Comments Add Comment
स्वर्ण विजेताको आफैंलाई प्रश्न :

‘हामी अझै किन साइकल कुदाइरहेका छौं ?’

लक्ष्मी : केरला (भारत) रेसमा जाने होइन त ?

बुद्धि : (मलिन स्वर पार्दै…) साइकल नै भाँच्चिएको छ, जाउँ कि नजाऊँ ?

लक्ष्मी : अन्तर्राष्ट्रिय रुपमा ‘नोटिस’ हुने ‘रेस’ हो । कस्तो जाउँ कि नजाऊँ गरेको त ?

बुद्धि : जान त जाने तर साइकल हुनुपरेन ?

लक्ष्मी : (कसैको नाम लिँदै) दाइसँग माग्नु नि ।

बुद्धि : त्यो दाइको पनि साइकल भाँच्चिएको छ ।

लक्ष्मी : अनि (अर्को नाम लिँदै) दाइको माग्नु नि ।

बुद्धि : उहाँ आफैं रेसमा जाने रे…।

लक्ष्मी : त्यसो भए के गर्ने त ?

बुद्धि : खोइ…?

यो सम्वाद १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा साइक्लिङतर्फ ‘क्रस कन्ट्री’ विधामा नेपाललाई स्वर्ण पदक दिलाउने लक्ष्मी मगर र बुद्धिबहादुर तामाङको हो । सुन्दा अचम्म लाग्न सक्छ, सागका स्वर्ण पदक विजेता खेलाडी साइकल नभएकै कारण अन्तर्राष्ट्रियस्तरको रेसमा भाग लिने कि नलिने भन्ने अन्यौलमा छन् ।

सोध्यौं, स्वर्ण जितिसक्दा पनि अभावले छाडेको छैन ?’

बुद्धिबहादुर थोरै मुस्कुराए । अनि बोले, ‘अभावका कुरा त नगरौं भो । हामी किन यो क्षेत्रमा छौं, कहिलेकाहीँ आफैँलाई अचम्म लाग्छ ।’

त्यसपछि उनी चुप भए । लक्ष्मी बोलिन्, ‘हाम्रो संघर्षको कथा अरु खेलाडीको भन्दा कम छैन । उपलब्धी पनि छन्, तर सेवा सुविधा त छँदै छैन, नाम पनि छैन ।’

त्यसमा बुद्धिबहादुरले थपे, ‘एउटा खेलाडीलाई गर्नुपर्ने ‘केयर’ र ‘रेस्पेक्ट’ दुवै छैन । देशका लागि खेल्नुपर्‍यो भने खोज्छन् । अरु बेला कहाँ के गर्दैछ कुनै वास्ता हुन्न ।’

‘मेरो लिगामेण्ट च्यातिएपछि एक वर्ष धेरै पीडा भयो । उपचार गराउन पैसा अभाव भयो, तर कसैले सम्झिएनन् । अहिले देशका लागि स्वर्ण जित्यौं, हाम्रो हालत उस्तै छ । हामी कहाँ कस्तो अवस्थामा छौं, कसैलाई मतलब नै छैन,’ बुद्धिबहादुरले एक सासमा आफ्नो दुःख पोखिभ्याए, ‘यस्तो हुँदा धेरै पीडा हुँदोरहेछ ।’

बुद्धिलाई रोक्दै लक्ष्मी बोलिन्, ‘त्यति मात्र हो र ? कति धेरै ठाउँमा रेसहरु भइरहेका हुन्छन्, तर हामीलाई जानकारीसम्म दिइँदैन । आफूले थाहा पाएसम्म, खर्चले भ्याएसम्म आफैं जान्छौं र नेपालको प्रतिनिधित्व गर्दै भाग लिइरहेका छौं ।’

बुद्धिबहादुरको कथा

बुद्धिबहादुर नोभेम्बर १० मा अन्नपूर्ण सर्किटको १० दिने साइकल रेसमा थिए । लिगामेण्ट च्यातिएपछि एक वर्षसम्म साइकल नचलाएका उनी पहिलोपटक रेसमा निस्किएका थिए । चिकित्सकले ‘साइकल चलाउँदा जोखिम हुन्छ’ भन्दाभन्दै रेसमा होमिएका उनलाई साइक्लिङका प्रशिक्षक प्रयास तामाङले फोन गरेर भने, ‘तिमी ठीक छौ भने साग खेल्ने मनस्थिति बनाइराख…।’

भारतका खेलाडी पछाडि परिसकेका थिए । ४ महिनादेखि ‘क्लोज क्याम्प’मा अभ्यास गरेका नेपाली साथीहरुले पनि भेट्न सकेका थिएनन् । सुरुमा त उनलाई नै विश्वास लागेन । तर वास्तविकता उनले ‘क्रस कन्ट्रीमा स्वर्ण जितिसकेका थिए ।

‘हार्नका लागि के साग खेल्नु ? उनले मनमनै सोचे । तर ‘काठमाडौं आएर कुरा गर्छु’ भन्दै फोन राखे ।

त्यो बेला उनी मनाङमा थिए । जित्नुभन्दा पनि फेरि ‘साइकल कुदाउन सक्छु कि सक्दिनँ’ जाँच्नु थियो । उनी उक्त रेसमा दोस्रो भए । यसले आत्मविश्वास जाग्यो, ‘म त ठीक हुँदै गएछु… अबचाहिँ ‘कमब्याक’ हुन सक्छु कि…!’

अन्नपूर्ण सर्किटको रेस सकेर बुद्धिबहादुर काठमाडौैं आए । प्रशिक्षकले भने, ‘सागका लागि ‘क्रस कन्ट्री क्याटगोरी’मा खेलाडी पुगेन । तिमीले सागमा भाग लिनुपर्छ ।’

अरु साथी ४ महिनादेखि क्याम्पमा बसेर अभ्यास गरिरहेका थिए । नेपाली सेनाका खेलाडीको तयारी लोभलाग्दो थियो । भारतका खेलाडी पनि चर्चित । उनी दोधारमा परे ।

मनले फेरि भन्यो, आ… हार्नका लागि के साग खेल्नु…!’

साग सुरु हुन ५ दिन बाँकी थियो । अभ्यास गरेकै थिएनन् । प्रशिक्षकले फेरि कर गरे, ‘तिमी फिट भइसक्यौ । देशको लागि खेल्ने मौका छ । नाई नभन ।’

झट्ट मनमा आयो, ‘स्वर्ण नै नसके पनि कुनै न कुनै मेडल जित्नसक्छु ।’ किनकी स्वर्ण जित्ने उद्देश्य लिएर लामो अभ्यास गरेकाहरुलाई जित्ने आत्मविश्वास आफ्नै लागि घातक हुन्थ्यो । तर यो कमब्याक गर्ने उपयुक्त अवसर हो भन्ने लाग्यो । अनि प्रशिक्षकलाई ‘हुन्छ’ भने उनले ।

बुद्धिबहादुर बिना दबाव मैदानमा उत्रिए । रेस सुरु भयो । एकपछि अर्को प्रतिस्पर्धीलाई उछिने । भारतका खेलाडी पछाडि परिसकेका थिए । ४ महिनादेखि ‘क्लोज क्याम्प’मा अभ्यास गरेका नेपाली साथीहरुले पनि भेट्न सकेका थिएनन् ।

सुरुमा त उनलाई नै विश्वास लागेन । यो के भइरहेको छ भन्ने भाव उनको अनुहारमा देखिन्थ्यो । तर वास्तविकता उनले ‘क्रस कन्ट्रीमा स्वर्ण जितिसकेका थिए ।

त्यसपछि के भयो ?

‘त्यो अनुभव गर्नसक्छु, बताउन सक्दिनँ,’ बुद्धिबहादुर हाँस्दै भन्छन्, ‘यत्ति सम्झनुस्, सपनामा पनि हात नपरेको उपलब्धी विपनामा हात परिसक्यो, त्यो बेला कस्तो महसुस होला ?’

००००

बुद्धिबहादुरको जीवनमा धेरै कुरा अप्रत्यासित भएको छ । साइकल हात पर्नु अप्रत्यासित, साइक्लिस्ट बन्नु अप्रत्यासित । दुर्घटना त अप्रत्याशित हुने नै भयो । नेपालमै भएको १३ औं साग खेल्नु र स्वर्ण पदक जित्नु पनि अप्रत्याशित नै ।

जीवनमा एकपछि अर्को अप्रत्याशित क्षणहरु भोगिरहेका उनलाई अधिकांशले सोध्छन्, ‘तपाईं कसरी साइक्लिङमा लाग्नुभयो ?’

उनी प्रतिप्रश्न गर्छन्, ‘मजदुरी गरेर खानुपर्ने सामान्य मानिसले साइकल किन किन्छ ?’

अनि आफैं उत्तर दिन्छन्, ‘सोखका लागि होइन, मजदुरीका लागि सजिलो होस् भनेर ।’

बुद्धिबहादुरले सन् २०१० मा ‘अटो पार्टस्’मा काम पाए । आउजाउ गर्न सहज होस् भनेर साइकल किने । त्यहीबेला १५ हजार रुपैयाँमा किनेको साइकलले जीवनको दिशा बदल्छ भन्ने के थाहा ? अहिले आफ्नो सफलताबाट आफैं चकित परेको बताउँदै भन्छन्, ‘चाहेर होइन, मेहनत गरिराख्ने हो भने हुने कुरा भएरै छाड्ने रहेछ ।’

सानैदेखि चकचके स्वभावका उनलाई साइकल गुडाउन होइन, उडाउन मन लाग्थ्यो । स्टन्ट देखाउन खोज्थे, साइकल बिग्रन्थ्यो । बनाउन ग्यारेज गइरहन्थे । त्यही बेला पञ्च अष्टनारायणको साइकल पसलमा सुरज राई भेटिए । रेसर सुरजले बुद्धिलाई भने, ‘साइकल खतरा कुदाउँदो रहेछौ । रेसहरु गर्नु नि ।’

उनले दायाँबायाँ नसोची फ्याट्ट जवाफ दिए, ‘हुन्छ… तर मैले के गर्नुपर्छ ?’

त्यसपछि सुरजले ‘रेस’ गर्ने नियम बताए । प्रोफेसनल राइडरहरुसँग भेटाए । त्यो बेला थाहा भयो, ‘अहो… रेस गर्न त लाखौं पर्ने साइकल चाहिने रहेछ ।’

उनको जोस छिनभरमै सेलायो । तर मनमा लागिरह्यो, ‘साइकल रेसमा भाग लिन पाए… ।’

मनको कुरा मनमै रहेन । उनी काम गर्ने ठाउँका साहुजीले सहयोग गर्ने भए । साइकल किन्नदेखि रेसमा भाग लिन आर्थिक सहयोग गरे । अहिले पनि त्यही अटो पार्टसमा काम गरिरहेका उनी भन्छन्, ‘बोस नभएको भए म यो ठाउँमा हुन्नथेँ ।’

बुद्धिकाअनुसार साइक्लिङ सुरुवात गरेयता उनी दर्जनभन्दा बढी दुर्घटनामा परेका छन् । कहिले करङ भाँचेका छन् त कहिले खुट्टा । शरीरमा चोट नलागेको ठाउँ नै छैन । चोट सँगसँगै दर्जन बढी उपाधी जितेका उनी आफ्नै खर्चले देशविदेशमा जान्छन्, नेपालको प्रतिनिधित्व गर्दै खेल्छन् र जित्छन् पनि ।

उनी स्वर्णका लागि मैदानमा थिइन्, तर साइकल गतिलो थिएन । टायरमा हावा लामो समयसम्म टिक्दैनथ्यो । त्यही कारण हरेक मोडमा मन चस्किन्थ्यो । मनमनै भगवान पुकारिन्, ‘रेस नसकुञ्जेल मेरो साइकललाई केही नहोस् ।’

दुर्घटनाको जोखिम मात्र होइन, साइकलको हरेक पार्टस् महंगो छ । कतिपय विदेशबाट मगाउनुपर्छ । यही कारण रुचि भए पनि साइक्लिङलाई निरन्तरता दिन नसक्नेहरु धेरै छन् । आफूले पनि खर्च धान्न नसकेको बताउँदै बुद्धिबहादुर भन्छन्, ‘राज्यले खेलाडीलाई केही सेवासुविधा दिनुपर्ने हो, तर अहिलेसम्म केही छैन ।’

लक्ष्मीको कथा

लक्ष्मीलाई भर्खरै चिन्नेहरुलाई लाग्नसक्छ, ‘यो केटीले यत्रो सफलता सजिलै हात पारेकी हुन् ।’

नलागोस् पनि कसरी ? उनको विगत उनी र नजिकका एकाधबाहेक धेरैलाई थाहा छैन । धेरैलाई थाहा भएको तथ्य यत्ति हो, ६ पटकको नेशनल साइक्लिङ च्याम्पियन । दर्जनौं रेसहरुको विजेता । विदेशी रेसमा पनि भाग लिएकी नेपाली केटी ।

अनि, भर्खर सकिएको १३ औं सागको साइक्लिङको क्रस कन्ट्रीमा महिलातर्फ स्वर्ण पदक विजेता ।

अर्थात्, लक्ष्मीको २०१३ अघिको कथा धेरैलाई थाहा छैन ।

हामीले सोध्यौं, के गर्नुहुन्थ्यो २०१३ अघि ?

‘मैले के काम गरिन होला र ! यत्ति हो जिन्दगी गुजार्न गाह्रो भएको बेला कुनै पनि कामलाई सानो मानिनँ,’ लक्ष्मी भन्छिन्, ‘खोई.. के–के मात्रै भन्नु, भनेर साध्य भए पो…!

सानैमा घरबाट भागेर काठमाडौं छिरेकी लक्ष्मीले नक्सालस्थित नन्दी रात्री स्कुलबाट एसएलसी दिएकी थिइन् । अमृत साइन्स क्याम्पसबाट प्लस टु । त्यसपछि ललितकला क्याम्पसमा भर्ना भएकी उनले पढाइ र कामलाई निरन्तरता दिएकी थिइन् ।

काम भने फेरबदल भइरह्यो । त्यही क्रममा साइकल पसलमा काम पाइन् । त्यही कामले जिन्दगीको बाटो बदल्यो । च्यारिटी इभेण्टहरुमा भाग लिएर ‘साइक्लिङ’ सुरु गरेकी उनले रेसहरुमा भाग मात्र लिइनन्, अपत्यारिलो तरिकाले जित्दै गइन् ।

र त साग खेल्ने अवसर मिल्यो ।

उनी स्वर्णका लागि मैदानमा थिइन्, तर साइकल गतिलो थिएन । टायरमा हावा लामो समयसम्म टिक्दैनथ्यो । त्यही कारण हरेक मोडमा मन चस्किन्थ्यो ।

मनमनै भगवान पुकारिन्, ‘रेस नसकुञ्जेल मेरो साइकललाई केही नहोस् ।’

हरेक मोड कट्दा लाग्थ्यो, योचाहिँ कट्यो… धन्न केही भएन ।’

त्यसै दोधारमा उनले रेस जितिन् । रेस पूरा गर्नासाथ एक स्थानीय महिलाले अंगालो हालेर गालामा चुम्बन गरिन् । त्यो बेला स्वर्गीय आमाको याद आयो, अनि आँशु रोक्न सकिनन् ।

यो उनको जीवनको अविस्मरणीय क्षण थियो ।

स्वर्ण जितेको भोलिपल्ट घरबाट बुवाले फोन गरे ।

‘मैले जितेको घरमा पनि थाहा पाएछन्,’ भनेर खुशी हुँदै फोन उठाइन् ।

उताबाट बुवाले भने, ‘आमाको श्राद्ध छ, घर आउँछेस् कि…?’

उनले सागमा स्वर्ण जितेको सुनाइन् ।

बुवाले जवाफ फर्काए, ‘साग जितिस् रे… कस्तो साग हो यो फेरि ?’

लक्ष्मीलाई के भनौं, कसरी सम्झाउँ भयो ।

त्यो क्षण सम्झदै भन्छिन्, ‘आफन्तले उपलब्धी नबुझ्दा खुशी मनाउने मानिसहरु नहुँदोरहेछ ।’

०००

एक समय थियो लक्ष्मीले हरेक रेसमा भाग लिँदा साथीहरुसँग साइकल माग्नुपर्थ्यो । सापटी मागेर टिकट किन्नुपर्थ्यो । त्यो बेला उनी सिकारु थिइन् । समय बदलियो, धेरै रेस जितिन् । १३ औं सागमा स्वर्ण पदक हात पारिसकिन् । तर हविगत उस्तै । अहिले पनि रेसमा जाँदा साथीभाइको साइकल सापटी माग्नुपर्छ । ऋण गरेर टिकट किन्नुपर्छ । त्यो ऋण तिर्न ‘पार्टटाइम’ काम गर्नुपर्छ ।

‘विश्वचर्चित मिडियाहरु खोज्दै आउँदा हामी आफ्नै देशमा गुमनाम छौँ,’ लक्ष्मी भन्छिन्, ‘चर्चा खोजेको होइन, तर खेलाडीहरुलाई सेवा सुविधा र सम्मान त होस् भन्ने लाग्छ ।’

निराश हुँदै भन्छिन्, ‘उमेरसँगै उपलब्धी र सपना त बदलियो, तर हविगत बदलिएन ।’

एक त पुरुषलाई जस्तो महिलालाई साइकल रेस गर्न सजिलो छैन । त्यही कारण थोरै मात्र हुने साइकल गतिविधिमा धेरैजसो पुरुष हुन्छन् । उनले कतिपय रेसहरु पुरुषसँगै प्रतिस्पर्धा गरेर पनि जितेकी छन् । तर उपाधीको मूल्यमा भने विभेद । कतिपय ठाउँमा त प्रमाण पत्र फालेर आउँ कि जस्तो पनि लाग्छ । यस्तो भोगिरहनु पर्दा विरक्तिएर उनी बेलाबेला साइक्लिङ नै छाड्ने मनस्थितिमा पुग्छिन् ।

अनि फेरि मनले भन्छ, ‘साइक्लिङ छाडेर के गर्छेस् ?’

त्यसको जवाफ उनीसँग छैन ।

लक्ष्मीलाई लाग्छ, जिन्दगीमा धेरै गर्नु छ । देशका लागि, आफ्ना लागि, अनि परिवारका लागि । तर, सपोर्ट कसले गर्ने ? राज्यको लगानी खोइ ? अनि सपना त्यागिदिन्छिन् । तर कता–कता मनमा बसिरहने रहेछ । कतै रेस भयो कि दौडिन मन लागिहाल्ने रहेछ ।

मनमा पीडा बोकेर कहिलेसम्म दौडिने ?

यसको पनि जवाफ छैन लक्ष्मीसँग । भन्छिन्, ‘खोई…?’

००००

लक्ष्मीले १३ औं सागकै लागि भनेर धेरै कुरा त्यागेकी छन् । उनको डकुमेन्ट्री बनाउन भनेर नेशनल जियोग्राफी च्यानलको टोली नेपाल आइसकेको थियो । सागकै लागि भनेर त्यो पनि छाडिन् । स्वर्ण पदक पनि जितिन् । तर उनी खासै खुशी छैनन् ।

किन त ?

‘विश्वचर्चित मिडियाहरु खोज्दै आउँदा हामी आफ्नै देशमा गुमनाम छौँ,’ भन्छिन्, ‘चर्चा खोजेको होइन, तर खेलाडीहरुलाई सेवा सुविधा र सम्मान त होस् भन्ने लाग्छ ।’

सेवा सुविधा नपाए पनि उनले जेजति उपलब्धी हात पारेकी छन्, आफ्नै मेहनतको बलमा पाएकी हुन् । निरन्तरता हुन्छ कि हुन्न भन्ने उनलाई नै थाहा छैन । अबको लक्ष्य एसियन गेम भए पनि तयारी छैन । एकल प्रयासले ठूलो उपलब्धी हात पार्न सकिन्न भन्ने थाहा हुँदाहुँदै सपनाले झक्झक्याइरहन्छ ।

तर पैसा र सपोर्ट कसरी जुटाउने ?

उनी त्यही शब्द दोहोर्‍याउँछिन्, ‘खोई…।’

अनि केही क्षणको मौनता तोड्दै बोल्छिन्, ‘बिहान बेलुकी हात मुख जोर्ने चिन्ताले सताइरहेपछि लक्ष्य ठूलो मात्र लिएर के होला र ! आफैंलाई अनौठो लाग्छ, नाम, दाम र सम्मान केही नहुँदा पनि हामी किन यसमै मरिमेटेर लागेका छौं ?’

तस्वीर : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment