Comments Add Comment

मसालका महामन्त्री मोहनविक्रम सिंह हिँड्दाहिँड्दै लडे, रिपोर्ट सबै ‘सामान्य’

सडकमा लडेपछि अस्पतालमा पुर्‍याइएका मोहन विक्रम सिंह ह्वीलचेयरमा । तस्वीर : अनलाइनखबर

२८ मंसिर, बुटवल । नेकपा मसालका महामन्त्री एवं अर्धभूमिगत नेता मोहनविक्रम सिंह बुटवलमा पैदल हिँड्दै गर्दा एक्कासी लडेका छन् । ८४ वर्षीय सिंह शुक्रबार साँझ मिलनचोकको आकाशे पुलनेर सडक पेटीमा एक्कासी लडेका हुन् ।

सडकमा लडेपछि उनको कालिकानगरस्थित चौराहा हस्पिटल प्रालिमा उपचार गरिएको छ । उक्त हस्पिटलमा सिटीस्क्यान लगायतका परीक्षण गरेर करिब दुई घण्टापछि सिंह राति नै घर फर्किएका छन् ।

स्वास्थ्य परीक्षण गर्दा सबै रिपोर्टहरु सामान्य देखिएको चौराहा हस्पिटल प्रालिका डा. विवेक मल्लले बताए । ‘निधार सामान्य सुन्निएको छ, अरु चोटपटक र समस्या देखिएन,’ उनले भने ।

बुटवलको चाँदबारीमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय समितिको बैठकमा बोलेर चौराहातर्फ पैदल जाँदै गर्दा उनी लडेका थिए । रिंगटा लागेर वा अल्झिएर के कारणले उनी लडे भन्ने खुलेको छैन ।

महामन्त्री सिंहलाई अस्पताल पुर्‍याइएपछि श्रीमती एवं संघीय सांसद दुर्गा पौड्याललगायत राष्ट्रिय जनमोर्चाका नेता/कार्यकर्ता अस्पतालमा पुगेका थिए । जनमोर्चाका नेताहरुले घटना सामान्य भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment