Comments Add Comment

एउटा रोगीको कारुणिक कथा : यो जिन्दगी खै के जिन्दगी ?

रोगले थलिएपछि स्वास्थ्य-उपचार एवं औषधीमूलो खोज्दै काठमाडौं पस्नेको लस्कर उदेगलाग्दो छ । तर, उपचार खर्च त कहाँ हो कहाँ, यहाँ ओंत लाग्ने ठाउँ पाउनै गाह्रो छ । त्यसैले कोही अस्पतालकै चिसो भूँइमा रात कटाइरहेका छन् भने कोही सुकुम्बासी बस्तीमा डेरा जमाइरहेका छन् । यस्तै एक पात्र हुन्, सुब्बा गोले ।

उनले भक्तपुरको मनोहरा किनारस्थित सुकुम्बासी बस्तीमा डेरा जमाएको बर्षदिन बित्यो । त्यहाँबाट उनी बारम्बार पाटन अस्पताल धाउनुपर्छ, डायलसिसका लागि । किनभने सुब्बा गोलेको दुबै मिर्गौंलाले काम गर्दैन ।

एकातिर उनका लागि उपचार साह्रै महंगो छ, अर्कोतिर काठमाडौंको बास साह्रै टिठलाग्दो छ ।  सार्वजनिक बसमा कोचिएर अस्पताल र डेरा आउजाउ गर्दागर्दै उनले हिँउद-वर्षा गुजारेका छन् ।

अनलाइनखबरकर्मी सुब्बा गोलेको डेरामा पुग्दा यस्तो देखियो । जस्तापाताले बारबेर गरेको सानो घर । त्यही घरमा सुब्बा गोलेको डेरा छ । साँघुरो कोठा । त्यही खाट, त्यही भान्सा । त्यसैको दायाँबायाँ कपडाहरुको चाङ, ढोकाबाट भित्र छिर्ने बित्तिकै एउटा किचन र्‍याकमाथिको ग्यास चुलोमा खाली भाँडाहरु छन् । यही झण्डै ५ वर्गमिटर जतिको साँघुरो कोठामा चलिरहेको छ मृगौलापीडित परिवारको दिनचर्या ।

अब गोलेले पहिलेको जस्तो जीवन आफ्नो जीवनकाल भरी नै पाउने छैनन् । काम गरेर छोरीको भविष्यको सुन्दर रेखा कोर्ने उनको लक्ष्यमा पूर्णविराम लागेको छ । अहिले आफ्नै जीवनमा लाग्ने खर्च धान्न नसकिरहेको बेलामा छोरीको भविष्यबारे कसरी चिन्ता लिनु ? तर, जेनतेन ललितपुरको चण्डी स्कूलमा निःशुल्क छोरी पढाइरहेका उनी छोरीकै अनुहार हेरेर आफ्नो पीडा भुल्ने गरेका छन् ।

साढे २ वर्षसम्म वैदेशिक रोजगारीको लागि मलेसियामा बस्दा उनलाई त्यस्तो समस्या केही पनि थिए । उनी ठूलै सपना देखेर नेपाल फर्किएका थिए । तर, नेपाल ओलिएको केही समयमा नै उनीमाथि बज्रपात आइलाग्यो । कर्मको लेखा पनि कस्तो कस्तो । कत्रा सपना बोकेर फर्किएका थिए उनी मलेसियाबाट । रसुवामा रहेको घरमा गएर एउटा सानोतिनो व्यवसाय गरौंला, एउटी सानी छोरीको भविष्यको रेखा कोर्दै श्रीमान् श्रीमती आफ्नै देशमा रमाएर बसौंला भन्ने पनि सोचेका थिए । तर, उनीमाथि परेको बज्रपातले उनलाई स्तब्ध बनायो । भाग्यलाई सरापेर पनि के गर्नु । पापी कर्म त हो । जो पहिले नै विभिन्न किसिमका समस्याहरुबाट गुज्रिएका छन् । उनीहरुलाई नै नयाँ समस्याले सताउने गरेको छ ।

एक वर्षअघि मनोहरा खोलाको किनारामा चिया पसल चलाएर आफ्ना मृगौला रोगी श्रीमानको उपचारका जोहो गरिरहेकी सीता तामाङको एक वर्षपछि पुग्दा त्यहाँ पसल थिएन । बरु त्यही ठाउँमा एउटा सामान्य कोठा जस्तो बनाएर सामान्य किसिमको होटल सञ्चालन गरिएको थियो । होटल थियो  । तर, त्यसमा सीता थिइनन् । त्यो होटलबाट हुने कमाईले कुनै मृगौला पीडितको उपचार पनि हुने थिएन ।

यो पनि पढ्नुहोस चिया बेचेर कहिलेसम्म बचाउलिन् सीताले मिर्गौलारोगी श्रीमान् ?

भाग्यको त के भर पर्नु ? त्यो नदेखिने कुरा । देखिएको र भोगेको मानिसहरुले पनि उनीहरुमाथि मानवता देखाएनन् । त्यो चोकमा बसेर बेचेको चिया पसलले कसैको जीवनमा आयु थपिँदै थियो । तर, त्यो आलो घाउमा नुन चुक छर्नको लागि कहिले नगरप्रहरी आउँथे त कहिले आफ्नै छेउमा चिया पसल थाप्न अर्का व्यापारी । त्यसबाट बचेर जेनतेन श्रीमानको उपचार खर्च जुटाउँदै आएकी सीताले दुःख गरेर पनि पैसा कमाउन पाईनन् । उनको त्यो संघर्षलाई समाजले पनि साथ दिएन । यसैबाट उनीहरुको संघर्षमा एउटा नयाँ अध्याय सुरु भयो ।

उपचार साह्रै महंगो

अहिले मासिक उनको स्वास्थ्य उपचार खर्च नै  २५-३० हजारसम्म लाग्ने गरेको उनी बताउँछन् । आम्दानीको हिसाबले उनकी श्रीमतीले कहिलेकाहीँ पार्टी प्यालेसमा गएर काम गरेको बाहेक आम्दानीको स्रोत अरु केही पनि छैन । तीन जनाको परिवार पालिनै पर्‍यो । छोरीलाई सरकारी स्कूलमा पढाएका छन् । उनको पनि भविष्य अन्धकार पार्नु भएन । उनी भन्छन् ‘अब त खर्च धान्नै धौ धौ भइसक्यो । मासिक सबै जोड्दा १०/१२ हजारको कमाई हुन्छन् । खर्च हेर्दा ३० हजार जति ।

कहिलेकाहीँ कोही मनकारी नेपालीहरुले नै गरेको सहयोगले सरसापटी लिने तिर्ने गरेर चलिरहेको छ ।’ उनी जति समस्या भएपनि बाँच्न मन भएको बताउँछन् । उनलाई अब बाँचुन्जेल नियमित हप्ताको तीन पटक डायलाइसिस गर्नुपर्छ । डायलाइसिस निःशुल्क भएपनि रगत र औषधिको लागि धेरै पैसा चाहिन्छ । ९ वर्षे छोरीका त कति चाहानाहरु मारिएका छन् । कति दिन छोरी आफ्ना आवश्यकताहरुको सूची देखाएर रुने गर्छिन् । भक्कानिएको मनलाई सम्हालेर त्यसै सम्झाउने गर्छन् । एकछिन रोएपछि छोरी आफैं रुन छाडि्छन् । त्यो रोदन पछिको सन्नाटा सुरु हुन्छ ।

पीडाको शृंखला

मलेसियाबाट नेपाल ओर्लिए लगत्तै गत बैशाखमा सीताका पति सुब्बा गोले रसुवा कालिका गाउँपालिकामा रहेको घर पुगेका थिए । दुईचार पैसा जोहो गरौंला भनेर विदेशिएका गोलेले साढे २ वर्षसम्म मलेसिया बस्दा ऋण तिर्नुको शिवाय कुनैपनि आर्थिक जोहो गर्न सकेनन् । फर्किएर बरु नेपालमा नै दुःख गरेर पैसा कमाउने सोच बनाएर फर्किएपछि यस्तो समस्या झेल्नु पर्‍यो । तर, नेपाल फर्किएपछि उनको जीवनमा ठूलो बज्रपात आइपर्‍यो ।

विदेशबाट आएको केही समयमा नै अनुहार र हातखुट्टा सुनिन थाल्यो । पिसाब आउन छाड्यो, बल्ल तल्ल आएको पिसाबमा पनि रगतको मात्रा देखिने जस्ता समस्याहरु देखिए । उनको सातो गयो । के गर्ने के नगर्ने भएर परीक्षणको लागि उनी काठमाडौंमा रहेको सुमेरु अस्पताल पुगे । सुमेरु अस्पतालमा उपचार गराउनको लागि उनको आर्थिक हैसियतले पुग्ने अवस्था थिएन । उनी त्यसपछि पुगे लगनखेलमा रहेको पाटन अस्पतालमा ।

परीक्षणबाट आएको रिपोर्टले उनी छाँगाबाट खसेको जस्तै भए । रिपोर्टमा उनको दुबै मृगौलाले काम नगर्ने बताइएको थियो । त्यहीबेलामा श्रीमतीले एउटा मृगौला दिनको लागि पनि तयार भएकी थिइन् । तर, के भएन कुन्नी चिकित्सकहरुले उनको मृगौला प्रत्यारोपण गर्न नमिल्ने बताइदिए ।

दुबै मृगौलामा खराबी भएको भन्ने देखिएसँगै उनका परिवारका सदस्यहरु टाढिन थालिसकेको थिए । जसोतसो सापटी र ऋण गरेर त्यतिबेलाको गर्जाे टारे । अहिले गोलेलाई हरेक हप्ता ३ पटक डायलाइसिसको उपचार गराउँदा हरेक महिना ५ प्याकेट रगतको आवश्यकता पर्ने गर्छ । विभिन्न किसिमको स्वास्थ्य परीक्षण, आवश्यक औषधिहरु सहितको कुरा गर्दा त झण्डै मासिक २५/३० हजार लाग्छ । बेला बेलामा एक्कासी अस्पताल जानु पर्ने भएकोले उनले श्रीमतीलाई नियमित रुपमा नोकरीमा पठाउन पनि सकेका छैनन् । यसले गर्दा पनि कहिलेकाहीँ मात्रै पाउने पार्टी प्यालेसको भरमा नै पर्नुपर्ने अवस्था छ ।

तस्वीर : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment