Comments Add Comment

योग गर्दै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नैपर्छ

तपाईंलाई थाहा छ, शारीरिक स्वाथ्य र तन्दुरुस्तीका लागि योग सर्बोत्तम विकल्प हो । हाम्र ऋषिमुनीहरुले योगको विकास गरेका थिए, जसलाई उनीहरुले जीवन पद्दतीसँग पनि जोडे । वास्तवमा नियमित योग गर्ने मानिस सधै तन्दुरुस्त, फुर्तिलो र जवान हुन्छ । यो कुरा त तपाईं स्वयम् अनुभव पनि गर्न सक्नुहुन्छ ।

योगले शरीरलाई चुस्त, फुर्तिलो बनाउँछ । शरीरमा रक्त प्रवाह राम्ररी हुन्छ । अक्सिजनको आपूर्ति पर्याप्त हुन्छ । मांशपेशी लचिलो हुन्छ । यसले समग्र शरीरलाई बलियो र निरोगी बनाउँछ । साथसाथै मुटु, कलेजो, फोक्सो, मिर्गौंला आदिको कार्य संचालन राम्ररी गराउँछ ।

योग त्यस्तो विधी हो, जसले शरीरलाई समुचित ढंगले व्यायाम गराउँछ । तर, योग गर्नुअघि केही कुरा जान्नुपर्छ । जथाभावी गरिने वा अनियमित ढंगले गरिने योगले सकारात्मक नतिजा नदिन सक्छ ।

समयको ख्याल

योग गर्नका लागि समयको पनि ख्याल गर्नुपर्छ । खासगरी बिहानको समय योगका लागि सर्बोत्तम मानिन्छ । यतिबेला वातावरण शान्त हुन्छ । वायुमण्डलमा शुद्ध हावा चलेको हुन्छ । हुन त योग दिनभरमा जुनसुकै समय पनि गर्न सकिन्छ । यद्यपी बिहानको समय अझ सूर्योदयअघिको समय एकदम राम्रो मानिन्छ ।

स्थान

योग गर्ने स्थान शान्त हुनुपर्छ । सहज हुनुपर्छ । प्रदूषणयुक्त, कोलाहाल हुने ठाउँमा योग गर्नु त्यती राम्रो हुँदैन । सकेसम्म बगैंचा, खुला स्थान वा चउर लगायतमा योग गर्नु उपयुक्त हुन्छ ।

शारीरिक अवस्था

कतिपय शारीरिक समस्यामा योग गर्नु हुँदैन । गर्भावस्था वा कुनै दीर्घ रोगमा नियन्त्रित ढंगले योग गर्नुपर्छ । त्यसैले योग गर्नुअघि आफ्नो शारीरिक अवस्था थाहा हुनुपर्छ । त्यही अनुसार चिकित्सकको परामर्श लिएर योग गर्नुपर्छ ।

सरल विधीबाट सुरु

योग गर्नुअघि शरीर तन्काउने, खुम्च्याउने गर्नुपर्छ । त्यसपछि क्रमस सजिलो आसनबाट योग थाल्नुपर्छ । कठिन योग जबरजस्ती गर्नु हुँदैन । योग गर्दा शरीरले सहज अनुभव गर्न सक्नुपर्छ । योग गर्नुअघि थोरै वार्मअप गर्नुहोस् । यसपछि प्राणायाम र त्यसपछि योग गरौं । अन्त्यमा शवासन जरुर गरौं ।

खाना खानसाथ योग नगर्ने

खाना खानसाथ गरिने योग हो, बज्रासान । यसले खानालाई पचाउन सहयोग गर्छ । अर्थात पाचन प्रणालीलाई सहज बनाउँछ । यद्यपी बज्रासान बाहेकका योग भने खाना खाए लगत्तै गर्नु हुँदैन ।

योग लगत्तै ननुहाउने

योग गर्नसाथ तुरुन्तै नुहाउनु हुँदैन । योग गर्दा शारीरिक तापमान बढ्छ । त्यसैले योग गरेको एक घण्टापछि मात्र नुहाउनु पर्छ । नभए, रुँघा, खोकी जस्ता समस्या आउन सक्छ ।

योग लगत्तै चिसो पानी नपिउने

योग गरिरहेको बेला शरीर तातो हुन्छ । यतिबेला चिसो पानी पिउनु लाभदायक हुँदैन । चिसो पानीले एलर्जी, खोकी लाग्ने संभावना हुन्छ ।

विज्ञको सुझाव लिने

योग गुरुको सल्लाह वा निगरानी बिना जथाभावी योग गर्नु हुँदैन । किताब पढेर वा सिडीमा हेरेर योग गर्दा समस्या हुनसक्छ । अर्काको देखासेखी पनि योग नगरौ । कम्मर, मांशपेशी वा घुँडासँग सम्बन्धित कुनै समस्या छ भने योग गर्नुअघि विज्ञसँग सल्लाह लिनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment