Comments Add Comment

बुटवल ‘मानव सभ्यताको शहर’ बन्दै

३० मंसिर, बुटवल । बुटवललाई सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा गर्ने तयारी तीव्र पारिएको छ ।

सडकपेटी र सार्वर्जनिक स्थलहरुमा रहेका सहयोगापेक्षी बृद्धबृद्धा, मनोरोगी, महिला तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने उद्धेश्यले बुटवल उपमहानगरले पुस ५ गते नगरलाई एक औपचारिक कार्यक्रम गरी सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा गर्ने जनाएको छ ।

हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई मौलिक अधिकारको रुपमा कार्यान्वयन गर्ने चरणमा उपमहानगरलाई सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर बनाइने उपमहानगरपालिकाका प्रमुख शिब सुबेदीले बताए ।

सडकमा बेसाहरा रुपमा जीवन बिताउनुपर्ने बाध्यतामा रहेका मानवहरुलाई उद्धार गर्ने, उपचार गर्ने र आवासको व्यवस्था मिलाउने काममा मानव सेवा आश्रमसँग सहकार्य गरिरहेको उनलेे बताए ।

बुटवलका सडकमा बेसहारा भएर बसेका मानवहरुलाई खोजीखोजी उद्धार गर्ने, आश्रममा लैजाने, उपचारको खाँचो रहेकाहरुलाई उपचारको व्यवस्था मिलाउने सम्मका कामहरु भइरहेको मावन सेवा आश्रमकी केन्द्रीय महासचिब रुपा केसीले बताइन् ।

मानवसेवा आश्रममले गतसालको पुस ७ गतेदेखि यता १ वर्षको अवधिमा १९७ जनाको उद्धार गरिसकेको छ । भने अहिले रात्रीकालीन उद्धार सेवा पनि चलाइएको केसीले बताइन् ।

सो समितिमा सरोकावाला, नगरकार्यपालिका, सरकारी निकाय, सामाजिक संघ संस्था,नागरीक समाज, संचारकर्मी, टोलविकास संस्था, विभिन्न समुह, सामुदायिक संघसंस्था क्लब समाजसेवी, बुद्धिजीवि, उद्योग व्यवसायी, स्वास्थ्य संस्था, शैक्षिक संस्थासमेतको सहकार्य छ ।

नियमति अनुगमन , उद्धार गरेर आवश्यक सेवा प्रवाह गर्ने बेवारिसे सडक मानवहरुको मानवोचित उद्धार, औषधोपचार,पालसनपोषण, परिवार पत्ता लागेपश्चात पारिवारिक पुनःमिलन गराउने, मनोपरामर्शको सेवा प्रवाह गर्नेकामलाइ तिब्रता दिइएको उपप्रमुख गुमादेबी आचार्यले बताइन् ।

बुटवललाई सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा गर्नुअघि उपमहानगरले पत्रकारहरुसंग अन्तरकि्रया तथा छलफल, वडाध्यक्ष, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु र सबै कर्मचारीसंग छलफल भएको छ ।

त्यस्तै पुस १ गते सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, राजनीतिक दल, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, नेपाली सेना, मानवसेवा आश्रमसहितको बैठक बोलाएको छ ।

लगातारको अभियानपछि कार्यान्वयन हुने गरी नै मानव सभ्यताको शहर घोषणा गरिने उपमहानगरका प्रेस सल्लाहकार अमृत गिरीले बताए ।

बुटवललाई सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा र कार्यान्वयनका लागि सरोकारवालालाई प्रतिबद्धतासहित हस्ताक्षर अभियान पनि संचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment