Comments Add Comment

लोक दोहोरी प्रतिष्ठानको भवनको लागत १ करोड २० लाख

६ पुस, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले नवनिर्मित भवन निर्माणको हिसाब किताब सार्वजनिक गरेको छ । शिलान्यास गरेको ७ महिनामा नै तयार भएको भवन गत मंसिर १ गते उद्घाटन गरिएको थियो ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा भवन निर्माणको लागत, संकलित रकम र वचत रकमबारे जानकारी दिइएको थियो । निवर्तमान अध्यक्ष तथा भवन निर्माण कार्यसमिति संयोजक बद्री पंगेनीले भवन निर्माणका लागि १ करोड २० लाख ३४ हजार ६ सय ९१ रुपैयाँ ५२ पैसा लागेको जानकारी दिए ।

जसमध्ये ९८ लाख ६३ हजार १ सय ७९ रुपैयाँ ५२ पैसा नगद र २१ लाख ७१ हजार ५ सय १२ रुपैयाँ जिन्सी खर्च भएको छ । ‘यो भवन निर्माणको काम सम्पूर्ण लोक तथा दोहोरी गीत प्रतिष्ठानका व्यक्तित्व र शुभचिन्तकको सहयोगबाट सम्भव भएको छ’ उनले भने ।

भवन निर्माणको लागि देश तथा विदेशबाट सहयोग लिइएको थियो । नगद र जिन्सी गरी १ करोड ४८ लाख ४४ हजार ३ सय ९२ रुपैयाँ सहयोगको कबोल भएकामा १ करोड ३० लाख ६९ हजार ८ सय ४९ रुपैयाँ संकलन भएको प्रतिष्ठानले जनाएको छ ।

संकलित रकममध्ये १० लाख ३५ हजार १ सय ५७ रुपैयाँ ४८ पैसा प्रतिष्ठानको खातामा बचत छ । १७ लाख ७४ हजार ५ सय ४३ रुपैयाँ उठ्न बाँकी छ ।

निवर्तमान अध्यक्ष बद्री पंगेनीले संकलित र बाँकी रकम गरी २८ लाख ९ हजार ७ सय रुपैयाँ ४८ पैसाको हिसाब अध्यक्ष रमेश बिजी र र कोषाध्यक्ष राजु ढकाललाई जिम्मा लगाए ।

भवन निर्माणको लागि २ लाख रुपैयाँ भन्दा बढी सहयोग गर्ने सहयोगदाताको तस्वीर कार्यालयको बैठककक्षमा राखिने पंगेनीले बताए । ‘२५ हजार भन्दा बढी सहयोग गर्नेको नाम शिलापत्रमा लेखिने पनि उनले जानकारी दिए ।

प्रतिष्ठानको कोरिया शाखाले १० लाख सहयोग गरेकाले भवनको एउटा कोठा कोरिया शाखाका रुपमा स्थापित गर्ने उनले बताए ।

पत्रकार सम्मेलनमा कलाकार कल्याणकारी कोषका सदस्य चन्द्र शर्माले १ करोड भन्दा बढी रकम कोषमा रहेको जानकारी गराए । जसमध्ये ८० लाख मुद्दती खातामा र २१ लाख वचत खातामा रहेको छ ।

वद्री पंगेनीको कार्यकालमा घोषणा गरिएको ‘नव प्रतिभा प्रोत्साहन कोष’ मा भने अहिलेसम्म रकम नभएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । नवप्रतिभालाई प्रोत्साहन गर्नका लागि भनी यो कोषको घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment