Comments Add Comment

शीतलहरका कारण बारा-पर्साका विद्यालय धमाधम बन्द हुँदै 

७ पुस, वीरगञ्ज । लगातारको शीतलहरका कारण तराईमधेसको जनजीवन प्रभावित भएसँगै पर्सा-बाराका विद्यालयमा बिदा दिन थालिएको छ । एक सातादेखि लगातार चिसो बढेर शीतलहर चल्न थालेपछि जिल्लाका स्थानीय तहहरुले धमाधम पालिका मातहतका विद्यालयमा बिदा दिन थालेका हुन् ।

चिसो बढ्दै गएर विद्यार्थी तथा शिक्षकहरुलाई पठनपाठनमा समस्या भएकोले विद्यालय बन्द गरिएको स्थानीय सरकारको तर्क छ । शीतलहर चलेपछि अत्याधिक चिसो हुने हुँदा कमै मात्र बालबालिका विद्यालय आउँछन् । पर्सा-बाराका विद्यालयमा चिसोबाट बच्नका लागि कुनै व्यवस्था गरिएका छैनन् । १४ वटा स्थानीय तह रहेको पर्सा जिल्लामा ४ वटा स्थानीय तह अत्याधिक चिसोका कारण विद्यालयमा बिदा दिइएको सूचना सार्वजनिक गरेका छन् ।

वीरगञ्जमा १० दिन बिदा

चिसोले पठन पाठन प्रभावित भएपछि वीरगञ्ज महानगरपालिकाका विद्यालय १० दिनका लागि बन्द गरिएको छ ।

वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले अत्यधिक चिसो बढेकोले १० दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

वर्षे बिदाबाट मिलान गर्ने र मौसम अनुकुल भएमा रद्ध गर्ने गरी पुस ९ गतेदेखि १८ गतेसम्मका लागि महानगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा विदा दिइएको वीरगञ्ज महानगरपालिका शैक्षिक महाशाखाद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

महाशाखाको पुस ६ गते बसेको बैठकले महानगरपालिकाका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

अत्यधिक चिसो बढदै गएकोले बालबालिकाहरुको स्वास्थ्य बिग्रने अवस्था देखिएकोले विद्यालयमा विदा दिइएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।

थप तीन स्थानीय तहमा विदा

पर्साको पटेर्वा सुगौली गाउँपालिकाले पुस ७ गतेदेखि नै विद्यालय बन्द गरेको छ । पुस ११ गते मात्रै विद्यालय खोल्ने तयारी छ । चिसो बढेपछि ५ दिन गाउँपालिका अन्तर्गतका विद्यालयमा विदा दिइएको गाउँपालिका उप प्रमुख ममता महतोले जानकारी दिईन् ।

बिन्दवासिनी गाउँपालिकाले पनि विद्यालय एक साताका लागि बन्द गरिसकेको छ । पोखरिया नगरपालिकाले पनि विद्यालयमा बिदा दिएको छ । शुक्रबार नै सार्वजनिक सूचना जारी गरी पुस ७ गतेदेखि १० गतेसम्म विद्यालय बन्द गर्ने जनाएको थियो ।

ठोरी गाउँपालिकामा पनि शीतलहरका कारण ८ गतेसम्म शैक्षिक संस्था बन्द गरिएको छ । शीतलहर नरोकिएमा बिदा थप गरिने गाउँपालिकाले जनाएको छ ।

बाराको कलैया उपमहानगरपालिकाले पुस ७ र ८ गते विद्यालय बन्द गर्ने सूचना सार्वजनिक गरेको छ । शीतलहरले बारा, पर्साको जनजीवन प्रभावित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment