Comments Add Comment

अमानवीय व्यवहार प्रदर्शन हुने ‘हात्ती महोत्सव’ नगर्न पेटाको आग्रह

२९ मंसिर, चितवन । क्षेत्रीय होटल संघ सौराहाले हरेक वर्ष आयोजना गर्ने हात्ती महोत्सव नगर्न जनावरको अधिकारको क्षेत्रमा काम गरिरहेको एक संस्थाले अनुरोध गरेको छ । पिपुल फर दि इथिकल ट्रिटमेण्ट अफ एनिमल्स (पेटा) नामक संस्थाले महोत्सवका नाममा हात्तीलाई दिइने अमानवीय तथा क्रुरतापूर्ण व्यवहारलाई रोक्न विज्ञप्ती मार्फत अनुरोध गरेको छ ।

गत वर्ष पेटाले महोत्सवका क्रममा हात्तीलाई यातना दिने गरिएको भिडियोसहितको सामाग्री तयार गरेर सार्वजनिक गरेको थियो । पेटाले तयार गरेको १ मिनेट २० सेकेन्ड लामो भिडियोमा केही माहुतेहरुले हात्तीलाई कुटेको, घाउ बनाएको र हात्तीले आँखाबाट आँसु निकालेको देखाइएको छ ।

पेटाले गरेको दाबी अनुसार भिडियो सामाग्रीहरु प्रसारण भएपछि महोत्सवका पूर्व प्रायोजकहरुले हात्ती महोत्सवसँग आफ्नो सम्बन्ध तोडेका छन् । पेटाले भनेको छ, ‘अबोध पशुप्रतिको क्रुरतालाई बेवास्ता गर्नाले नेपाल भ्रमण वर्ष २०२० को अभियानमा कलंक लाग्ने काम मात्रै हुन्छ ।’

अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसर पारेर विदेशी पर्यटक स्वदेश फर्कने भएकोले उनीहरुलाई सौराहामा नै रोक्ने उद्धेश्यले हात्ती महोत्सव गर्ने गरिएको हो ।

पछिल्ला वर्षहरूमा विदेशी पर्यटकभन्दा पनि बढी स्वदेशी पर्यटक हात्ती महोत्सवमा आउने गरेका छन् । महोत्सवलाई यहाँका पर्यटन व्यवसायीहरुले पर्यटक आर्कषण गर्ने प्रमुख माध्यम बनाएका छन् । सौराहाका व्यवसायीका निजी हात्ती र हात्ती प्रजनन् केन्द्रका हात्तीहरु जुटाएर हरेक वर्ष हात्ती महोत्सवको गर्दै आएका छन् । गएको वर्ष भएको हात्ती महोत्सवमा चितवन राष्ट्रिय निकुञ्जका ५ हात्ती सहभागी थिए । सौराहामा ५७ वटा निजी हात्ती छन् । ती मध्ये ७० प्रतिशत हात्ती महोत्सवमा सहभागी हुन्छन् । १६ औं संस्करणको महोत्सव आगामी पुष ११ गतेदेखी १८ गतेसम्म सौराहाको वाघमारा चौरमा आयोजना हुँदैछ ।

महोत्सवमा हात्तीहरुको वनभोज कार्यक्रम, हात्ती फास्ट वाक प्रतियोगिता, छावाहरुको रोचक फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती पेन्टिङ प्रतियोगिता हुन्छ । २०६० सालबाट सुुरु गरिएको हात्ती दौड प्रतियोगिताको बिरोध भएपछि आयोजकले २०७० सालमा आएर हात्ती महोत्सव नामाकरण गरिएको थियो । हात्ती दौड प्रतियोगिताको नेपालकै संरक्षणकर्मीहरुले पनि विरोध गरेपछि हात्ती वाक को नामाकरण गरिएको छ । एनिमल राइर्टस् क्लव टाँडीका प्रमुख संस्थापक एवम् अभियन्ता सुराजन श्रेष्ठले पछिल्ला वर्षहरुमा हातीलाई दुःख दिने काममा कमी आएको बताए । तर, हात्तीपोलो जस्तो क्रुर खेल थप गरेर आयोजकले फेरि हातीलाई दुःख दिने गरेको उनको तर्क छ ।

पेटाले नेपाली ट्राभल कम्पनी, टाइगर टप्सले अन्तर्राष्ट्रिय हात्ती पोलो प्रतियोगिता आयोजना गर्न बन्द गरेको र हात्ती सफारी पनि बन्द गरेको जनाएको छ । गत वर्ष थाइल्याण्डमा भएको हात्तीपोलो प्रतियोगिता पेटाको अनुरोधमा बन्द गरिएको उसको दावी छ । भारत र श्रीलंकामा पनि हात्तीपोलो प्रतियोगिता खारेज गरिएको पेटाको भनाइ छ ।

सौराहामा गाडा दौड, टाँगा दौड जस्ता प्रतियोगिता पनि महोत्सवबाट हटेका छन् । महोत्सव आयोजकले भने हात्तीलाई यातना नदिएको दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment