Comments Add Comment

मुशर्रफलाई मृत्युदण्ड दिने फैसलाको पाकिस्तानी सेनाद्वारा विरोध

पाकिस्तानी सेनालाई धक्का लागेको ठहर

२ पुस, काठमाडौं । पूर्वसैन्य शासक जनरल परवेज मुशर्रफलाई मृत्युदण्ड दिने अदालतको फैसलालाई पाकिस्तानी सेनाले ‘दुःखद’ भनेको छ । यो फैसलाबाट पाकिस्तानी सेनालाई धक्का लागेको उसको ठहर छ ।

सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘परवेज मुशर्रफले ४० वर्षसम्म देशको सेवा गरेका छन् । जुन व्यक्ति देशको रक्षाका लागि लड्छ, ऊ कहिल्यै देशद्रोही हुन सक्दैन । अदालतको यस फैसलामा पाकिस्तानी सेना कडा असहमति व्यक्त गर्दछ ।’

लाहौर उच्च अदालतले मंगलबार मुशर्रफलाई मृत्युदण्डको फैसला सुनाएको थियो । तर, अदालतको यो फैसलाले संविधानले उपेक्षा गरेको पाकिस्तानी सेनाको भनाइ छ । ‘यहाँसम्म कि अदालतमा बचाउ गर्ने मौकासमेत दिइएन, जो आधारभूत अधिकार हो । हतारमा फैसला सुनाइयो,’ पाकिस्तानी सेनाका प्रवक्ता गफूरले भनेका छन् ।

उनले अदालतको फैसला संविधानअनुरुप हुनुपर्ने बताएका छन् ।

हाल परवेज मुशर्रफ दुबईमा छन् । त्यहाँको अस्पतालमा उनको उपचार जारी छ । दुबईबाट भिडियो सन्देश जारी गर्दै मुशर्रफले पनि अदालतको फैसलाप्रति आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘अदालतको फैसला आधारहीन छ । म १० वर्षसम्म पाकिस्तान र सेनालाई नेतृत्व गरेँ । मैले पाकिस्तानका लागि पनि युद्ध लडेँ । तर, मलाई प्रताडित भएँ ।’

मुशर्रफ लाहौर उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा छन् । यदि सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरिदिएमा राष्ट्रपतिले मात्र फाँसीको सजाय माफ गरिदिन सक्छन् ।

मुशर्रफविरुद्ध देशद्रोहको आरोप छ । मुशर्रफले अक्टोबर १९९९ मा सैन्य विद्रोह गरेर पाकिस्तानको शासन सत्ता हातमा लिएका थिए । २००१ को जुनमा सैन्य प्रमुख रहेकै बेला आफैंलाई राष्ट्रपति घोषित गरे ।

२००२ अप्रिलमा एक विवादास्पद जनमत संग्रह गराएर उनी थप पाँच वर्षका लागि राष्ट्रपति बने ।

२००७ अक्टोबर-नोभेम्बरमा फेरि राष्ट्रपतिको चुनाव जिते, तर सर्वोच्चमा मुद्दा पर्‍यो । उनले देशमा संकटकाल लगाए । मुख्य न्यायाधीश इफ्तिखार चौधरीलाई हटाएर नयाँ मुख्य न्यायाधीश नियुक्त गरे र चुनावलाई वैधानिकता दिलाए ।

२००८ अगष्टमा उनले राष्ट्रपति पदबाट राजीनामा दिए । दुई मुख्य सत्तारुढ पार्टीले उनीविरुद्ध महाअभियोग लगाउने सहमति गरेसँगै उनले राजीनामा दिएका थिए । त्यसपछि सन् २०१६ देखि मुशर्रफ दुबईमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment