Comments Add Comment

मानव सेवा आश्रममा उमंगको जन्मोत्सव

२ पुस, वीरगञ्ज । बुधबार दिउँसो मानवसेवा आश्रम वीरगञ्ज शाखा पुग्दा त्यहाँको माहौल अर्कै देखिन्थ्यो । सडकमा अलपत्र परेका बेसाहारा बनेकाहरुलाई उद्दार गरेर राखिने आश्रमको गेटदेखि नै सजाइएको थियो ।

गेटबाट प्रवेश गर्नासाथ स्वयंसेवकले टिका लगाइदिए र पिपलको पात हुपको सहयोगमा लुगामा अड्काईदिए, जसमा टल्किने मसीले ‘उमंग’ लेखिएको थियो ।

वीरगञ्ज-९ रानीघाटस्थित आश्रममा यो सजावट उनै उमंगको जन्म दिवस मनाउन गरिएको हो ।

उमंगको जन्म दिवस मनाउन वीरगञ्ज महानगरपालिका प्रमुख विजय सरावगी, पोखरिया नगरपालिकाको उप-प्रमुख सलमा खातुन पनि पुगेका थिए ।

०७५ जेठमा भन्सार क्षेत्रबाट एक गर्भवती महिलालाई उद्दार गरेर मानव सेवा आश्रम ल्याइएको थियो । उनले २०७५ मंसिर २७ गते बुधबार बिहान ८ः१५ बजे आश्रममै उमंगको जन्म दिएकी हुन् । आश्रम स्थापनापछि पहिलो सन्तान जन्मिएकाले सबैलाई खुशी देओस् भनेर उमंग नामाकरण गरिएको आश्रमका देवेश गुप्ता बताउँछन् ।

आकर्षक कपडामा सजिएका उमंग आफ्नी धाइआमा पूणिर्माको अंगालोमा खेल्दै थिए । पूर्णिमा आफैं पनि बुटवलबाट उद्दार गरिएकी महिला हुन् । मानसिक अवस्था कमजोर रहेकै अवस्थामा उद्दार गरेर हेटौंडा आश्रममा राखेको उनको जीवन बदलियो । आश्रममा गाँस, बास, कपाससँगै उपचार पाएपछि उनी ठिक भइन् । अहिले उमंगलाई ख्वाउने, पियाउने सबै काम उनैले गर्छिन् ।

उमंगलाई जन्मदिने आमा बोल्न सक्दिनन् । मानसिक अवस्थामा समेत अझै पूर्ण सुधार आएको छैन । उमंगको जन्म दिवसमा लाग्ने खर्च पनि सहयोगी दाताले नै दिएको आश्रमले जनाएको छ ।

कार्यक्रममा आमा, धाइआमा र संरक्षक दिपक शाक्यको सहयोगमा उमंगले केक काटे । खाए, खुवाए । कतिपयले उमगलाई उपहार समेत दिए ।

०७४ जेठ १५ गते आश्रम स्थापना भएको आश्रममा हाल ३० जना सहयोगापेक्षी आश्रित छन् ।

कार्यक्रममा वीरगञ्जका मेयर सरावगीले आश्रमका लागि लक्ष्मणवामा ९ कठ्ठा जग्गा व्यवस्था गरिएको बताए । ‘महानगरपालिकाले जिम्मेवारी नै सम्झेर ४० फिटका तीन वटा बाटो जोडिएको ९ कठ्ठा जग्गाको व्यवस्था गरेको छ । मैले शिलान्यास छिटो गराउनुस भनेको छु । त्यसपछि सबैतिरबाट दिल खोलेर सहयोग आउँछ भन्ने लाग्छ’ नगर प्रमुख सरावगीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment