६ मंसिर, चितवन । जेनजी आन्दोलनका बेला भएको तोडफोड र आगजनीका कारणले बन्द भएको पूर्वी नवलपरासीको गैंडाकोटस्थित मौलाकाली केबलकार आजदेखि सञ्चालनमा आएको छ ।
भदौ २४ गते तोडफोड र आगजनी गरेपछि केबलकारको बटमस्टेशनमा करोडौंको क्षति पुगेको थियो । झण्डै २ महिनाभन्दा बढी समय बन्द रहेको केबलकार शनिबार आजदेखि व्यवसायिक रूपमा सञ्चालनमा आएको केबलकारका स्टेसन म्यानेजर सुरज पौडेलले जानकारी दिए ।
उनका अनुसार क्षतिग्रस्त भएको केवलकारको बटम स्टेशनमा रहेको कार्यालय भवन, फर्निचरलगायत प्राविधिक उपकरणहरुको मर्मत तथा सामान फेरेपछि केबलकार सञ्चालनमा आएको हो ।
केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरबाट सामानसहितका प्राविधिकहरु आएर केबलकार पुनर्निर्माण गरेका हुन् ।
पुनर्निर्माणपछि पनि डोपलमायरका दक्ष प्राविधिक इन्जिनियरको टोलीले लामो समय चेकजाँच गरेपछि केबलकारलाई ब्यवसायिक रूपमा सञ्चालनमा ल्याइएको स्टेशन म्यानेजर सुरज पौडेलले बताए ।
‘केवलकार सञ्चालनमा आएर करिब एक हप्तासम्म विभिन्न सूक्ष्म परीक्षणहरु गरी सम्पूर्ण रुपमा ठीक भएको पाइएपछि मात्रै बल्ल हामीले आम सर्वसाधारणका लागि खुल्ला गरेका हौं’, पौडेलले भने, ‘सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो, त्यसैले केबलकार चल्न थालेको एक हप्तासम्म धेरै सुरक्षा जाँचहरु गरेर बल्ल औपचारिक रूपमा सञ्चालनमा ल्यायौं ।’
स्टेशन म्यानेजर पौडेलका अनुसार अब केबलकार पूर्ववत तालिका अनुसार बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ ।
केबलकारको सेवा अवरुद्ध हुँदा माथिल्लो स्टेशनमा रहेको इला रिसोर्टको सेवा पनि प्रभावित हुन पुगेको थियो । होटलको सेवा यथावत नै भए पनि केवलकार नै नचलेपछि सेवाग्राही ग्राहकहरु नै कम आउने गरेका थिए ।
अब केबलकार सञ्चालनमा आएपछि होटलको अकुपेन्सी बढ्ने इला रिसोर्ट तथा मौलाकाली केबलकारका महाप्रबन्धक अरबिन्द्र केसीले बताए ।
केबलकारको सेवा अवरुद्ध हुँदा मौलाकालिका मन्दिरमा आउने भक्तजनको संख्यामा समेत गिरावट आएको थियो ।
केबलकार सञ्चालनमा आएपछि मन्दिरमा आउने भक्तजनको संख्यामा ३० प्रतिशतभन्दा बढीले वृद्धि भएकोमा पछिल्लो समय केबलकार नचल्दा मन्दिरमा भक्तजनको चहलपहल नै निकै कम देखिएको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले बताए । ‘मन्दिरमा धेरै भक्तजनहरु आउने दशैं तिहार जस्ता चाडपर्वमा हो, यसपटक केबलकार नचल्दा सोचेजस्तो भक्तजन आएनन, अघिल्ला वर्षहरुको तुलनामा मन्दिरमा भेटी पनि कम चढ्यो” सापकोटाले भने टाढाबाट आउने भक्तजन, वृद्वउमेरका मानिसहरू आउन सक्नुभएन ।’
२०८० साल वैशाखदेखि सञ्चालनमा आएको मौलाकाली केबलकारबाट करिब ६ लाख सेवाग्राहीले सेवा लिईसकेको तथ्यांक छ ।
प्रतिक्रिया 4