Comments Add Comment

ध्रुवचन्द्र गौतम : लेख्नु र सास फेर्नु उस्तै !

७७ वर्षमा पनि सक्रिय छन् डा. ध्रुवचन्द्र गौतम

नेपाली साहित्यमा लेख्नकै लागि जन्मेका साहित्यकार भन्न सकिने अति थोरैमा पर्छन् डा. ध्रुवचन्द्र गौतम । हुन त नेपाली साहित्य जगतमा सबैभन्दा धेरै अक्षर लेखेका व्यक्ति मदनमणि दीक्षित मानिन्छन् ।

दीक्षितकै हाराहारी वा दोस्रोमा नाम लिनुपर्दा निर्विवाद ध्रुवचन्द्र गौतम आउँछन् । भन्न पनि उनी आफैं भन्छन्, ‘लेख्नु भनेको मेरो लागि सास फेर्नु जस्तै हो ।’

कति होलान् त नेपाली साहित्यमा लेखनलाई सास फेर्नुजत्तिकै मान्ने र व्यवहारमा पनि उतार्ने । सम्भवतः नगण्य ।

यिनै ध्रुवचन्द्र गौतमले भर्खरै ७७ औं जन्मोत्सवको केक काटे ।

गौतमको सक्रियता निरन्तर छ । फ्याट्ट कुनै पनि बेला उनको नयाँ पुस्तक झुल्किन सक्छ । उनी पुस्तक निस्कनुअघि प्रकाशोन्मुख पुस्तकको चर्चा गर्न उतिसारो रुचाउँदैनन् ।

म आफ्नै दौंतरीहरुलाई हेर्दछु, सबै ६० को हाराहारीमा छन् । अधिकांश सेलाएका, बकेर्नाे पल्टिएका छन् । बडो मुस्किलले लामो अन्तरालमा लेख्छन् ।

तर, ध्रुवचन्द्र ८० को छेउमा पुग्दा पनि लेख्ने मामलामा थाकेका देखिएनन् । एक ताका त नेपालमा लेखेर धेरै कमाउने साहित्यकार भनेर पनि उनको चर्चा गरिन्थ्यो । उनी एकसाथ २/३ वटा स्तम्भ लेख्थे अखबारमा । साहित्यिक पत्रिकाहरुमा पनि नियमित लेख्थे । वर्षेनी न्यूनतम एउटा उपन्यास प्रकाशित हुन्थ्यो । यस्तो कमै साहित्यकारले भ्याउने कुरा हो । सँगै त्रिभुवन विश्वविद्यालयमा अध्यापनको काम त छँदै थियो ।

ध्रुवचन्द्रको साहित्यिक उदय रुपरेखाबाट भयो । उनी कविता, गीत, कथा लेख्थे । २०२४ सालमा पहिलो सिङ्गो उपन्यास ‘अन्त्यपछि’ एकै अङ्कमा प्रकाशित गरेर ध्रुवचन्द्रलाई उपन्यासकार बनाउने श्रेय पनि रुपरेखा पत्रिकाले नै पायो ।

त्यो काफ्काको युग थियो । कामुको युग थियो । एब्सर्ड लेखनले पखेटा फिँजाएको थियो पश्चिममा । त्यसको हावा पूर्वतिर पनि सरिरहेको थियो । रुपरेखामा प्रकाशित भएपछि पढिने र चर्चा गरिनेमा त शङ्का भएन । तर, लोकपि्रय पनि भएन । समालोचक कृष्णचन्द्रसिंह प्रधानले त यसलाई कथा होइन, घटना होइन, चरित्र होइन भनिदिए । उनको भनाइ थियो- ‘समग्रमा निरर्थकता भोगेर निर्वासित हुनुपर्ने मनुष्यको अन्त्य र उसको आस्तित्विक निर्मूल्यतामा लाग्ने मृत्युवोधको पारिपेशिक विम्व-आयोजनमा यो उपन्यास छ ।

उपन्यासको तारतम्य होइन, सम्वेदनाले । घटना हैन, प्रतीकात्मकताले । कथा हैन, कथ्य वस्तुको बिम्बाघातले र जीवनको पूर्ण चित्र होइन, निरर्थकताभित्रको अनुभूतिको अववोधले स्पर्श गर्ने यसको मौन अभिव्यक्ति यसको विधान हो । प्रयोग सर्वाधिक वौद्धिक प्रतीकात्मक भएर अऔपन्यासिक हुने बिम्ब-आयोजनामा अर्काे क्षितिज खोज्ने प्रयास संलग्न छ ।’

तर यो उपन्यासले ध्रुवचन्द्रलाई थप उपन्यास लेख्ने हौसला दियो । उनी उपन्यासकार भैसकेका थिए । लेख्न मजाले सक्थे । अनि लेखे- ‘वालुवामाथि’ ।

‘बालुवामाथि’ साझा प्रकाशनले छाप्यो । यो पाठकका लागि वालुवा चपाउनु जत्तिकै कठिन सावित भो । यो पाठकको मनमा पस्न सकेन । यो वास्तवमा रुपरेखाका सम्पादक उत्तम कुँवरको ठाडो सिफारिसमा कृष्णचन्द्रसिंह प्रधानले साझा प्रकाशनबाट प्रकाशित गरेका थिए । प्रधान शक्तिशाली समालोचक र शक्तिशाली महाप्रवन्धक थिए साझा प्रकाशनका । तर, ‘बालुवामाथि’ ले पाठकबाट स्वागत पाउन नसकेपछि प्रधान र उत्तम कुँवर ध्रुवचन्द्रका अरु कृति प्रकाशनका लागि सिफारिस गर्न हच्किने भए ।

महेन्द्रले भीम विरागलाई जहाँसुकैको अस्पतालमा लगेर भए पनि उपचार गराउन र ध्रुवचन्द्रलाई काठमाडौंमा बसेर पढ्न आर्थिक सहयोग दिने हुकुम दिए । त्यस अनुसार भीम विरागलाई उपचारका लागि कोलकाता पठाइयो भने ध्रुवचन्द्र गौतमलाई पढ्न काठमाडौंमा ल्याइयो

उनको कथा लेखन पनि साथै चलिरहेको थियो । उनको ‘हेम सुब्बाले पान खाए’ कथाले बजार लियो । यो कथा उनको कथा लेखनको शुरुवाती चरणको उम्दा र ‘माइलस्टोन’ सावित भयो ।

उनी भाषा विज्ञानमा विद्यावारिधि गर्न पुना गएपछि लेखनको निरन्तरतामा केही ‘ग्याप’ देखियो । यद्यपि फाट्ट-फुट्ट रचना नदेखिएका होइनन् ।

पढाइको कुरा गर्दा, यौटा महत्वपूर्ण कुरा के छ भने ध्रुवचन्द्रलाई राजा महेन्द्रले दरबारको खर्चमा काठमाडौंमा कलेज पढाएका थिए । उनी यसबारे चर्चा र उल्लेख गर्न रुचाउँदैनन् । भएको के थियो भने वीरगञ्जमा राजा महेन्द्रको सवारी हुँदा भीम विरागको जटिल स्वास्थ्य अवस्था र ध्रुवचन्द्र गौतमको पढ्नका लागि कमजोर आर्थिक अवस्थाबारे विन्ती चढाइयो ।

महेन्द्रले भीम विरागलाई जहाँसुकैको अस्पतालमा लगेर भए पनि उपचार गराउन र ध्रुवचन्द्रलाई काठमाडौंमा बसेर पढ्न आर्थिक सहयोग दिने हुकुम दिए । त्यस अनुसार भीम विरागलाई उपचारका लागि कोलकाता पठाइयो भने ध्रुवचन्द्र गौतमलाई पढ्न काठमाडौंमा ल्याइयो । उनी उच्च अध्ययनका लागि वेलायत जाने चाँजोपाँजो पनि मिलाउँदै थिए, दरबारमार्फत, तर अचानक राजा महेन्द्रको निधन भएर त्यो प्रयास सदाका लागि सकियो ।

भीम विराग राजाको सो निगाहको लागि जीवनभर महेन्द्रवादी भए । ध्रुवचन्द्र गौतम भने प्रजातन्त्रवादी हुन पुगे । ०४६ सालको जनआन्दोलन पछि नेपालमा राजा संवैधानिक हुने गरी बहुदलीय व्यवस्थाको ढोका खुल्यो । त्यसपछि नेपाली काङ्ग्रेसको ऐतिहासिक र वहुचर्चित झापाको कलवलगुडीमा सम्पन्न महाधिवेशनमा बेन्जु शर्मा, ध्रुव सापकोटा र उनी नेपाली काङ्ग्रेसमा प्रवेश गरेको लिखित वक्तव्य दिएर अधिवेशनमा सहभागी हुन पुगेका थिए ।

पुनाबाट र्फकेर नियमित प्राध्यापन तथा स्तम्भ लेखन शुरु गरेपछि उनले यौटा नयाँ उपन्यास लेखे । त्यो उपन्यासले उनको लेखकीय जीवनमा यौटा नयाँ कोशे ढुंगाको काम गर्‍यो । त्यो थियो- ‘कट्टेल सरको चोटपटक’ । शीर्षक पनि चाखलाग्दो, अनि पढ्दा पनि मरुभूमिमा उम्रेको बिरुवाजस्तो ।

‘अन्त्यपछि’ र ‘बालुवामाथि’ को अमूर्त बाटो छाडेर बढी सम्प्रेषणीय चिल्लो बाटो समातेको थियो, तेस्रो उपन्यासले । ‘कट्टेल सरको चोटपटक’ले तत्कालै पाठकको मन जित्यो । नेपाली साहित्य संसारमै यो उपन्यासले चर्चा र तारिफ पायो ।  मदन पुरस्कार पाउने हल्ला पनि राम्रै चल्यो । यद्यपि यसले मदन पुरस्कार पाएन । तर, मदन पुरस्कार पाउने हल्ला पाउनु पनि उपलव्धि नै थियो ।

त्यसै ताक शुरु भएको पाँच साहित्यकारहरुको मण्डलीमा सबैको उपनाम थियो । यो उपन्यासका कारण ध्रुवचन्द्रको उपनाम ‘कट्टेल सर’ नै भयो । पछि यो उपन्यासमा आधारित भएर निर शाहले ‘वासुदेव’ सिनेमा बनाए ।

रचना, अभिव्यक्ति, रुपरेखा लगायतका साहित्यिक पत्रिकामा नियमित जसो साहित्यिक स्तम्भ लेख्न थाले ध्रुवचन्द्र । स्तम्भ लेखनले साहित्यिक वृत्तमा उनलाई लोकपि्रय बनाउन ठूलो काम गर्‍यो ।

त्यसपछि आयो उनको अर्काे उपन्यास- ‘अलिखित’ । तराई पृष्ठभूमिको यो उपन्यासले ध्रुवचन्द्र गौतमको लेखनीलाई उत्कर्षमा पुर्‍याइदियो । नेपाली साहित्यमा यसले तहल्का नै मच्चाउन सफल भयो । अनि ‘कट्टेल सरको चोट पटक’ मा चलेको हल्ला ‘अलिखित’ मा सत्य सावित भयो । ध्रुवचन्द्रले मदन पुरस्कार पाए । नेपालको नोवेल पुरस्कार मानिने मदन पुरस्कार पाएपछि ‘अलिखित’ उपन्यास नेपाली भाषी जगतमा व्याप्त भयो ।

त्यतिबेला नेपालमा पनि धेरै पढिने भारतीय पत्रिका ‘दिनमान’मा पनि यो उपन्यासको चर्चा छापियो । त्यो लेख्ने व्यक्ति थिए- रामदयाल राकेश । उनले निकै तारिफ गरेर ‘अलिखित’ सको चर्चा गरेका थिए । यो वेग्लै कुरा हो, ध्रुवचन्द्र गौतमसँग अलिक टाढा भएपछि र तराईवादीहरुले आन्दोलन गर्न सुरसार गरेपछि उनै राम दयाल राकेशले मधुपर्कमा यो उपन्यासले तराईवासीको अपमान गरेको छ भनेर सत्तोसराप गर्न पछि परेनन् । त्यसको कारण थियो, उपन्यासमा तराईको एक गरीवले कोपरामा भात खाएको प्रसङ्ग ।

यसपछि पनि ध्रुवचन्द्र गौतमको उपन्यास र कथा लेखनले निरन्तरता पाई नै रहृयो । साप्ताहिक मञ्चमा स्तम्भ लेखन थालेपछि उनले अखबारी लेखनमा कीर्तिमान नै कायम गरे । त्यसपछि साप्ताहिक विमर्समा लेख्न थाले । सम्भवतः सबभन्दा धेरै उनले साप्ताहिक विमर्समै लेखे । पछि साप्ताहिक खबरमा पनि लेखे । विमर्समा उनी छद्म नाममा पनि ‘पृथ्वी घुम्दैछ’ भन्ने स्तम्भ पनि लेख्थे । विशेष राजनीतिका कुरा, अलि चर्का आलोचना र कहिले काहीं गाली नै लेख्नु परे उनी यो स्तम्भमा लेख्थे ।

कोही पृथ्वीको झोंकमा पर्‍यो भने, उ थला पर्ने निश्चित हुन्थ्यो । उनलाई नजिकबाट चिन्नेेहरु मन मर्नेलाई ‘ध्रुवचन्द्र’ मन नपर्नेलाई ‘पृथ्वी’ भनेर ठट्टा पनि गर्थे । उनले आफ्नो साहित्यिक स्तम्भमा विभिन्न साहित्यिक व्यक्तित्वहरुसँग अन्तरवार्ता पनि लिने गर्थे । उनले यसरी अन्तरवार्ता लिएका व्यक्तिहरु पचासौं होलान्, जुन सङ्कलन गरे यौटा अर्काे गतिलो पुस्तक बन्न सक्छ । कहिले काहीं साहित्य र अन्य क्षेत्रको उपमा दिएर गैर साहित्यिक व्यक्तित्वहरुसँग पनि कुराकानी गरेर स्तम्भ लेखन गर्थे ।

छोटो समयको अन्तरालमै कार्यसञ्चालनमा ध्रुवचन्द्रको मदनमणिसँग र्‍याङ ठ्याङ मिलेन । यतिसम्म कि बोलचाल नै बन्द भयो

प्रयोग ध्रुवचन्द्रको लेखनको यौटा महत्वपूर्ण पाटो हो । उनले आत्मकथात्मक उपन्यासलाई नयाँ नाम दिए- ‘अनुभवन्यास’ । यसलाई विश्वविद्यालयका केही प्रोफेसरले ‘नयाँ’ प्रयोग भने । उनको ‘अनुभवन्यास’को सिको गर्नेहरु भने एकाध मात्र देखिए ।

ध्रुवचन्द्रले यौटा उपन्यासमा गजवको प्रयोग गरे, पाठकलाई नै लेखकको दर्जा दिएर । त्यो काल्पनिक पात्रको नाम उनको अर्थात् ध्रुवचन्द्र गौतमको सहलेखकका रुपमा मुखपृष्ठमै राखिदिए । यस्तो प्रयोग संभवत दुनियाँमै दुर्लभ प्रयोग हुनसक्छ ।

ध्रुवचन्द्रले सूत्र कथाको अवधारणा पनि अघि सारे । सैद्धान्तिक व्याख्यासहित सुत्र कथाहरु लेखे । उनी त्यतिमै अडिएनन्, सूत्र उपन्यास नै लेखिदिए- एकभन्दा वढी । तीमध्ये ‘फूलको आतङ्क’ को त अङ्ग्रेजी अनुवाद समेत प्रकाशित भयो ।

उनले नाटक लेखे । राष्ट्रिय नाचघरमा मञ्चनका लागि गीति नाटक पनि लेखे । उनको अमूर्त लेखन कालमै ‘त्यो एउटा कुरा’ नाटक रत्न पुस्तक भण्डारले प्रकाशन गरेको थियो । उनले जनकपुर चुरोट कारखानाका लागि ‘धूवाँ’ भन्ने उपन्यास पनि लेखे, जसको उल्लेख कतै हुँदैन ।

उनले जर्मनी, जापान, अमेरिका र रुस भ्रमणको चारवटा नियात्राका पुस्तक पनि लेखेका छन् । उपन्यास दुई दर्जनभन्दा वढी छन् ।

ध्रुवचन्द्रले विधागत रुपमा कथा लेखे, उपन्यास लेखे, आत्मकथा लेखे, अनुभवन्यास लेखे, नाटक-एकाङ्की लेखे, यात्रा संस्मरण लेखे, गीत लेखे, गजल लेखे, स्तम्भ लेखे, समालोचना लेखे । उनले गीत गाए पनि । रेडियो नेपालमै गएर उनले गीत गाए र रेकर्डिङ पनि गरे । उनी सुसेलीमा पनि एक सय एक गीतहरु गाइदिन सक्छन् ।

नेपाली साहित्यमा सङ्ख्यात्मक रुपमा धेरै भागहरुमा धेरै कथा लेख्नेमा भीमनिधि तिवारीको नाम आउँछ । ध्रुवचन्द्र गौतम पनि धेरै कथा लेख्नेहरुमा पर्दछन् । उनले अझै पनि लेखिरहेका हुनाले उनको सम्पूर्ण कथाको सङ्ख्या अहिले तोक्न सकिंदैन ।

२०७२ सालमा प्रकाशित ‘ध्रुवचन्द्र गौतमः समग्र कथा’ मा १४४ वटा कथा समावेश छन् । नेपाली साहित्यको ईतिहासमै यति धेरै सङ्ख्याको एक कथाकारको कथा सङ्ग्रह भने यो नै हो । यो सङ्ग्रहको प्रकाशन पश्चात् पनि उनले कथा लेखेका छन् र प्रकाशित भएको छ ।

ध्रुवचन्द्र गौतम र ध्रुव सापकोटा मिलेर एकताक केही समय वाल अखवार ‘कलिलो’ पनि चलाए । त्यो नेपालको पहिलो वाल अखवार मानिन्छ । त्यसमा नेपालका ख्यातिप्राप्त व्यक्तिका वाल्यकाल ‘मेरो वाल्यकाल’ स्तम्भमा प्रकाशित हुन्थ्यो । पछि त्यसको पुस्तक समेत प्रकाशित भयो ।

ध्रुवचन्द्र गौतम सहयोगी उपन्यास लेखनमा पनि सहभागी भए । नेपाली साहित्यको पहिलो सहयोगी उपन्यास ‘आकाश विभाजित छ’ का १० लेखकमध्ये उनी एक हुन् । १३ सहयोगी लेखकहरु भएको ‘अवतार विघटन’ उपन्यासका पनि उनी एक लेखक हुन् । उनले वेञ्जु शर्मा र धुर्व सापकोटासँग मिलेर लेखेको अर्काे उपन्यास हो- ‘देहमुक्त’ । त्यसपछि धुर्व सापकोटासँग मिलेर भुटानी शरणार्थीमाथि ‘ज्यागा’ उपन्यास लेखे । यो उपन्यास बेलायतको अक्सफाम संस्थाको प्रायोजनमा झापाको भुटानी शरणार्थी शिविरमै स्थलगत अध्ययन गरेर लेखिएको थियो ।

ध्रुवचन्द्रले टेलिसिरियलका लागि पटकथा र सम्वाद लेखन पनि गरे । उनका ‘एक शहरमा एक कोठा’ लगायतका उपन्यासलाई टेलि सिरियलको रुपमा नेपाल टेलिभिजनको पर्दामा देखाईएको थियो ।

उनी तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव भए । वास्तवमा उनी त्यो पदमा पुग्ने विषय पनि निकै पेचिलो थियो । पदेन कुलपति प्रधानमन्त्री र सहकुलपति मन्त्री हुने व्यवस्था थियो । मदनमणि दीक्षित उपकुलपति भएपछि सदस्य सचिव उनको रोजाइमा हुने अवस्था भयो । उनी नगेन्द्रराज शर्मालाई सदस्यसचिव वनाउन चाहन्थे । तर, उनका सुपुत्र विनोद दीक्षित ध्रुवचन्द्रको घनिष्ठ साथी भएकाले ध्रुवचन्द्रलाई सदस्य बनाउन जोड दिइरहेका थिए । अन्त्यमा पुत्रमोहले आफ्नो रोजाइलाई तिलाञ्जली दिए मदनमणिले । ध्रुवचन्द्र गौतम सदस्य सचिव भए ।

तर, छोटो समयको अन्तरालमै कार्यसञ्चालनमा ध्रुवचन्द्रको मदनमणिसँग र्‍याङ ठ्याङ मिलेन । यतिसम्म कि बोलचाल नै बन्द भयो । मदनमणिले एकपल्ट रुँदै राजीनामा पनि दिए । तर, पछि त्यो राजीनामा फिर्ता लिए । उनीहरुबीच पूरै कार्यकालको सम्वन्ध नमीठोमै बित्यो ।

ध्रुवचन्द्र गौतम पेन नेपालको अध्यक्ष पनि भए । साझा प्रकाशनको निर्वाचित सञ्चालक भए । नेपाल टेलिभिजनको सञ्चालक भए । छोटो समयका लागि विष्णुविभू घिमिरे साझा प्रकाशनको अध्यक्ष हुँदा महाप्रवन्धक पनि भए । साहित्यिक हिसाबले नै उनले विश्वका धेरै मुलुकको भ्रमण गरे । जहाँ पुगे पनि उनले लेखन कर्मलाई चाहिँ सदा निरन्तरता दिए । उनी यात्रामा छँदा पनि उनका स्तम्भहरु कहिल्यै खाली भएनन् ।

लेखनमा निरन्तरता अनि सदा नविनताको खोजबाट आजको नेपाली साहित्यमा बिराट व्यक्तित्व बनेको छ डा. ध्रुवचन्द्र गौतमको । ७७ वर्षमा पनि उनको लेखनशक्ति उदाहरणीय छ । सलामयोग्य छ ।

-भर्जिनिया, अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment