Comments Add Comment

भन्सारमा घुस लिने ज्वाइँ, जग्गा किनेर बकस दिने जेठान !

२७ मंसिर, काठमाडौं । भोजपुर, षडानन्द नगरपालिका–११ का कृष्णबहादुर बस्नेत भारतले नाकाबन्दी लगाउनु अगाडि प्रमुख भन्सार अधिकृतका रुपमा विराटनगर भन्सार कार्यालय पुगे । झण्डै दुई वर्ष काम गरेका उनले २०७४ मा विराटनगर छाडे । उनले विराटनगर छाड्दा राम्रै धन कमाएर गएको चर्चा थियो ।

त्यसपछि तातोपानी भन्सारमा पुगेका उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नजरमा परे । छानबिनका क्रममा २०४५ सालमा लेखापालबाट सार्वजनिक सेवा प्रवेश गरेका बस्नेतले साढे १० करोड रुपैयाँ अवैध सम्पत्ति जोडेको भेटियो ।

यति मात्र होइन, उनीविरुद्ध विराटनगरमा हुँदा १७ लाख घुस लिएको अर्को मुद्दामा परेको छ ।

काटमाडौं–४ धुम्बाराही बस्ने बस्नेत उपसचिव हुन् । अख्तियारका अनुसार सेवा प्रदेश गरेदेखि २०७६ असार मसान्तसम्म उनको समग्र आयव्यय तथा लगानी विश्लेषण गर्दा १ करोड ७८ लाख २० हजार ९७५ रुपैयाँ ८२ पैसा देखिएको छ । यसमा पारिश्रमिक बचत, घरजग्गा बिक्री, ऋण सापटी, घर बहाल, शेयर लाभांश, कृषि आय, भ्रमण भत्ता, सुन बिक्री, अंशबण्डाबाट प्राप्त आय, कमिशन तथा पुरस्कार र बिमा सबै जोडिएको छ । यो अवधिमा उनको खर्च तथा लगानी ३ करोड १३ लाख ५९ हजार ७९३ रुपैयाँ ७३ पैसा देखियो ।

आय भन्दा व्यय १ करोड ३५ लाख ३८ हजार ८१७ रुपैयाँ ९१ अधिक देखिएको अख्तियारले जनाएको छ । प्रमुख भन्सार अधिकृत रहँदा बस्नेतले विदेशबाट नेपाल आयात गर्ने सामानहरुको भन्सार छुटाउँदा घुस लिने गरेको अख्तियारको दाबी छ । अनुसन्धानका क्रममा उनले विराटनगरमा रहँदा क्यारिङ व्यवसायीसँग १७ लाख घुस लिएको भेटियो । यो उनीविरुद्ध अर्को मुद्दा बन्यो ।

भन्सारमा बस्दा घुस लिएको रकम भने उनले खाँदबारी–१ संखुवासभाका जेठान नविनकुमार गौली र उनको परिवारका सदस्यहरुको नाममा लुकाएको भेटिएको छ । यस्तो रकम ९ करोड २१ लाख ५२ हजार ७९२ रुपैयाँ भएको अख्तियारको दाबी छ ।

‘कतिपय रकमहरु कृष्णबहादुर बस्नेतले विभिन्न व्यक्ति तथा कम्पनीमा नगदै बुझाउने र सम्पत्ति शुद्धिकरण गर्ने र लुकाउने उद्देश्यले कम्पनीकै नामको बैंकको चेक एवं कम्पनीमा कार्यरत कर्मचारीमार्फत समेत नबिनकुमार गौलीले प्राप्त गर्ने गरी चेक तथा नगद जम्मा गर्ने गरेको समेत पाइयो’ अख्तियारको विज्ञप्तिमा भनिाएको छ ।

घुस लिएको रकमलाई वैध बनाउन बस्नेतले जेठान गौलीको नाममा जग्गा जमिन खरिद गरी बकसको रुपमा फिर्ता लिने गरेको समेत अनुसन्धानका क्रममा खुल्यो । कतिपय रकम भने होटल र अन्य व्यवसायमा समेत लगानी गरेको भेटिएको छ ।

बस्नेत विराटनगर भन्सारमा रहँदा गौलीले खाँदबारी बजार र आसपास क्षेत्रमा करिब १०० रोपनी जग्गा खरिद गरेका थिए भने करिव १० करोड लागतमा आरती होटल बनाए । अर्बिट इनर्जी प्रालिमा २ करोड रुपैयाँ भन्दा बढी लगानी गरे । यसरी गरेको लगानीमा गौलीले ऋण, कृषि आय, जग्गा बिक्रीलगायतबाट भएको आयको तुलनामा निकै अस्वाभाविक देखिएको अख्तियारको ठहर छ ।

बस्नेतले १० करोड ५६ लाख ९१ हजार ६०९ रुपैयाँ ९१ पैसा गैरकानूनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा हालेको छ । बस्नेतको स्रोत नखुलेको सम्पत्ति बराबर बिगो कायम गरिएको छ ।

उपसचिव बस्नेतको अकुत सम्पत्ति लुकाउन मतियार बनेको आरोप लागेका जेठान गौलीको हकमा ९ करोड २१ लाख ५२ हजार ७९२ रुपैयाँ विगो कायम गरिएको छ र, बस्नेतलाई सरह सजाय हुनुपर्ने अख्तियारको मागदाबी छ ।

यस्तै बस्नेतकी श्रीमती सबिता गौली बस्नेत, गौलीकी श्रीमती सकुन्तला र छोरा शुलभलाई समेत मुद्दामा प्रतिवादी बनाइएको छ । बस्नेतले घुस लिएको रकम जेठानले पाउने गरी सकुन्तला गौली र शुलभ गौलीको नाममा रहेको बैंक खाताहरुमा समेत पठाउने गरेको र उनीहरुकै नाममा चल अचल सम्पत्ति खरिद गर्नुका साथै होटल व्यवसायमा लगानी गरेको पाइएको भन्दै अख्तियारले उनीहरुलाई पनि अकुत सम्पत्तिको मुद्दामा प्रतिवादी बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment