Comments Add Comment

फोहोरबाट बिजुली निकाल्न महानगरले ल्याएका करोडौंका मेसिन अलपत्र

२७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरबाट बिजुली निकाल्ने भन्दै करोडौं खर्च गरेर किनिएका मेसिनहरु अलपत्र परेका छन् । मेसिन किनेर ल्याएको ३ वर्ष वितिसक्दा पनि बिजुली भने उत्पादन भएको छैन ।

मुलुकले लोडसेडिङको चर्को सामना गरिरहँदा महानगरले फोहोरबाट बिजुली निकाल्ने योजना बनाएको थियो । तर, अहिले देश लोडसेटिङमुक्त भइसकेकाले महानगरको उक्त योजनाको सान्दर्भिकता नै रहेन । महानगरले यो विषयलाई प्राथमिकतामा नराखेपछि मेसिनहरुमा खिया लाग्न थालेको छ ।

महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार मेसिन किन्न मात्रै दातृ निकायको सहयोगमा १ करोड ८६ लाख रुपैयाँ खर्च गरिएको थियो । यसबाहेक पनि मेसिन ढुवानी, व्यवस्थापन लगायत गरी ३ करोड रुपैयाँ हाराहारीमा महानगरले खर्च गरिसकेको छ ।

सडेगलेका फोहोरबाट बिजुली निकाल्ने महानगरको तत्कालिन सोच आफैंमा सही थियो । चरम लोडसेडिङका बेला यसले थोरै भए पनि राहत दिन सक्ने विश्वास महानगरबासीले लिएका थिए । यद्यपि, कतिपयले यसलाई ‘हावादारी योजना’ भनेर नउडाएका पनि होइनन् ।

फोहोरबाट बिजुली निकाल्न काठमाडौं महानगरलाई युरोपेली युनियनले आर्थिक सहयोग गरेको थियो । महानगरले मेसिन खरिद गरेर सफल परीक्षण समेत गरेको थियो । तर, त्यसलाई प्रयोगमा ल्याउन सकेको थिएन ।

जतिबेला फोहोरबाट बिजुली निकाल्ने योजना सार्वजनिक भयो त्यसबेला काठमाडौं महानगरमा दैनिक ५ सय टन फोहोरमैला उत्पादन हुने गरेको थियो । त्यसमध्ये ३ सय टन फोहोर विद्युत उत्पादनका लागि प्रयोग गर्न सकिने महानगरले बताएको थियो । सो फोहोरबाट १४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य थियो ।

टेकुमा रहेको प्लान्ट अहिले काम नलाग्ने अवस्थामा पुगेको छ । फोहोरबाट ग्यास उत्पादन गर्ने र त्यस ग्यासबाट बिजुली उत्पादन गर्ने महानगरको योजना थियो । ग्यास भण्डारणका लागि ल्याइएको रबर बेलुन अहिले कुहिएर आफैं फोहोरमा परिणत भएको छ ।

महानगर अनिर्णित

महानगरका तत्कालिन वातावरण विभाग प्रमुख हरिबहादुर कुँवरले मेसिन मर्मत गरेर प्रयोगमा ल्याउने एक वर्ष अगाडि बताएका थिए । उत्पादित बिजुली महानगरपालिकाको कार्यालय प्रयोजनमा तथा स्थानीय बासिन्दालाई बेच्नेगरी परीक्षणसमेत गरिएको उनको भनाइ थियो ।

तत्कालिन विभागीय प्रमुख कुँवर सरुवा भएर अहिले महानगरको सहरी सुव्यवस्था विभागका प्रमुख छन् । उनको ठाउँमा अहिले हरिकुमार श्रेष्ठ आएका हुन् । प्लान्टलाई के गर्ने भन्ने विषयमा अहिले कुनै निर्णय नभएको श्रेष्ठ बताउँछन् ।

महानगरका प्रवक्ता इश्वरमान डंगोलले जनप्रतिनिधि निर्वाचित हुनुभन्दा अघिकै प्रक्रिया अनुसार मेसिन खरिद गरेर ल्याइएको बताए । स्थानीय तहको निर्वाचनबाट नयाँ जनप्रतिनिधि आएपछि केहि समस्याहरु देखिएर बन्द भएको मेसिन अहिलेसम्म शुचारु नभएको उनको भनाइ छ ।

‘यसर्लाइ अब के गर्ने भन्ने विषयमा कुनै निर्णय लिइएको छैन,’ डंगोलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment