 
																			२८ मंसिर, काठमाडौं । बैंकर सुदेश खालिङ केही साता अघिमात्रै सिटिजन्स बैंकको सञ्चालकमा नियुक्त भए । लामो समय बैंकको कर्मचारी भएर काम गरेका खालिङ पछिल्लो समय लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए ।
सीईओको कार्यकाल सकिएपछि केही महिना विदेश पुगेका खालिङ अहिले बैंकको नीति निर्माण गर्ने तहमा पुगेका हुन् । खालिङभन्दा अघि सिटिजन्स बैंककै सीईओको रुपमा लगातार २ कार्यकाल काम गरेका राजनसिंह भण्डारी अहिले सोही बैंकको अध्यक्ष भएका छन् ।
बैंकको सञ्चालक समिति व्यवस्थापिका अर्थात नीति बनाउने एउटा प्रमुख अंग हो । नेपालमा व्यवस्थापिका सांसदले बनाएको कानून कार्यान्वयन गर्न कार्यकारी अधिकारसहितको सरकार भएजस्तै बैंकमा प्रमुख कार्यकारी अधिृकत (सीईओ) हुन्छन् । सञ्चालक समितिले गरेका निर्णयहरु बैंकका सीईओले नै कार्यान्वयन गराउँछन् ।
तिनै कार्यकारी अधिकारसहित बैंकको नेतृत्व गरिरहेका बैंकरहरु आफ्नो कार्यकाल पूरा भएसँगै बैंकको बोर्ड (सञ्चालक समिति) मा जाने क्रम बढेको छ । सञ्चालक बैंकका लगानीकर्ताबाट चुनिन्छन् भने सीईओको नियुक्ती सञ्चालक समितिले गर्छ । एक व्यक्ति २ कार्यकालभन्दा बढी एकै बैैंकमा सीईओ हुन नपाउने कानूनी व्यवस्था छ । यसकारण पनि सीईओको पदावधि सकिनेवित्तिकै बैंकरहरु सञ्चालक समितिमा जाने गरेका हुन् ।
को-को पूर्वसीईओ बने सञ्चालक ?
खालिङ र भण्डारी मात्रै होइन धेरै बैंकका सीईओ आफ्नो कार्यकाल पूरा गरेपछि बैंकको सञ्चालक भएका छन् । सीईओको पदावधि सकिएपछि बैंकको सञ्चालक बन्नेहरुमा पृथ्बीबहादुर पाँडे, उपेन्द्र पौडेल, राधेश पन्त, कृष्णप्रसाद शर्मा, किशोर महर्जन, उदयकृष्ण उपाध्यायलगायत छन् ।
प्रमुख कार्यकारीबाट सञ्चालक समितिमा गएका पृथ्बीबहादुर पाँडे अहिले पनि नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष हुन् । उनले इन्भेष्टमेन्ट बैंकको कार्यकारी अध्यक्षको रुपमा लामो समय काम गरेका थिए । बैैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)ले सञ्चालक समितिमा बसेको व्यक्ति कार्यकारी प्रमुख बन्न नसक्ने व्यवस्था गरेपछि सञ्चालक समितिमा मात्रै बसेका हुन् ।

कानून बनाउने र कार्यान्वयन गर्ने व्यक्ति फरक हुनुपर्ने भन्दै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा यस्तो व्यवस्था गरिएको छ ।
अर्का चर्चित बैंकर उपेन्द्र पौडेल अहिले नेपालको पहिलो ज्वाइन्ट भेञ्चरको बैंक नविलको सञ्चालक समितिमा छन् । वाणिज्य बैंकका सीईओहरुको छाता संस्था बैंकर्स संघको अध्यक्षसमेत भइसकेका उनी एनएमबी बैंकमा कार्यकाल सकिएपछि नविलको सञ्चालक बनेका हुन् ।
अर्का पूर्वबैंकर राधेश पन्त पनि अहिले बैंक अफ काठमाण्डूको सञ्चालक समिति सदस्य छन् । उनी बैंक अफ काठमाण्डू, कुमारी बैंक लगायतको कार्यकारी प्रमुख भइसकेका व्यक्ति हुन् । उनी लगानी बोर्डको समेत सीईओ थिए । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका उदयकृष्ण उपाध्याय पनि युनाइटेड इन्स्योरेन्स कम्पनीको अध्यक्ष बनेका थिए ।
गत शुक्रबार मात्रै जनता बैंक र ग्लोबल आइएमई बैंक मिलेर बनेको नेपालकै ठूलो वाणिज्य बैंकको सञ्चालक समितिमा कृष्णप्रसाद शर्मा छन् । उनी पनि पूर्वसीईओ हुन् । नेपालको एकमात्रै पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको कार्यकारी प्रमुख भइसकेका शर्मा ग्लोबल आइएमई बैंकको सञ्चालक बनेका हुन् ।
ललितपुर पेट्रियट्स नामक क्रिकेट टिमको अध्यक्षसमेत रहेका किशोर महर्जन पनि सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका व्यक्ति हुन् । सीईओको कार्यकाल सकिएपछि उनले क्रिकेट क्लबको नेतृत्व गरे । उनी प्रोग्रेसिभ फाइनान्स कम्पनीको सञ्चालक समिति अध्यक्ष छन् ।
विकास बैंकका सीईओहरुको छाता संगठनको अध्यक्षसमेत भइसकेका भरतराज ढकाल मुक्तिनाथ विकास बैंकमा दुई कार्यकाल सीईओ भएर बाहिरिए । अहिले उनी सोही बैंकको अध्यक्ष बन्ने तरखरमा छन् ।
राष्ट्र बैंक भन्छ- राम्रै कुरा हो
दुई कार्यकालभन्दा बढी एउटै बैंकमा सीईओ हुन नपाउने कानूनी व्यवस्था गर्ने राष्ट्र बैंक सीईओको जागिर सकिएर सञ्चालक बन्नेहरुको सन्दर्भमा सकारात्मक नै छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौला काम सिकेको व्यक्ति बैंकको सञ्चालक समितिमा पुग्नु राम्रै कुरा भएको बताउँछन् ।
‘धेरै सीईओहरु जागिर छाडेर सञ्चालक समितिमा जानु भएको छ, यो हामीलाई थाहा छ,’ उनले भने, ‘यो नराम्रो हुँदै होइन, बैंकबारे बुझेको मान्छे बोर्ड जान्छ भने उसले राम्रो नीति बनाउँछ । बैंकलाई पनि राम्रै हुन्छ ।’
पूर्वबैंकर अनलराज भट्टराई सीईओ बोर्डमा जाने प्रचलन नेपालमा मात्रै नभएर विश्वका धेरै देशमा रहेको बताउँछन् । प्रमुख कार्यकारी अधिकृत भइसकेका भट्टराई आफू भने कुनै बैंकको सञ्चालक भएका छैनन् । तर सीईओ भइसकेको व्यक्ति सञ्चालक हुँदा बैंकलाई सकारात्मक असर पर्ने उनको बुझाइ छ ।
‘सीईओ भइसकेको मान्छेले बैंकबारे धेरै बुझेको हुन्छ, के गर्दा राम्रो हुन्छ, के गर्दा नराम्रो हुन्छ भन्ने बुझेको मान्छेलाई सञ्चालक समितिमा लैजानु राम्रो हो,’ पूर्व बैंकर भट्टराईले भने, ‘तर सीईओ भइसकेपछि धेरै बुझेका कारण अनावश्यक टर्चर दिन पनि भएन, सफा नियतले काम गर्ने हो भने धेरै राम्रो हुन्छ ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4