Comments Add Comment

‘एक रात अकस्मात् सुकुम्बासी बस्तीमा डोजर चल्यो’

मैले काठमाडौंमा तीनवटा काम थालेको थिएँ

शहरीकरणका दुईवटा प्रक्रिया हुन्छन् : एउटा– पुल फ्याक्टर (तान्ने कारकतत्व) । र, अर्को–पुस फ्याक्टर (घँचेट्ने कारकतत्व) ।

शहरीकरणको राम्रो विकास भयो र त्यहाँ रोजगारीका सम्भावनाहरु बढी भए भने पुल फ्याक्टरले गर्दा मानिसहरु तानिएर शहरमा आउँछन् । यसरी आएका मानिसहरुलाई शहरमा फ्याक्ट्रीहरु छन् भने तिनैले आवासको व्यवस्था गर्नैपर्ने हुन्छ, यसमा धेरै समस्या हुँदैन ।

अर्कोचाहिँ पुस फ्याक्टर हुन्छ । शहरीकरण हुनुभन्दा पनि गाउँले अर्थतन्त्र भत्किएर, त्यहाँ बस्न नसकेर मान्छेहरु जब शहरतिर शरणार्थीका रुपमा प्रवेश गर्छन्, यहाँ शहरमा पनि कुनै सुविधा हुँदैन । गाउँ त छाडेर आइहालियो । यस्तो अवस्थामा शहरमा अव्यवस्थित बसोबास र भुपडीबस्तीहरुको निर्माण हुने चलन विश्वभरि नै हुन्छ । हाम्रो काठमाडौं उपत्यकामा भएको पनि यही नै हो ।

हामीकहाँ गाउँले अर्थतन्त्र भत्किएर मानिसहरु शरणार्थीका रुपमा शहर पसेका छन् । यसले गर्दा आएको समस्या हो यो अव्यवस्थित बसोबास । त्यसैले यसको दीर्घकालीन समाधानका लागि त देशको समग्र आर्थिक सामाजिक रुपान्तरण नै आवश्यक पर्छ ।

तत्कालका लागिचाहिँ हामीले संघीयतामा गएर जुन स्थानीय तहहरु निर्माण गरेका छौं, त्यहाँबाट पनि व्यवस्थापन गरेर धेरै मानिसहरुलाई त्यहीँ नै रोक्ने कोसिश गर्न सकिन्र्छ । जोचाहिँ पुल फ्याक्टरकै कारणले शहरतिर आउँछन्, उनीहरुलाई व्यवस्थित ढंगले राख्न सक्ने हो भने यो नै समाधानको सही तरिका हो जस्तो मलाई लाग्छ ।

मैले काठमाडौंमा थालेका तीन काम

जब मलाई प्रधानमन्त्री हुने अवसर प्राप्त भयो, म क्षेत्रीय विकास योजना र नगर विकास योजनाको विद्यार्थी हुनुको नाताले देशको राजधानी भनेको संसारले हेर्ने एउटा झ्याल हो, त्यसैले यहाँबाट नै देशको चित्र दिनुपर्छ भन्ने मान्यतासहित सुविचारित ढंगले नै मैले केही कामहरु सुरुवात गरें ।

त्योमध्येमा एउटा काठमाडौंको बाटो विस्तार योजना हो । त्यो त्यतिकै थालिएको थिएन । सुविचारित ढंगले एउटा योजना बनाएर उपत्यकाको नै विकास गर्नुपर्छ भनेर काठमाडौं उपत्यका विकास प्राधिकरण मेरै पालामा सुरु भयो ।

शहरी विकासका निम्ति भौतिक योजना मन्त्रालयमा एउटा सानो शाखा मात्र बनाएर हुँदैन, त्यसका लागि शहरी विकास मन्त्रालय नै बनाउनुपर्छ भनेर शहरी विकास मन्त्रालयको परिकल्पना मैले गरें ।

काठमाडौंलाई तत्काल के गर्ने त भन्दा ट्राफिक जामले हैरान भैरहेका जुन साँघुरा सडकहरु छन्, तिनलाई विस्तार गर्ने । विश्वभरि जुनसुकै शहरको पनि प्राण भनेको नदी हुन्छ । त्यसैले हाम्रा वागमती, विष्णुमती, मनहरालगायतका जुन नदीहरु ढलमा परिणत भएका छन्, यिनको व्यवस्थापन गरौं । त्यसका लागि नदीका किनारमा जसरी मान्छेहरु बस्न बाध्य भइरहेका छन्, तिनको बसोबासलाई व्यवस्थित गर्नुपर्छ भन्ने सोचअन्तरगत समग्र काठमाडौं उपत्यकाको योजना पनि बनाउने ।

यो नभएसम्म तत्काल दुई/तीनवटा कामबाट सुरु गर्ने मेरो योजना थियो । एउटा सडक विस्तार, अर्को नदीहरुको सफाइ र अर्कोचाहिँ अव्यवस्थित ढंगले बसोबास गरेका आवासविहीनहरुको बसोबासको व्यवस्था गर्ने ।

यसरी मैले एउटा प्याकेजमै कामहरु अगाडि बढाएँ ।

सडक विस्तारको परिणाम मानिसहरुले हेरिराखेका छन्, त्यसले देशमै एउटा तरंग ल्यायो । वागमती नदी सफाइ फाट्टफुट चलिराखेको थियो । तर, प्रधानमन्त्री आफैं नदीमा पसेर सुरुवात गरियो । पछि लीलामणि पौडेलजी मुख्यसचिव भएका बेलामा त्यसलाई अगाडि बढाउनुभयो ।

सुकुम्बासी व्यवस्थापनको जहाँसम्म कुरा थियो, त्यसमा सबैभन्दा पहिलो त हामीलाई आँकडा चाहिन्छ । काठमाडौंमा अव्यवस्थित बसोबास गर्नेमान्छे कति छन् ? तीमध्ये वास्तविकरुपमै आवास नभएका मान्छे कति छन् ? कतिको चाहिँ आफ्नो आवास पनि छ, तर त्यहाँ जग्गा कब्जा गरेर भाडामा लगाउने पनि हुन्छन् भन्ने पनि सुनेको हुनाले मैले दुई/तीन महिनाजति लगाएर तथ्यांक संकलन गर्न लगाएँ ।

खासगरी वागमती, मनहरा र विष्णुमतिका किनारमा बसेकाहरुको तथ्यांक पनि आयो । त्यो तथ्यांक मन्त्रालयमै छ । यसरी तथ्यांक लिइसकेपछि के देखियो भने खास–खास ठाउँहरुमा धेरैजसोचाहिँ नक्कली सुकुम्बासीहरु रहेछन् । बहुमतचाहिँ नक्कली, अल्पमतचाहिँ सक्कली ।
यो पनि पढ्नुहोस नागार्जुनमा अपार्टमेन्ट, वाग्मतीमा सुकुम्बासी !

यसरी तथ्यांक आइसकेपछि हामीले उनीहरुको पुनर्वासको योजना बनायौं । म आवास नागरिकको अधिकार हो भन्ने मान्यता राख्ने मान्छे हुँ । त्यसैले, हामीले इचंगुनारायणमा आवास निर्माणको काम सुरु गरिहाल्यौं । आवास निर्माण पनि सुरु भयो, सुकुम्बासीहरुको सर्वेक्षण पनि गर्दै गयौं । मैले पाएको जानकारीअनुसार करिब तीन महिनामा त्यो आवास पूरा हुन्छ भन्ने थियो ।

एक रात अकस्मात् !

त्यहीबेला अकस्मात् एक रात थापाथलीमा डोजर चलाएर सुकुम्बासीका घर भत्काइयो भन्ने खबर आयो । भोलिपल्ट बिहानमात्र मैले थाहा पाएँ । म प्रधानमन्त्री छु, त्यत्रो योजना बनाएर आफैं लागेको छु । अनि मलाई नै रहस्य लाग्यो, यो भयो कसरी ?

त्यसबेला भौतिक योजनामन्त्री हृदयेश त्रिपाठी थिए । गृहमन्त्री विजयकुमार गच्छदार थिए । वागमतीमा एउटा संरचना छ, त्यसमा रहेका मान्छेहरुका वीचमा अलिकति विवाद पनि थियो । मेरो दिमागमा पसिहाल्यो, यहाँ कसैले चलखेल गर्‍याे । सेबोटेज गर्नलाई यस्तो भयो भन्ने मलाई लाग्यो र तुरुन्तै भोलिपल्ट बिहान आफैं थापाथलीमा गएँ ।

तपाईहरुलाई पुनस्र्थापना गरिन्छ, यो गल्ती भएको छ, मलाई थाहा नदिइकन कसैले यस्तो गरेको हो भनेर म आफैंले थापाथलीमा गएर बोल्याछु । म तुरुन्तै तपाईहरुको व्यवस्थापन गर्छु, अहिले तपाईहरु यहाँ बस्दै गर्नोस् भनें ।

र, त्यहीबेला सरकार ढल्यो

तत्कालै सुकुम्बासीहरुको व्यवस्थापन कहाँ गर्ने त भन्दाखेरि चोभारमा जमिन खाली थियो । तत्काल तीन महिनाका लागि, तीन महिनापछि त इचंगुनारायणमा आवास बनिहाल्छ, वीचको दुई/तीन महिनाका लागि चोभारमा अस्थायी बासस्थान बनाऔं भनेर मैले लगाएँ ।

कर्मचारीहरुले गएर चोभारमा तयारी गर्दै थिए, त्यसपछि हाम्रा साथीहरुमै वाम संकीर्णता देखियो । त्यहाँका स्थानीयलाई उठाएर हामी यहाँ सुकुम्बासीलाई बस्न दिँदैनौं भनेर वामपन्थी पृष्ठभूमि भएकै, मुख्यतः एमालेका मान्छेहरु लागे ।

त्यसपछि अर्को विकल्प कहाँ छ भन्दा त्यसको पारिपट्टि सुन्दरीघाटमा पनि सरकारकै जमीन रहेछ । त्यहाँ अस्थायी बसोबास गराऔं भनेर सुरु गरियो । त्यहाँ फेरि रघु पन्त, पम्फा भुसाललगायतले धर्ना गर्न लगाएर बन्दै गरे । त्यहाँ पनि उनीहरुले रोके ।

त्यसपछि मैले टेकुनेर गोदामहरु भएको ठाउँमा अस्थायीरुपमा राखौं भनेर लगाउँदै थिएँ, त्यहीबेलामा मेरो नेतृत्वको सरकार गयो ।

इचंगुनारायण नै अबको विकल्प
मैले सुकुम्बासीहरुलाई जसरी व्यवस्थापन गर्न चाहेको थिएँ, म सरकारमा नरहे पनि इचंगुनारायणमा अहिले सुकुम्बासीहरुको आवास बनेको छ । दुईसय भन्दा बढी युनिट घरहरु त्यहाँ बनेका छन् । नदी किनारमा रहेका सक्कली सुकुम्बासीहरुलाई त्यहाँ राख्ने ठाउँ पुग्छ । उनीहरुलाई त्यहाँ सार्न सकिन्छ, यो नै काठमाडौंको समस्या समाधान हो ।
यो पनि पढ्नुहोस सुकुम्बासीलाई जग्गा बाँड्ने अधिकार प्राप्त आयोग बनाउँदै सरकार

दीर्घकालका निम्ति काठमाडौं उपत्यका विकास प्राधिकरण मातहत व्यवस्थित भू–योजना बनाएर आवासको क्षेत्र अलग छुट्याउने र अरु क्षेत्रको वर्गीकरण गरेर योजना बनाउन सकिन्छ । कतिपय ठाउँमा राज्यले नै आवास निर्माण गरेर अन्य गरीव तथा विपन्न वर्गका मानिसहरुलाई किस्ताबन्दीमा तिर्ने गरी आवासको व्यवस्थापन गर्नुपर्छ भन्ने मलाई लाग्छ । दीर्घकालीन समाधान यही नै हो ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment