामीले पढ्दै गर्दा अहिले आफूलाई मार्क्सवादी भन्नेहरुमा पनि त्यो आदर्श देखिएन । केही न केही कमजोरी भएका छन् ।’
नाटकले आफूहरुको व्यक्तिगत जीवनमा पनि धेरै प्रभाव पारिरहेको दुबैले बताए । प्रवीण यस नाटकले आफूलाई चिन्न मद्दत गरेको बताउँछन् । उनी भन्छन्, ‘कुनै कुनै नाटकले जरैदेखि हल्लाउँछ । मलाई यस नाटकले हल्लाएको छ । म अब स्वतन्त्र भएर काम गर्नेछु ।’
आफूलाई मात्र होइन, नाटकले अरुलाई पनि प्रभाव पार्छ भन्ने आशमा छन्, दुई निर्देशक । तर, यस नाटकले बुझाइ नै फेरिन्छ भन्ने पक्षमा छैनन्, सुनील । तर, मार्क्सको विषयमा थप खोज्न र बुझ्न मानिसहरुलाई उत्प्रेरित गर्ने कुरामा भने उनी विश्वस्त छन् ।
पोखरेलले अनलाइनखबरसँग भने, ‘पहिलाका कम्युनिस्टहरु धेरै पढ्ने गर्थे । यस नाटकले पुनः उनीहरुलाई पढ्नका लागि उत्साहित गराउने छ । अन्य व्यक्तित्वलाई पनि यस नाटकले उर्जावान बनाउने छ ।’
जुनसुकै विचारधारा राख्नेहरुले पनि यो नाटक हेर्नु उपलब्धिमूलक हुने सुनील र प्रवीण बताउँछन् ।
आयोजकमा को-को छन् ?
यो नाटकका आयोजक संस्याहरु नेपाल अध्ययन केन्द्र र कार्ल मार्क्स द्वीशतवार्षिकी समारोह समिति रहेका छन् । कार्ल मार्क्स द्विशतवार्षिकी समारोह समितिका संयोजक मन्त्री घनश्याम भुसाल हुन् भने सहसंयोजक नेकपा सांसद राम कार्की हुन् । यो समितिले १० हजार युवालाई मार्क्सवाद सिकाउने लक्ष लिएको छ । त्यसैगरी नेपाल अध्ययन केन्द्र कोमल भट्टराईको नेतृत्व रहेको ३० वर्ष पुरानो वैचारिक मञ्च हो ।
यो नाटकको प्रस्तोता संस्था गुरुकुल आरोहण हो, जुन संस्था ३८ वर्ष पुरानो नाट्य समूह हो, जसले सुनील पोखरेलको नेृतत्वमा ८ वर्षसम्म पुरानो बानेश्वरको डाँडामा गुरुकुल नाट्य घर सञ्चालन गरेको थियो ।
तस्वीरहरूः चन्द्र आले/अनलाइनखबर
प्रतिक्रिया 4