Comments Add Comment

शिवमायाले सभामुखकै हैसियतमा संसद अधिवेशन शुरु गर्ने

३ पुस,काठमाडौं । प्रतिनिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेकै अध्यक्षतामा शुरु हुने भएको छ । संसद बैठकको शुरुवात गरेरमात्र राजीनामा दिने उनको अडानमा नेकपा नेतृत्व सहमत भएपछि शुक्रबारको बैठक उपसभामुखकै अध्यक्षतामा शुरु हुने भएको छ ।

प्रतिनिधिसभा नियमावलीमा बैठकको शुरु र अन्त्य सभामुखले गर्ने भनिएको छ । सभामुख नभएको अवस्थामा उपसभामुखले गर्ने भन्नेबारे नियमावली बोल्दैन । सभामुख र उपसभामुख दुवै नभएको अवस्थामा भने जेष्ठ सदस्यले अध्यक्षता गर्ने भनिएको छ ।

सत्तारुढ नेकपाले सभामुख निर्वाचनका लागि उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गर्न भनेको छ । उनले सभामुखमा दाबी गरिरहेकी छन् । पहिलो बैठकको शुरु गरेरमात्र राजीनामा दिने उनको चाहना अनुसार संसदीय दलका उपनेता सुवास नेम्वाङले सहजीकरण गरिदिएको नेकपा स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा नियमावलीले नबोले पनि उपसभामुखले बैठकको अध्यक्षता गर्न लागेको संसद सचिवालय स्रोतले जनाएको छ । पूर्वसभामुख समेत रहेका नेम्वाङले सभामुख नभएको अवस्थामा उसले गर्ने काम उपसभामुखलाई गर्न नियम कानुनले नरोकेको बताएका छन् । उनले त विधेयक प्रमाणिकरण समेत गर्न सक्ने बताएका थिए ।

तुम्बाहाम्फेले बिधेयक प्रमाणिकरण बाहेक सभामुखले गर्ने सबै काम गर्न थालेपछि प्रमुख विपक्षी नेपाली कांग्रेसले बिरोध गरेको छ । सभामुखकै हैसियतामा उनले गरेको सूचना आयोगका पदाधिकारीको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर भइसकेको छ ।

नेकपा स्रोतका अनुसार पहिलो बैठकको शुरुवात गरेर सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि तुम्बाहाम्फेले उपसभामुखबाट राजीनामा दिनेछिन् । नेकपाले कसलाई सभामुख बनाउने भन्ने टुंगो लगाइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment