Comments Add Comment

मोबाइल गेमको ‘किरा’

८ पुस, काठमाडौं । निश्चल बस्नेतलाई तपाईं के भन्नुहुन्छ ? निर्देशक ? अभिनेता ? डान्सर ? गायक ? मोडल ? वा अरु पनि केही ।

नेपाली चलचित्रमा उनको धमाकेदार प्रवेश भएथ्यो, ‘लुट’ बाट । यही चलचित्रबाट उनले ‘ट्रेन्ड सेटर’को तक्मा पाए । ‘टलकजंग भर्सेस टुल्के’ जस्ता खँदिलो चलचित्रमा उनको जुन निर्देशकीय कौशल देखियो, त्यसबाट उनी समकालीन निर्देशकभन्दा अब्बल सावित भए । यही विन्दुमा आइपुगेपछि भने निश्चलले आफूलाई अरु बिस्तारित गरे । कहिले अभिनेताको रुपमा त कहिले गायकको रुपमा । हुँदा-हुँदा म्युजिक भिडियो समेत निर्देशन गरे । आफैं अभिनय गरे ।

कला पारखीका लागि उनी सम्पूर्ण प्याकेज बने । भलै यसलाई कतिले ‘अधोगति’ भन्लान्, कतिले ‘खुम्चिएका’ ठान्लान् । के एउटा निर्देशकले डान्सर बन्नु हुँदैन ? अभिनेता बन्नु हुँदैन ? गायक बन्नु हुँदैन ? सम्भवतः निश्चल यस्तै रक्षात्मक जवाफ साँचेर बसेका होलान् ।

एउटा ठट्यौली छ नि, ‘सुकेको ज्यानमा लुकेको कला ।’ निश्चल आफैँमा मनोरञ्जनका पूर्ण प्याकेज जस्ता छन् । उनी के जान्दैनन् ? नाच्न, गाउन, अभिनय गर्न । त्यसबाहेक अर्को कुरा पनि छ, उनी खेलाडी हुन् । अभिनेत्री तथा निश्चलकी जीवनसँगी स्वस्तिमा खड्काले बेलामौकामा भन्ने गर्छिन्, ‘निश्चल पब्जी भनेपछि हुरुक्कै हुन्छन् ।’ यो आरोप भन्दापनि यथार्थ हो । त्यसैले त निश्चलको स्वीकारोक्ति छ, ‘फुर्सद मिल्नासाथ मोबाइलमा गेम खेल्न थाल्छु ।’

तपाईंले निश्चलको निर्देशन, अभिनय, आवाज सबै कुुरा त हेरी, बुझी, सुनिसक्नु भयो ।

गेमिङप्रति उनको आशक्ति कस्तो होला ? हामी खोतल्नेछौं । एउटा कुरा फुत्काइहालौं, उनी सिनेमा क्षेत्रमा आउनुअघि गेम-लभर थिए । गेमिङ एप बनाउने चक्करमै निश्चल सिनेमासँग ठोक्किन पुगेका हुन् । अब तपाईं आफैँ अनुमान गर्नुहोस्, उनी गेमिङमा सफल बन्दै गएको भए उनले सिनेमासँग साइनो जोड्थे होला ?

‘गेम ओभर’

अनलाइनखबरको कार्यालयमा भेटिँदा निश्चलले टिसर्ट लगाएका थिए, जसको मध्यभागमा लेखिएको थियो, ‘गेम ओभर’ ।

कुरा यहीबाट सुरु गरियो । खासमा उनी लुगाफाटोको सौखिन होइनन् । हिँड्नेबेला जेजस्तो भेट्छन्, भिरिदिन्छन् । स्वस्तिमा भन्छिन्, ‘उनलाई लुगाको मतलब नै हुँदैन । जस्तोपायो त्यस्तै लगाउँछन् ।’ हामीसँग भेटमा उनले जुन टिसर्ट लगाएका थिए । त्योचाहिँ उनको रोजाइको रहेछ । ‘गेम ओभर’ वा यस्तै गेमिङको झल्को दिने टिसर्ट देखेपछि उठाइहाल्छन् । चाहे त्यो फुटपाथको होस् वा शपिङ मलको ।

अर्को कुरा, उनी इनडोर र आउटडोर दुवै गेममा पोख्त छन् । पछिल्लो समय भने इनडोर गेम अर्थात् मोबाइलमै मग्न हुन्छन् । मौका मात्र पाउनुपर्छ, दिनभर यसमै झुण्डिरहन्छन् ।

यो हाम्रो अनुमान होइन, उनकै जिकिर हो ।

जब स्क्रिप्ट फुर्दैन

यताउता अलमलिए पनि उनी सिनेमामै केन्दि्रत छन् । चुरोट तानिरहेको बेला, बेपर्वाह हिँडिरहेको बेला सम्भवतः उनको मगजमा सिनेमाकै प्लट खेलिरहेको हुन्छ । घरमा बस्दा स्क्रिप्ट लेखिरहेका हुन्छन् । स्क्रिप्ट झट्ट फुर्ने कुरा भएन । कहिलेकाहीँ एउटै कुराले अल्झाइरहन्छ । त्यस्तो बेला निश्चल गेम खासगरी पब्जी खेल्न थाल्छन् ।

तर जब पब्जी खेल्न थाल्छन्, स्क्रिप्टतर्फ फर्कने मुड हुँदैन । घण्टौं खेलेर पनि धीत मरे पो ?

तपाईंलाई लाग्न सक्छ, निश्चल पब्जीमा एकोहोरिरहँदा स्वस्तिमाचाहिँ के गर्दिहुन् ?

धेरैजसो समय त स्वस्तिमा घरमा हुँदिनन् । सुटिङले उनलाई बेफुर्सदिलो बनाउँछ । घरमै भएको अवस्थामा उनी साथीसँगीसँग भलाकुसारी गर्न रुचाउँछिन् । छिनमै रमाउने र छिनमै ठुस्किने जोडी हुन् उनीहरु । त्यसैले मौसम जस्तै उनीहरुको मुड पनि बदलिइरहेको हुन्छ ।

मुड जस्तोसुकै भएपनि निश्चल गेममा हराएको मन पर्दैन स्वस्तिमालाई । निश्चल भन्छन्, ‘बुढीलाई मैले गेम खेलेको मन पर्दैन, त्यसैले आफूलाई कन्ट्रोल गर्छु ।’

तर खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै उनी मौका छोपेर मोबाइलमै एकोहोरिन थाल्छन् । ‘गेम खेल्दाखेल्दा शरीर नै गलेर बिहान मात्र उठेको रेकर्ड पनि धेरै छ,’ निश्चल सुनाउँछन् ।

बानेश्वरमा ‘गेम जोन’

अल्लारेवयमा निश्चल गेमप्रति कति क्रेजी थिए भने खेल्दा-खेल्दा मन नअघाएपछि उनले गेम जोन नै सञ्चालन गरेका थिए । नयाँ बानेश्वरमा उनको गेम सेन्टर थियो । यो २००४ तिरको कुरा हो ।

त्यसबेला साइबर क्याफे बिस्थापित हुँदै थिए । बिस्थापितभन्दा पनि गेम जोनमै रुपान्तरण हुँदै थिए । त्यही मौका छोप्दै निश्चलले केही कम्युटर जोडजाड गरेर गेम सेन्टर सञ्चालन गरेका थिए । फिफामा जस्ता मल्टिप्लेयर गेम खेलाइन्थ्यो ।

गेमिङको क्रेज बढ्दै गरेको अवस्था । शहरीया तन्नेरी नझुम्मिने कुरै भएन । गेम खेल्न ओइरो लाग्थ्यो । तर, ग्राहकले खेल्न पाए पो ? निश्चल आफैँ गेममा झुम्मिएपछि । ‘हामीले पार्टनरसीपमा खोलेका थियौं,’ निश्चल भन्छन्, ‘हामीचाहिँ गेम खेल्ने, ग्राहक बाहिर कुरेर बस्ने ।’

यसरी पनि व्यापार चल्छ ? दुई वर्षसम्म आफैंले गेम खेलेर गेम जोन बन्द गरिदिए । तर गेमिङको भोक अरु जाग्यो । त्यसपछि उनको मगजमा जुक्ति फुर्‍यो, ‘अब गेम खेल्ने मात्र, होइन गेम बनाउने नै बन्छु ।’

गेम डेभलपर बन्न अष्ट्रेलिया

बानेश्वरको गेम जोन बन्द भएपछि निश्चलको गन्तव्य थियो, गेम डेभलपर । यसका लागि उनले रोजेको मुलुक थियो, अष्ट्रेलिया । स्टुडेन्ट भिसा च्यापेर कहिले घर छाडौं भन्ने हुटहुटी जागिरह्यो ।

अष्ट्रेलिया गए । एनिमेसन पढ्ने मेलोमेसो मिलाए । तर, सम्भव भएन । अनि लागे भान्सातिर । कुक बने । केही समय त्यहीँ गुजारेपछि निश्चल नेपाल फर्किए । ‘गेम डेभलपर बन्न भनेर अष्ट्रेलिया गएको थिएँ,’ निश्चल सुनाउँछन्, ‘तर त्यहाँ पढ्न पाइएन ।’

गेमर बन्न नपाएको झोकमा त हो सिनेमातिर लागेको । त्यहीबेला निश्चलले ‘लुट’ बनाए । यो चलचित्र ब्लकबस्टर भएपछि उनी गेमर बन्ने अधकल्चो रहर पालेरै सिनेमा क्षेत्रमा चलायमान भए ।

स्कुले जीवनका खेलाडी

निश्चल बस्नेत खेलाडी पनि बन्न चाहन्थे । राष्ट्रिय खेलाडी । यसका लागि उनले किशोरावस्थादेखि नै प्रयास नगरेका होइनन् ।

उनी सबैजसो खेलमा पोख्त पनि । चाहे फुटबल होस् वा क्रिकेट, बास्केटबल होस् वा भलिबल । पौडी मात्र हो, जुन खेलले उनको शरीरमा काँडा उमि्रन्छ । पौडी बाहेकका धेरैजसो खेल खेलेका छन्, कुशलतापूर्वक । पौडी पोखरीमा हामफाल्दा भने उनलाई फसाद पर्ने गर्छ ।

प्लस टु पढ्दाताका उनी विद्यालयबाटै खेल खेल्थे । उनको टिमले धेरै प्रतियोगिता जित्ने गर्थ्यो पनि । सन् १९९८ तिरको समयमा । उनी खेलाडी बन्ने ध्यान्नमा मरिमेट्थे । ‘तर, यसमा पनि धेरै बेथिति हुने,’ निश्चल भन्छन्, ‘त्यसैले खेल पनि छाडिदिएँ ।’

खेल र खेलाडीबारे चलचित्र

तपाईंको मनमा प्रश्न उठ्यो होला, खेलप्रति यत्तिका लगाव र अनुभव भए पनि पनि किन निश्चलले त्यही विधाको चलचित्र बनाउँदैनन् ?

यो प्रश्नले सही ठाउँमा घोच्छ । किनभने निश्चललाई नलागेको होइन, खेलसम्बन्धी चलचित्र बनाउन । तर, यसका लागि सानोतिनो लगानीले पुग्दैन । खेलको माहोल बनाउन र त्यसलाई दुरुस्तै उतार्नका लागि भरपुर प्रविधिको प्रयोग गर्नुपर्छ ।

यद्यपि निश्चलले खेल र खेलाडीलाई सिनेमामा उतार्ने सोच बनाएका छन् । यो उनको मगजमै होल्ड भएर बसेको योजना हो । ‘मलाई एकदमै लागिरहेको विषय हो यो,’ निश्चल सुनाउँछन्, ‘कुनै न कुनै दिन म खेल र खेलाडीकै फिल्म बनाउनेछु ।’

खेलाडीको जीवन कस्तो हुन्छ ? उनीहरुको संघर्ष र सफलताको भित्री पाटो कस्तो हुन्छ ? निश्चललाई पर्दामा उतार्न मन छ ।

खेल र सिनेमा

खेल र सिनेमाको कतिपय प्रवृत्ति मिल्छ । खेलले दर्शकलाई जसरी रोमाञ्चक बनाउँछ, जसरी विस्मित् तुल्याउँछ, त्यो तत्व सिनेमाका लागि उपयोगी हुन्छ । खेलप्रति मान्छेको भावनात्मक साथ र समर्थन हुन्छ । त्यसैले मैदानमा खेल चलिरहँदा दर्शकहरु त्यसमै समाहित भइरहेका हुन्छन् । मैदानको प्रतिस्पर्धा, जित र हारले दर्शकको भावनामा उथलपुथल ल्याइरहेको हुन्छ ।

खेल जस्तै सिनेमाले पनि दर्शकलाई एकोहोरो बनाउनुपर्छ भन्ने लाग्छ निश्चललाई । ‘सिनेमालाई चाहिने धेरै तत्व खेलकुदमा हुन्छ,’ निश्चल भन्छन्, ‘त्यसैले खेलकुदलाई गहिराइसम्म बुझेपछि स्क्रिप्ट लेख्न वा चलचित्र बनाउन सहयोग गर्छ ।’

यी भए एउटा पाटो । अर्को पाटो पनि छ, गेम र सिनेमाको । अहिले मनोरञ्जनको संसारमा गेमको हिस्सा फराकिलो छ । करोडौं तन्नेरीहरु गेममै मग्न छन् । त्यही कारण सिनेमाको प्रमोसनमा पनि गेमको सहायता लिन थालिएको छ । गेमिङ मार्फत नै सिनेमाको प्रचार प्रसार गर्ने ट्रेन्ड छ । हामीले पनि यस किसिमको अभ्यास गर्न सकिने निश्चलको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment