Comments Add Comment

कमजोर छैनन् तपाईंको बच्चा

तुलना नगरौं, बच्चाको रुची र क्षमता बुझौं

आमाको काखमा छँदासम्म कुनैपनि बालबच्चा कमजोर वा अब्बल हुँदैनन् । तर, जब उनीहरु विद्यालयमा पाइला टेक्छन्, कमजोर र अब्बलको कित्ताकाट सुरु हुनथाल्छ । विद्यालयले नै कुनै बच्चालाई ‘अब्बल’ र कुनै बच्चालाई ‘कमजोर’ भनी विभाजन गर्न थाल्छ ।

जबकी हरेक बच्चा आफैँमा कमजोर हुँदैनन् । हरेक बच्चासँग कुनै न कुनै जन्मजात गुण हुन्छ । उनीहरुको आफ्नो छुट्टै क्षमता र रुचि हुन्छ । जब हामी एउटा बच्चालाई अर्कोसँग तुलना गर्न थाल्छौं । तब हामीलाई कोही कमजोर र कोही सबल लाग्न थाल्छ ।

समस्या हामीमा छ । भिन्दा भिन्दै बच्चालाई एकै ठाउँमा राखेर तौलनु नै हाम्रो गल्ती हो । हामी बच्चाको रुचि, खुबी पहिल्याउनतर्फ लाग्दैनौं । बरु आफूले तयार गरेको मापदण्डभित्र राखेर उनीहरुको क्षमता नाप्ने प्रयास गर्छौं । अभिभावकको ध्यान के हुन्छ भने, जसरी पनि बच्चाले राम्रो पढोस् । शिक्षकको ध्यान जसरी पनि विद्यार्थीबाट राम्रो रिजल्ट आओस् भन्ने हुन्छ ।

यसमा केही स्वार्थ लुकेका छन् । अभिभावकको स्वार्थ भनेको, ‘मेरो बच्चाले धेरै पढोस् । राम्रो जागिर पाओस् । भविष्य सुरक्षित होस् ।’ भन्ने हुन्छ भने शिक्षकको स्वार्थ ‘आफूले पढाएको विद्यार्थीले राम्रो अंक हाँसिल गरोस्, ताकि मेरो पदोन्नती वा तलबमा बृद्धि हुनसक्छ । विद्यालयको ब्रान्ड भ्यालु बढ्छ ।’ भन्ने हुन्छ ।

तर, बच्चा के चाहन्छन् ? उनीहरुले कहिल्यै सोध्दैनन् । बच्चा के कुरामा खुसी हुन्छन् ? उनीहरुले कहिल्यै चासो राख्दैनन् । बच्चाको खुबी के हो ? उनीहरुले कहिल्यै खोतल्दैनन् । त्यसैले एउटा बच्चा जब विद्यालय जान्छ, उनीहरुका कतिपय क्षमताहरु संकुचन हुनपुग्छ ।

शिक्षा पद्धति वा विद्यालयप्रति असहमति जनाउन खोजिएको होइन । कुनै आरोप लगाउन खोजिएको होइन । विद्यालय शिक्षा बेठिक भन्न खोजिएको पनि होइन । तर, हामीले जुन शिक्षण प्रणालीभित्र बालबालिकालाई समेट्दैछौं । त्यसले उनीहरुको सर्वाङ्गिण विकासमा होइन बरु नतिजामा मात्र ध्यान दिएको छ भन्न खोजिएको हो । र, वास्तविकता पनि त्यही हो ।

आमिरकै भनाई सापट लिऔं, ‘हरेक शैक्षिक संस्था भन्छ, मेरो रिजल्ट राम्रो छ । मेरो पढाई राम्रो छ । मैले पढाएको विद्यार्थीले टप गरेको छ ।’ तर, त्यसपछिको कुरा उसले भन्दैन । किनभने विद्यालयको भूमिका पनि त्यति नै हुन्छ । अर्थात् निश्चित परीक्षाहरुमा पास गराउनु । परीक्षामा उत्कृष्ट अंकका साथ पास गराएपछि विद्यालयको दायित्व पुरा हुन्छ ।

बच्चालाई अक्षरको बोझ

खासमा विद्यालयले लागि यस्तो आधार तय गर्नुपर्ने हो, जहाँ टेकेर बच्चाले आफ्नो क्षमता र खुबीलाई थप निखार्न सक्छन् । उनीहरुको आफ्नो बुद्धि, विवेक, क्षमताको विकास हुन्छ । त्यसकै उपयोगबाट भोलिका दिनमा केही गर्न समर्थ हुन्छन् । तर, हाम्रो विद्यालय शिक्षाले बच्चाको समग्र विकासमा होइन, केवल परीक्षाको रिजल्टमा ध्यान दिन्छ । त्यही कारण बच्चाहरु रिजल्टको पछाडि दौडन्छन् ।

अभिभावक पनि चाहन्छन्, आफ्नो बच्चाले परीक्षामा उत्कृष्ट अंक हासिल गरोस् । यसबाट के बुझिन्छ भने बच्चालाई शिक्षक वा अभिभावकले केवल प्रमाणपत्रका लागि पढाइरहेका छन् । विद्यालयले खुलमखुला भन्ने गरेका छन् । ‘हामीकहाँ पढेपछि विश्व बजारमा बिक्ने प्रमाणपत्र प्राप्त हुन्छ । तपाईं जहाँ पनि रोजगारका लागि एप्लाई गर्न सक्नुहुन्छ ।’

यसबाट के बुझिन्छ भने, शिक्षक र अभिभावक बच्चालाई केवल जागिरको लागि पढाइरहेका छन् । तर, पढ्नुको अर्थ जागिर मात्र हो त ? के शिक्षाको उद्देश्य राम्रो ठाउँमा रोजगार प्राप्त गर्नु हो ?

पक्कै होइन । शिक्षाको अर्थ शिक्षित हुनु हो । सभ्य हुनु हो । सु-संस्कृत हुनु हो । जान्ने, बुझ्ने हुनु हो । जीवनोपयोगी शिक्षा आर्जन गर्नु हो । यसका लागि बच्चालाई त्यही शिक्षा चाहिन्छ । जो उसले आफ्नो व्यवहारिक जीवनमा प्रयोग गर्न सक्छन् ।

अनावश्यक अक्षरको बोझ बोकाएर हुबहु प्रश्नोउत्तर गर्न लगाएर विद्यालयको ब्रान्ड भ्यालु बढाउनका लागि होइन, बच्चाको क्षमता विकासको लागि हुनुपर्छ शिक्षा ।

क्षमता विकास महत्वपूर्ण

अभिनेता आमिरको भनाई यहाँ पनि सान्दर्भिक हुन्छ । जो उनलाई  फिल्म ‘थ्रि इडियट’को विशेष प्रदर्शनपछि एक मजदुरले सोधेका थिए । मजदुरले आमिरसँग प्रश्न गरेका थिए कि फिल्मको अन्त्यमा तपाईं वैज्ञानिक हो भन्ने थाहा हुन्छ । तर, तपाईसँग त सर्टिफिकेट थिएन नि ? कसरी यस्तो हुन्छ ?’

यही प्रसंग उप्काउँदै आमिरले भनेका छन्, ‘त्यो एकदमै अहं प्रश्न थियो । म पढ्छु । परीक्षामा पास हुन्छु र मेरो हातमा प्रमाणत्र मिल्छ । त्यसबाट यति कुरा मात्र थाहा हुन्छ कि म पढेलेखेको हुँ कि होइन ? मैले कति पढेको छु ? तर, जब म आफैँ सक्षम छु । केही गर्ने क्षमता मसँग छ भने त्यो कागजको कुनै अर्थ रहँदैन ।’

खासमा हामीले पढ्ने भनेको प्रमाणपत्रका लागि होइन । बरु आफ्नो क्षमता विकासका लागि हो । जब हामीमा क्षमताको विकास हुन्छ । तब प्रमाणपत्रको कुनै भ्यालु रहँदैन । उदेकलाग्दो चाहिँ के छ भने अहिले विद्यालय तथा अभिभावकले विद्यार्थीबाट उत्कृष्ट प्रमाणपत्रको अपेक्षा गर्छन् ।

जबकी उनीहरुको क्षमता के छ ? के कुरामा रुचि छ ? के बन्न चाहन्छ ? कस्तो जीवनमा रमाउन चाहन्छ भन्ने कुरालाई पटक्कै ध्यान दिँदैनन् । जबरजस्ती पुस्तकको पाठ घोकाएर प्रमाणत्रको दौडमा मिसाइदिन्छन् । यस्तो रिले दौड दौडाइएकै कारण बच्चाहरु भोलिका दिनमा डिग्रीको प्रमाणपत्र काखीमा च्यापेर रोजगारका लागि भौतारिने गर्छन् ।

बच्चालाई पढाउनु भनेको उनीहरुलाई जबरजस्ती पाठ घोकाउनु होइन । कुनै कुरा जान्ने बनाउनु होइन । बच्चालाई पुस्तक घोकाउनुअघि, पाठ रटाउनुअघि के ख्याल गर्नुपर्छ भने बच्चाको खुबी के कुरामा छ ? उसको रुचि के छ ?

बच्चाको यही कुराले उसलाई कस्तो शिक्षा दिने भन्ने मार्गदर्शन गर्छ । कसरी शिक्षा दिने भन्ने कुरा पनि बुझ्न सकिन्छ । अभिनेता आमिरले ती प्रश्नकर्ता मजदुरसँग प्रतिप्रश्न गर्छन्, ‘के तपाईंलाई लाग्छ म राम्रो अभिनेता हुँ ?’

मजदुरले भनेछन्, ‘हो, लाग्छ ।’

आमिरले सारमा यसो भनेछन्, ‘तर, म राम्रो अभिनेता हुँ भन्ने प्रमाणपत्र मसँग छैन । यद्यपि तपाईंलाई विश्वास छ कि म राम्रो अभिनेता हुँ भन्ने कुरा । जब हामी सक्षम हुन्छौं । सफल हुन्छौं । तब हामीलाईं प्रमाणत्रको औचित्य रहन्न ।’

उनकै भनाई यहाँ सान्दर्भिक छ । बच्चालाई शिक्षा दिनु भनेको ज्ञानी बनाउनु मात्र होइन । सक्षम र उत्तरदायी नागरिक बनाउनु पनि हो । भोलि गएर उसले सहज रुपमा आफ्नो जीवन व्यतित गर्न मात्र होइन अरुको मद्दत गर्न पनि सकोस् । अरुको मुहारमा खुशी ल्याउन सकोस् । तर, के तपाईं-हामीले बच्चालाई यस किसिमको वातावरण दिएका छौं ?

हरेक बच्चाको आ-आफ्नै खुबी हुन्छ । क्षमता हुन्छ । त्यसलाई पहिचान गरेर त्यसलाई कसरी फलाउने, फुलाउने भन्ने कुरामा हामीले सहयोगी भूमिका खेल्ने हो ।

सबै बच्चा एकनास हुँदैनन् । सबैले एउटै कुरालाई एकै हिसाबले बुझ्दैनन् । उनीहरुको सोचाईं, बुझाईं, ग्रहण गर्ने क्षमता पनि एकनास हुँदैन । बच्चाहरुको यी भिन्दा भिन्नै प्रवृत्तिलाई बुझेर सही ढंगले उनीहरुको क्षमता विकास गराउनका लागि हामीले सहयोग गर्नुपर्छ । किनभने कुनैपनि बच्चा आफैँमा कमजोर हुँदैनन् । कमजोर त हाम्रो परीक्षा प्रणालीले देखाउने हो । प्रमाणत्रले देखाउने हो । तर, वास्तवमा बच्चा कमजोर हुँदै हुँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment