Comments Add Comment

प्रादेशिक बस टर्मिनल निर्माणमा प्रदेश सरकारले लगानी साझेदारी गर्ने

२ पुस, बुटवल । तिलोत्तमा नगरपालिकाले टिकुलिगढमा प्रस्ताव गरेको प्रादेशिक बस टर्मिनल निर्माणमा प्रदेश सरकारले लगानी साझेदारी गर्ने भएको छ । नगरपालिकाले वडा नम्बर १३ र १४ को टिकुलिगढमा अत्याधुनिक बस टर्मिनल निर्माणका लागि प्रस्ताव गरेको छ ।

बस टर्मिनल बनाउन करिब एक अर्ब रुपैयाँ लागत लाग्ने हुँदा आन्तरिक स्रोतबाट सम्भव नहुने भएकाले यसमा सघाउन प्रदेश सरकार तयार रहेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताएका हुन् ।

प्रस्तावित बस टर्मिनलको आर्किटेक्ट डिजाइन र डीपीआर बनाउने सन्दर्भमा बुधबार भौतिक पूर्वाधार विकास मन्त्रालयमा आयोजित छलफलमा मन्त्री चौधरीले बस टर्मिनल निर्माणमा लगानी गर्न मन्त्रालय तयार रहेको प्रतिवद्धता जनाउदै बस टर्मिनलसम्म पुग्न कम्तीमा दुई लेनको सडक बनाउन र तिनाउ नदीको बहाव क्षेत्रको निर्धारण गर्न तिलोत्तमा नगरपालिकालाई सुझाव दिएका छन् ।

बस टर्मिनलका लागि प्रस्ताव भएको करिब २० बिगाहा जग्गा तिनाउ नदी उकास क्षेत्र हो । जुन बुटवल–बेलहिया ६ लेन सडकको पत्थरडाँडाबाट ६ किमी पश्चिम दुरीमा छ । प्रदेश सरकारले त्यहाँसम्म पुग्ने सडक कम्तिमा दुई लेनको बनाएपछि र प्रस्तावित कालिगण्डकी डाइभर्सनपछि तिनाउ नदीमा आउने पानीलाई ध्यानमा राखेर बहाव क्षेत्र निर्धारण गरेपछि प्रदेश सरकार  लगानी गर्न तयार रहेको स्पष्ट पारे । ‘कम्तीमा डबल लेनको पहुँच सडक र  तिनाउको बहाव क्षेत्रलाई छुट्टाएर बाँकी जग्गाको सुनिश्चित गर्नुहोस्, बस टर्मिनलका लागि एक अर्ब बजेट चाहिए पनि सरकार लगानी गर्छ,’ मन्त्री चौधरीले भने, ‘प्रस्तावित बस टर्मिनल तिलोत्तमाको मात्र नभई प्रदेशकै गौरवको आयोजना बन्न सक्छ ।’ बुटवल तथा भैरहवामा विद्यमान बसपार्कले सवारी साधनको चाप थेग्न नसकिरहेको अवस्थामा तिलोत्तमाले प्रादेशिक बस टर्मिनल निर्माणको प्रस्ताव गरेको हो ।

भैरहवामा निर्माण सम्पन्न हुने क्रममा रहेको अन्तर्राष्ट्रिय विमानस्थलदेखि नजिकै रहेकाले टिकुलिगढमा आधुनिक बस टर्मिनल सम्भव रहेको नगरपालिकाको भनाइ छ । नगरपालिकाले चालु आर्थिक वर्षमा डिपिआर निर्माण र जग्गाको तारबारका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ । सुविधासम्पन्न, प्रविधियुक्त र स्तरीय सेवा सहितको बस टर्मिनलको लागत करिब एक अर्ब हुने अनुमान गरिएको छ । बस टर्मिनलमा चार्जिङ स्टेसन, पेट्रोलपम्प, आवास गृह तथा होटल, रेष्टुरेन्ट, लामो र छोटो दुरिका सवारी साधनको लागि अलग्गै पार्किङ क्षेत्र, सुरक्षा चौकी रहने गरि डिजाइन तयार गरिएको छ ।

यो पनि पढ्नुहोस रुपन्देहीमा चार्जिङ सुविधायुक्त नेपालकै नमूना बसपार्क बनाउने तयारी

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले आउँदो ५० वर्षसम्मको आवश्यकतालाई पूरा गर्नेगरी बस टर्मिनल बनाइनुपर्ने बताए ।

नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बुटवल र भैरहवामा रहेका बसपार्कले यहाँको यातायातको व्यवस्थापन थेग्न नसक्ने अवस्था रहेकोले प्रादेशिक बस टर्मिनल निर्माणको योजना अगाडि सारिएको बताए । डिजाइनका बारेमा  सरोकारवाला पक्षले दिएका  सुझावका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर )बनाउन सुरु गरिने बताए ।

अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी भ्रमणको लागि आउने यात्रुलाई लक्षित गरि बस टर्मिनलको अवधारणा अगाडि सारिएको उनले बताए । बसपार्क निर्माणका लागि तिलोत्तमा नगरपालिकाले ४८ करोड र प्रदेश सरकारले ३२ करोड लगानी गर्नेगरि प्रस्ताव गरिएको छ ।

प्रस्तावित बसपार्क निर्माण स्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट ६ किलोमिटर उत्तरमा पर्छ ।

काठमाडौंको डेकोर स्टुडियोले आर्किटेक्ट डिजाइन तयार पारेर बुधबार मन्त्रालयमा सरोकारवालासँग छलफल गरेको हो । छलफलमा मन्त्रालयमा अधिकारीहरु, जनप्रतिनिधि, यातायात व्यवसायी, राजनीतिक दलका प्रतिनिधिहरुले प्रादेशिक बस टर्मिनल यथासक्य छिटो बनाउनुपर्ने धारणा राखेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment