Comments Add Comment

बेलबास–बेथरी सडक : अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन मन्त्री चौधरीको निर्देशन

८ पुस, बुटवल । निर्माणाधीन बेलबास–बेथरी सडक क्षेत्र अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउन प्रदेश सरकारले स्थानीय तहलाई निर्देशन दिएको छ । सडक क्षेत्रमा बनेका घरटहरा लगायत संरचनाका कारण सडक निर्माणले गति लिन सकेको छैन ।

१ अर्ब ६८ करोड चार लाख रुपैयाँ बजेट लागत अनुमान गरी टेण्डर गरिएको बेलबास–बेथरी सडकले निर्माण आरम्भ भएदेखि कहिले डिजाइन, कहिले नहर त कहिले मुआब्जाको समस्या झेल्दै आएको छ । गत वर्षदेखि प्रदेश सरकार मातहत आएपछि यो सडक आयोजना बिस्तारै अघि बढ्न थालेपनि सडक क्षेत्रमा बनेका संरचना स्थानीयले नहटाएकाले निर्माण सुस्त गतिमा छ ।

२०७३ सालदेखि सुरु गरिएको आयोजना तीन वर्षमा सकिसक्नु पर्ने थियो । अघिल्लो आर्थिक वर्षसम्म संघीय सरकारबाट सञ्चालित आयोजनाले गति लिन सकेको थिएन । आयोजना प्रदेश सरकारलाई हस्तान्तरण भएयता यसले केही चरणको काम सम्पन्न गरेको छ । आयोजनाको तीन खण्डमा काम भइरहेको छ । जसमध्ये दुई ठेक्काको गत साउनमै समयसीमा सकिएको छ भने एउटा खण्डको अझै एक वर्ष समय बाँकी छ ।

सडक आयोजना अवलोकनपछि पत्रकारहरुसँग कुराकानी गर्दै भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले सडक क्षेत्र अतिक्रमण गरेर बसेकाहरुलाई डोजर लगाएर भएपनि हटाउन प्रदेश सरकारले स्थानीय तहलाई निर्देशन दिएको बताए । ‘हामीले स्थानीय तहहरुलाई अतिक्रमित सडक क्षेत्र खाली गराउन निर्देशन दिएका छौं,’ सरकारका प्रवक्ता समेत रहेका मन्त्री चौधरीले भने, ‘निर्देशन अवज्ञा भए प्रदेश सरकारले डोजर लगाएर भएपनि खाली गराउँछ र सडक निर्माणलाई गति दिन्छ ।’

बिजुली र खानेपानीको अवरोध भने प्रदेश सरकारले फुकाउने मन्त्री चौधरीले बताए । बेलबास–बेथरी सडकलाई मर्चवारको खैराघाटसम्म विस्तार गर्न सकिने उनले बताए । प्रदेश सरकारले पूर्वाधार विकासमा जोड दिएको उल्लेख गर्दै निर्माणाधीन सडक आयोजनालाई समयमै सम्पन्न गर्न, आयोजनाहरुमा हुने ढिलासुस्ती अन्त्य गर्न र गुणस्तरीय काम गर्नका लागि प्रदेश सरकारले सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरिरहेको बताए ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बेलबास–बेथरी सडक पर्यटकीय सडक भएकाले यसले प्रदेशकै विकाससँग सरोकार राख्ने बताए ।  मन्त्री गिरीले लुम्बिनीको मायादेवी मन्दिर र मर्चवारी मन्दिरलाई एकसाथ जोडेर पर्यटकीय विकास गर्न सकिने सम्भावना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment