Comments Add Comment

बालबच्चा हुर्काउने कला : तपाईं कस्ता अभिभावक ?

हामी देख्छौं थुप्रै बालबच्चा गह्रौ ब्याग पिठ्युँमा भिरेर विद्यालय धाइरहेका हुन्छन् । त्यो भारीमा पुस्तक, कपी र पेन्सिल मात्र हुँदैन, अभिभावकको अपेक्षा पनि हुन्छ । हो त, अभिभावक र शिक्षक/शिक्षिकाको अपेक्षाको बोझिलो भारी बोकेर अधिकांश बालबच्चा विद्यालय धाइरहेका छन् ।

अभिभावक भन्छन्, तिमीले राम्रो पढ्नुपर्छ । राम्रो अंक हासिल गर्नुपर्छ । राम्रो मान्छे बन्नुपर्छ । राम्रो जागिर खानुपर्छ ।

पढेर के सिक्ने वा के जान्ने भन्दापनि बच्चाहरु अभिभावक र शिक्षक/शिक्षिकाको अपेक्षा पुरा गर्ने दौडमा लाग्छन् । कसरी नयाँ कुरा जान्ने भन्दा पनि कसरी राम्रो अंक हासिल गर्ने भन्ने कुरामा केन्द्रित हुन्छन् ।

कतिपय अवस्थाहरुमा जीवनमा जे-जे कुरा हामीले हाँसिल गर्न सक्दैनौं, ती सबै कुराहरु हामी हाम्रा सन्तानहरुको माध्यमबाट साकार गर्ने सपना पालेर बसेका हुन्छौं । त्यसका लागि हामी उनीहरुमाथि लगातार दबाब दिन थाल्छौं । त्यसरी दबाब नदिएरै बालबालिकाहरुलाई प्रोत्साहन कसरी गर्न सकिन्छ ? ताकि तपाईं आम नेपाली अभिभावकहरुभन्दा फरक बन्न सक्नुहोस् ।

कमजोरी देखाउनुको साँटो प्रशंसा गरौं

तपाईंको छोराले स्कूलको आर्ट क्लासमा जुन आधा-अधुरो चित्रकला गरेका छन् । तपाईंले त्यसको पनि प्रशंसा गरिदिनुहोस् । अथवा तपाईंकी छोरी जसरी आफ्ना हजुरबुबा-हजुरआमाका लागि ढोका खोल्छिन्, त्यसलाई पनि सराहना गर्नुहोस् ।

यदि तपाईं आफ्ना छोराछोरीहरुलाई उचित ढंगले प्रोत्साहित गर्न चाहनुहुन्छ भने त्यसमाथि आफ्नो धारणा नथोपर्नुहोस् । मनोविद्हरुका अनुसार तपाईंका छोराछोरीहरुले जे-जस्तो उपलब्धी हाँसिल गर्छन्, त्यसप्रति गर्व गर्नु अति नै अनिवार्य छ ।

जबर्जस्ती धेरै गतिविधिको अंग नबनाऔं

आफ्ना छोरा-छोरीलाई जबर्जस्ती धेरै प्रकारका गतिविधिहरुमा सहभागिता जनाउन समेत बाध्य पार्नुहुँदैन । केटाकेटीहरुलाई केही समयका लागि स्वतन्त्र समेत हुन दिनुपर्छ । त्यसै पनि उनीहरु स्कूलको अध्ययनमै निकै व्यस्त रहन्छन् । उनीहरुलाई पनि स्वयंका लागि समय चाहिन्छ । त्यसैले उनीहरुलाई धेरैभन्दा धेरै गतिविधिहरुमा सहभागी गराइरहनु पर्दैन । मनोविद्हरुका अनुसार कुनै पनि गतिविधिमा सहभागिता गराउनुअघि बालबालिकाहरुको क्षमतालाई बुझ्नुपर्छ । यसो गर्दा उनीहरु पनि खुशी हुन्छन् ।

निर्णय लिने मौका 

बालबालिकाहरुको विकास त्यो बेला मात्र हुन्छ । जब उनीहरु आफ्नो फैसला आफैं लिन सिक्छन् । एउटी अभिभावक भन्छिन्-‘मेरी छोरी चित्रकला सिक्न चाहन्थिन् । तर, मैले के चाहेकी थिएँ भने उनले बेली डान्स सिकून् । तर, बेली डान्सको क्लासमा उनी अधिकांश समय एउटा कुनामा बसिरहन्थिन् ।’ उनलाई आफ्नी छोरीले बेली डान्सको कक्षामा रमाउन नसकेको कुरा बुझ्न गाह्रो भएन । लगत्तै उनले आफ्नी छोरीलाई चित्रकलाकै कक्षामा भर्ना गरिदिइन् ।

हारलाई स्वीकार गर्नुपर्छ

बालबालिकाहरुलाई आफ्नो हारलाई समेत स्वीकार गर्न सिकाउनुपर्छ । उनीहरुलाई हार्नबाट डराउनुको साँटो उनीहरुलाई डटेर लड्न तथा हरेक प्रकारका परिस्थितहरुको सामना गर्न सक्ने तरिकाका बारेमा सिकाउनुपर्छ । उनीहरुलाई ‘चिन्ता नगर, जीवनमा अघि बढ्नका लागि अरु पनि मौका आउँछन्’ भनेर सम्झाउनुपर्छ ।

अरुसँग तुलना नगरौं

हरेक बच्चाहरु एक-अर्काबाट अलग हुन्छन् र हरेक बच्चाको सिक्ने तथा अघि बढ्ने गति पनि अलग-अलग हुन्छ । तपाईंका छोरा-छोरीहरु तपाईंकै साथीका छोरा-छोरीभन्दा पढाईमा अब्बल हुनै पर्छ भन्ने छैन । हुनसक्छ, तपाईंका सन्तानमा त्यस्ता धेरै गुणहरु होलान् । जुन उनकै अन्य साथीहरुसँग नहोस् । त्यसैले अन्य बच्चाहरुसँग आफ्नो बच्चाको तुलना कहिले पनि गर्नुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment